बाँके- उपप्रधान तथा स्वास्थ्य मन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेका राम मनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको छ।
७ भदौमा बर्दिया पुगेका मन्त्री यादवलार्इ स्वतन्त्र मधेश गठबन्धनका राम मनोहरसहितका नेताहरूले कालो झण्डा देखाएका थिए। सोही दिन पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो।
बाँके गनापुर कपासी (जानकी गाउँपालिका- ६ का यादवको उपचारका क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राति करिब २ बजे बाटोमै मृत्यु भएको हो। बुधबार राति हिरासतमा हातखुट्टा नचल्ने भएपछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्ज पुर्याइएको थियो।
त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज नर्सिङ होम लगियो। चिकित्सकहरूले नर्सिङ होममा पनि उपचार सम्भव नभएको बताएपछि हेलिकोप्टरबाट काठमाडौं पठाउन आग्रह गरेका थिए।
तर, प्रहरीले काठमाडौं पठाउन ढिला गरी एम्बुलेन्सबाट काठमाडौं पठाएको थियो। त्यस क्रममा बाटोमै मृत्यु भएको हो।
यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई प्रहरीले बिहीबार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा मन्त्री यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राऊ गरी राज्य विप्लवको मुद्दामा म्याद थप गरेको थियो। पक्राउ परेकामध्ये हरपाल सिंह, इरफान शेख र राजितराम बर्मा जिल्ला प्रहरी बर्दियाको हिरासतमै छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४