शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कैलाली-४ मा एमालेका भट्टसँग को भिड्ला गठबन्धनबाट?

यसपटक सत्ता गठबन्धनबाट कैलाली-४ कसको भागमा पर्ने भन्‍ने निश्‍चित भएको छैन। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा पराजित भएका सुनिल भण्डारी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, भोजराज भट्ट, डा. लक्ष्मीराज पाठक, प्रदीपराज जोशी र प्रकाश बम गरी चार जनालाई सिफारिस गरेको छ।
 |  मंगलबार, भदौ २८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बन्‍न विभिन्‍न पार्टीका नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। सुदूरपश्‍चिमको राजधानी भएको जिल्ला कैलालीमा पनि पार्टीका नेताहरुले उम्मेदवार बन्‍नका लागि दाबी पेश गरिरहेका छन्। कैलाली-४ मा यसअघि नेकपा माओवादीबाट लेखराज भट्ट निर्वाचित हुँदै आएका थिए। यसपटक उनी नेकपा एमालेबाट निर्वाचन लड्ने भएका छन्। उनको एमालेबाट सर्वसम्मत नाम सिफारिस भएको छ। 

triton college

प्रमुख प्रतिपक्षी दल एमालेबाट भट्टको एकल नाम सिफारिस भएपछि सत्ता गठबन्धनबाट उम्मेदवार को हुने भन्‍ने चासो पनि बढेको देखिन्छ। कैलाली-४ मा २०६४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट भट्ट विजयी हुँदा कांग्रेसका दीर्घराज भाट पराजित भएका थिए। २०७० को निर्वाचनमा भने भट्टलाई हराउँदै भाटले बदला लिएका थिए। २०७४ को निर्वाचनमा भने एमालेसँग चुनावी तालमेल गरेर माओवादीका भट्ट विजयी भए भने कांग्रेसका सुनिल भण्डारी पराजित भएका हुन्। 

यसपटक सत्ता गठबन्धनबाट कैलाली-४ कसको भागमा पर्ने भन्‍ने निश्‍चित भएको छैन। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा पराजित भएका सुनिल भण्डारी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, भोजराज भट्ट, डा. लक्ष्मीराज पाठक, प्रदीपराज जोशी र प्रकाश बम गरी चार जनालाई सिफारिस गरेको छ। 

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीबाट दीर्घराज सोडारीले दाबी गरेका छन्। सोडारीले प्रदेशमा नेकपा एकीकृतलाई बलियो पार्टी बनाउन भूमिका खेलेको भन्दै उनलाई उम्मेदवार बनाउनुपर्ने दबाब पनि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई रहेको छ। तर, कांग्रेस नेताहरुलाई भट्ट कैलाली-४ मा बलियो उम्मेदवार भएका कारण उनलाई पराजित गर्नका लागि पनि कैलाली-४ कांग्रेसले लिनुपर्ने स्थानीय नेताहरुको दबाब छ। 

पुर्ख्यौली घर डोटी भएका भट्ट कैलालीको अत्तरियामा बस्दै आएका छन्। नेकपा माओवादीको भूमिगत राजनीतिबाट उदाएका भट्ट कुनै समय प्रचण्डका विश्वासपात्र मानिन्थे। युद्धकालमा प्रचण्डलाई आफ्नो घरमा रहेको हतियार बुझाएका थिए उनले। २०२८ सालदेखि राजनीतिमा सक्रिय भट्ट पछिल्लो समय प्रचण्डबाट मात्र अलग भएनन्, उनले पार्टीसमेत परिवर्तन गरे। 

Metro Mart
vianet
यसपटक सत्ता गठबन्धनबाट कैलाली-४ कसको भागमा पर्ने भन्‍ने निश्‍चित भएको छैन। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा पराजित भएका सुनिल भण्डारी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, भोजराज भट्ट, डा. लक्ष्मीराज पाठक, प्रदीपराज जोशी र प्रकाश बम गरी चार जनालाई सिफारिस गरेको छ। 

प्रचण्डलाई त्यागेर ओली रोजेका भट्टलाई चुनाव जिताउनैपर्ने नैतिक दबाब अध्यक्ष ओलीलाई छ। माओवादीबाट पराजय हुने भयका कारण उनले नेकपा एमाले प्रवेश गरेको आरोप पनि उनीमाथि लागेको छ। कैलालीमा एमालेबाट विभाजित भएर ठूलो शक्ति माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा लागेपछि एमाले थप कमजोर बनेको छ। माओवादीबाट पनि उनको साथमा अपेक्षा अनुसार मानिसहरु गएनन्। नेकपा एसबाट उक्त क्षेत्रका प्रभावशाली व्यक्ति दीर्घ सोराडी हुन्। त्यसैले भट्टका लागि यसपटकको चुनाव त्यसमा पनि गठबन्धनको सामना गर्नु त्यति सहज भने देखिँदैन। 

