देश सुब्बा कवि तथा आख्यानकार हुन् । केही वर्षदेखि उनी भयवाद दर्शनको विकासमा लागिपरेका छन् । भयवादको पहिलो प्रयोग आदिवासी उपन्यासबाट शुरु गरेका थिए । उनी नाटक र कवितामार्फत् पनि भयवाद चिनाउन खोजिरहेका छन् । उनै भयवादी साहित्यकार देश सुब्बासँग नेपाल समयका राज सरगमले गरेको कुराकानी :
हरेक मान्छेभित्र डर हुन्छ । र, अहिलेको युवापुस्ता डिप्रेसनबाट गुज्रिरहेको छन् । भयवादको दर्शनले यस किसिमको समस्यालाई कसरी सुल्झाउँछ ?
डर शाश्वत कुरा हो । यो सधैं रहिरहन्छ । भयवादले यसलाई प्रधान विषय बनाएर व्याख्या गरिरहेको छ । राज्य, नागरिक, पुँजी, संघर्ष, सुख, आनन्द र गुणको बारेमा शास्त्रीय दार्शनिकहरूले गरेको व्याख्या हामीले पढ्दै आएका हौं । ती हरेक दर्शन पढ्दै गयौं भने भयका कारण थाहा पाउन सकिन्छ । परन्तु, भयलाई प्रमुखता दिएको पाइँदैन ।
भयवादले जीवन र जगत हेर्न सकिने वकालत गरिरहेको छ । अहिलेको पुस्ता मात्र होइन, उहिलेको पुस्ता पनि भयबाट गुज्रिरहेको थियो । त्यही भयबाट बच्न ढुंगाको हतियार, ओढारको बास र प्रकृतिको पूजा गर्न थाले । आधुनिकताको जलप लगाएर हामी त्यसैको निरन्तरतामा छौं ।
मैले प्रत्येक युगलाई भयको चरम युग भनेको छु । किनभने, हरेक युगले उसको समयमा चरम ज्ञान, विवेक, आविष्कार बोकेर हिँडिरहेको हुन्छ । हिजो र आजको युगको तात्विक फरक नै जीवन भोगाइमा छ । हिजो आजजस्तो प्रतिस्पर्धात्मक र कर्पोरेट समाज थिएन । युवा पुस्तामा विद्यार्थीकालदेखि नै प्रतिस्पर्धा शुरु हुन्छ । व्यवशाय, रोजगारी र प्रतिष्ठामा प्रतिस्पर्धा हुन्छ । सोचेजस्तो हुन नसक्दा अवसादको शिकार हुन्छन् ।
अवसादमा मात्र सीमित नरही फैलिएर जान्छन् । त्यसले झन् विकराल स्थिति उत्पन्न गर्छ । यी समस्याको स्रोत अनेकौं बताइन्छ । तर, भय बताइँदैन । किनभने, सिद्धान्त नै थिएन । सिद्धान्त आएपछि भयवादी व्याख्याको चलन आउन थालेको छ । भयवाद यस्ता प्रतिस्पर्धा, अनावश्यक प्रतिष्ठानको भय पालेर राख्नु हुँदैन भन्छ । अनावश्यक प्रतिस्पर्धा, आवश्यकता, रुचि कम गर्नासाथ डिपे्रसन, मानसिक रोगजस्ता धेरै समस्याबाट सुरक्षित रहन सकिन्छ ।
भयवाद अध्ययन केन्द्र नै खोलेर नेपालमा भयवादलाई प्रतिस्थापित गर्दै हुनुहुन्छ । यस किसिमको प्रयासले नेपाली साहित्यमा भयवादको कति र कस्तो भूमिका रहन्छ ?
दर्शनमा स्कुलिङको प्रथा हुन्छ । सुकरातले हिँडेर स्कुल चलाए । प्लेटोले एकेडेमी चलाए । एरिस्टोटलले लाइसियम चलाए । फ्रान्स र जर्मनीका दार्शनिकहरूले चिया, कफी पिउँदै स्कुल चलाए । प्रसिद्ध हुँदै गएपछि व्यक्ति नै स्कुल बन्छ । भयवादलाई पनि स्थापित गर्न स्कुलिङ चाहिन्छ भन्ने हो ।
भयवाद अध्ययन केन्द्र नेपालमा त्यति सक्रिय हुन सकेन । तर, ‘दी फियरिजम स्टडी सेन्टर’ नाइजेरियामा चल्दैछ । यसलाई नाइजेरियन दार्शनिक अकुमा ओसिनाकाची कालुले चलाउन लागेका छन् । यो शुरुवात हो, झ्यांगिन सक्छ । नेपाली साहित्यले समूहमा विश्वास राख्न थालेको छ, स्कुलिङमा होइन । स्कुलिङ ज्ञान हो, हामी ज्ञानबाट भागिरहेका छौं । मेरो लक्ष्य नेपाली साहित्यभन्दा अलि पर छ ।
भयवादलाई पछ्याइरहँदा तपाईंभित्रका कविता र आख्यान छुटेका छैनन् ?
छुटेको छ । साहित्यका विधाहरू हुन्छ । ती विधाभन्दा माथि दर्शन हुन्छ । किनभने दर्शन नभएको कथा, कविता, निबन्ध, महाकाव्य, आख्यानको आयु लामो हुँदैन । जसको साहित्यसँगै मजबुत दर्शन हुन्छ, त्यो नै कालजयी हुन्छ । ममा पनि विभिन्न साहित्य गर्ने केही लक्षण छ । तथापि, दर्शनको अगाडि फिक्का भएका छन् । एउटा मान्छेमा धेरै भएपछि उसलाई सम्बोधन गर्दा प्रायः शक्तिशाली पाटाबाट गर्छौं । जोन पोल सात्र्रको साहित्य धेरै हुँदाहुँदै पनि दार्शनिक नै भनिन्छ, उनलाई ।
भयवादलाई छुटेको दर्शन भन्नुहुन्छ तपाईं । र, नेपालभन्दा बाहिर भयवादको भय कस्तो छ तपार्ईंको बुझाइमा?
