गलुङ- बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ।
पहिरोले ११ घरपरिवार करिब एक सातादेखि प्रभावित बनेका छन्। घरमाथि पहिरो थुप्रिएर बसेका कारणा उनीहरू घरमा बस्न पाएका छैनन्। पहिरोले केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन्। पहिरोले बग्ने डरले अधिकांश घरपरिवारले घर खाली गरेर अन्यत्र बसेका छन्।
डाँडै खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका-११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन्। एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए।
पहिरोका कारण रामतोलाका गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन्। पहिराेले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युतका पोल पनि बगाएको छ।
स्थानीय ढालनाथ शर्माले पानीका दुईवटा ट्यांकी नै बगेकाले खानेपानीको हाहाकार भएको बताए। उनले भने, ‘हामी त घर न घाटको भएका छौँ। अब कहाँ बस्ने के खाने?’
उनले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताए। उनले अनुगमन टोलीसँग पनि आफ्नो दुःख व्यक्त गरेका छन्। टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए।
पहिरोले दुईवटा खानेपानीका ट्यांकी बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको छ। बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन्।
यहाँका दर्जनौँ विद्युतका पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ। तल्लो रामतोला एक सातादेखि अन्धकार बनेको स्थानीय नन्दकली केसीले बताइन्। उनले भनिन्, ‘अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ। अनुगमन आएकाले मात्र आएका हौँ। नत्र रित्तो घरमा आउन मनै लाग्दैन।’
रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै गएको छ।दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्यांकीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन्।
अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेको अनुमान लगाएको छ। पहिरो गएको एक सातापछि पुग्दा पनि पहिरो निरन्तर खसिरहेको अनुगमन टोलीले जनाएको छ। निरन्तर पहिरो खसेकोले आसपासमा पुग्न पनि जोखिम छ।
पहिरोले जैमिनी नगरपालिका-१ को ओडारका घरमा पनि जोखिम बनाएको छ। नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताए।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा व्यक्त गरे। उनले यसका लागि पहल गर्न वडाध्यक्षलाई आग्रह गरेको बताए। एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ।
निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन। पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ। अहिले पहिरो विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उनले बताए।
उनले भने, ‘सात-आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उहाँहरू अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ।’ -रासस