नेपालमा भयवादबारे के कसो भन्छन् र बुझ्छन् भनेर खासै टिप्पणी गर्दिनँ । शुभचिन्तक साथीहरूलाई लाग्छ ‘बत्तिमुनिको अँध्यारो’को कुरा । साहित्यिक, दार्शनिक संस्कारका कुरा आउँछन् । घरमा हामी जसरी संस्कारको कुरा गर्छौं, साहित्य, दर्शन त्यस्तै हो । दर्शनको संस्कार नभएको मुलुकमा त्यसको आशा गर्नु अनुचित हुन्छ ।
फेरि नेपालजस्तो देशले नेतृत्व गर्ने क्षमता कम र शिष्य बन्ने गुण बढी राख्छ । यहाँ प्राध्यापकहरू पाश्चात्य दर्शनको पहिलो शिष्य बन्ने होडमा रमाइरहेका भेटिन्छन् । जसले शिष्य बन्ने प्रतिस्पर्धामा आपूmलाई सीमित राख्छ, नेतृत्व गर्ने क्षमता दूर भाग्छ । यही गुणले गर्दा भयवाद नेपाली प्राध्यापक र विद्यार्थीभन्दा परको विषय बन्न गएको छ ।
एडवर्ड सइदले भनेका छन्, ‘पश्चिमेलीसँग पूर्वीयलाई परिभाषा गर्ने क्षमता छ ।’ पश्चिमले ‘तिमीहरू मुर्ख, अज्ञानी’ भन्दा हामी ‘हो’ भन्ने परम्पराका पर्यौं । एक किसिमको दास मानसिकता । पूर्वीयाहरू उनीहरूका परिभाषामा खुशी हुने आदत राख्छन् । विशेषगरी नेपालीमा यो लागू हुन्छ । यस्तो प्रवृत्तिले नेतृत्वको साहस र क्षमताबाट बञ्चित गर्छ । भयवाद भारतका केही राज्य र नाइजेरियामा लोकप्रिय हुँदैछ । तिनीहरू आफूलाई आफूले परिभाषा गर्ने आदतको विकास गर्न खोजिरहेका भेटिन्छन् । त्यसैले नाइजेरियामा धेरै भयवादी दार्शनिक भेटिन्छन् ।
समाजमा हत्या, हिंसा, बलात्कारजस्ता दुर्घटना बढिरहेका छन् । यो अवस्थाबाट गुज्रिरहेको सामाजिक सद्भावलाई भयवाद दर्शनले स्थिर राख्न सक्छ कि सक्दैन ?
हत्या, हिंसा र युद्धलगायत भयको कारण हुन्छन् । बिनाकारण अचानकमा कुनै बेला होला, अन्यथा हत्या भयकै कारण हुन्छ । हत्या भएपछि अर्को भय थपिन्छ । यो कहिले पिरामिडजस्तै चढ्छ, कहिले आयातकार रूपमा फैलिन्छ । कसैले कसैलाई हानी-नोक्सानी गर्ने डर भएपछि त्यो डर मान्ने मानिसले त्यसबाट मुक्ति पाउन डरको स्रोतका रूपमा रहेको मानिसको हत्या गर्छ । त्यो स्रोतको हत्या गरेपछि उसको भय समाप्त हुनुपर्ने हो, त्यसो हुँदैन ।
डर मान्ने व्यक्तिको हत्यासँगै उसको डर समाप्त हुन्छ । तर, हत्या गरेकामा ऊ समाज, परिवार, कानून सबैसँग डराउँदै हिँड्छ । यसरी हिँडिरहेका मानिस धेरै हुन्छन् समाजमा । ठगी, भ्रष्टाचार, झूठ र बेइमानीलाई पनि त्यो डरले जासुसी गरिरहेको जस्तो लाग्छ । कति ठूलो आकारमा बदमासी भएको छ, त्यही आकारको डरले खेदिरहन्छ । उसले खाना र निद्राको स्वाद सबै बिर्सिसक्छ । कसैले खेदिरहेको, कसैले कुरा गरिरहेको भ्रम भइरहन्छ । एउटा भय पैmलिएर कालो आकाश बनिसकेको हुन्छ ।
नेपाल र भारतमा बलात्कार र हिंसाको मात्रा दिनदिनै बढिरहेको छ । यसको कारण कानूनको डर नमान्नु हो । कानूनको डर नमान्नुको अर्थ राज्यको डर नमान्नु हो । किनभने यस्ता घटनामा प्रायः नेताहरू नै संलग्न भएको भेटिन्छ । तिनीहरूले संरक्षण गरेको देखिन्छ । राज्यले नै कानूनको डर नमानेपछि अराजकता, हिंसा र बलात्कारका घटना विकराल हुन पुग्छन् ।
यो त थोमस हब्सले ‘स्टेट अफ नेचर’मा व्याख्या गरेको कुरा हो । भन्नुको अर्थ एक प्रकारको आधुनिक जंगली राज्य । दक्षिण एसिया र अफ्रिकाको समस्या यही हो । जब सबैले कानूनी राज्य मान्छ, राज्य त्यस्तै बन्छ । अनि, हिंसा, हत्या र बलात्कार घटेर जान्छन् ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४