तर, भट्ट भने गठबन्धन हुँदा पनि आफूलाई गाह्रो नहुने दाबी गर्छन्। 'अहिले म पार्टीको आन्तरिक काममै व्यस्त छु। बाहिर जान सकेको छैन। गठबन्धन हुँदा पनि जनताले मलाई साथ दिनेमा विश्वस्त छु,’ नेपाल समयसँग कुरा गर्दै उनले भने। आफूले जनताको विश्‍वासलाई कायमै राखेको बताउँदै उनले थपे, 'सधैँ सुदूरपश्चिमको विकासका लागि लडिरहेको व्यक्ति भएकाले जनताको साथ पाउनेमा म आशावादी छु।' 

प्रदेशको स्थायी राजधानीमा संरचना निर्माण गर्ने विषयमा असहयोग गरेको भन्‍ने आरोप छ नि भन्‍ने प्रश्‍नमा उनले थपे, 'जंगलको विवाद कानुनी प्रक्रिया हो। त्यहाँ कुनै ठूलो जंगल होइन। बुट्यान हो। मुख्य कुरा अहिलेको प्रदेश सरकारले कुनै भूमिका खेलेन। उहाँहरूले त्यसलाई बढाउन चाहनुभएन। कांग्रेसको चाहना धनगढी हुनुपर्छ भन्‍ने छ। यी कारणले काम गर्न असहज भएको हो।’ 

उनीविरुद्ध गठबन्धनबाट कसलाई उम्मेदवार बनाउने भन्‍ने कुरा केन्द्रका लागि पनि त्यति सहज छैन। नेकपा एकीकृत समाजवादीको आधार क्षेत्र भनिएको सुदूरपश्‍चिममा बझाङमा भानुभक्त जोशी, अछाममा शेरबहादुर कुँवर, डोटीमा प्रेम आले र कैलालीमा दीर्घराज सोडारीको चर्चा भइरहेको छ। 

कांग्रेसमा ६ जनाको दाबी
कैलाली-४ मा कांग्रेसका ६ जनाले आफ्नो दाबी पेश गरेका छन्। कांग्रेसले कैलाली-४ पाउँदा उनलाई अघिल्लो पटक निर्वाचनमा पराजित भएका सुनिल भण्डारीलाई यसपटक आफूले जित्‍ने दाबी गरेका छन्। त्यसैगरी पहिलो पटक संसदीय चुनाव लड्न चाहेका नैनसिंह महरले पनि सोही क्षेत्र दाबी गरेका छन्। अहिले जनताले पनि परीक्षण गर्न बाँकी रहेका नेतालाई खोजिरहेकाले आफू लड्दा चुनाव जित्न सहज हुनसक्ने महरको आकलन छ। उनले भने, 'अहिले जनताले पनि नयाँ अनुहार खोजी गरिरहेको छ। त्यसका लागि पनि म उपयुक्त पात्र हो र म टिकट पाउनेमा पनि विश्‍वस्त छु। 

कांग्रेसका पूर्व केन्द्रीय सदस्य भण्डारीले २०७४ सालको प्रतिनिधिसभामा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार भट्टसँग १० हजार ३९९ मतान्तरले पराजित भएका थिए। गत प्रतिनिधिसभाको चुनावमा प्रतिकूल अवस्थाका कारण आफू पराजित भएको उनको भनाइ छ। जनताले आफूलाई सम्मानजनक मत दिएको तर बाम गठबन्धनका कारण हार भएको उनको दाबी छ। ‘आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट मेरो दाबी स्वाभाविक हो। २०७४ सालको निर्वाचनमा प्रतिकूल अवस्थाले पराजित भएको हुँ। तर, सम्मानजनक मत पाएकै हुँ,’ उनले भने, ‘पार्टीले मलाई नै त्यो क्षेत्रमा टिकट दिनेमा ढुक्क छु।’

कांग्रेस कैलालीमा बम प्रभावशाली व्यक्ति मानिन्छन्। कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका बम पूर्व जिल्ला उपसभापति हुन्। उनी १२औं महाधिवेशनमा निर्वाचित जिल्ला सचिव भए। १३औं महाधिवेशनमा जिल्ला उपाध्यक्ष भए। जिल्ला उपाध्यक्ष हुँदा उनले केही समय कार्यवाहक जिल्ला सभापति भएर समेत काम गरेका थिए। बमले पार्टीको सुदृढीकरण र सुदूरपश्चिमको विकासका लागि आफ्नो दाबी रहेको बताएका छन्।

१४औं महाधिवेशनमा कांग्रेस कैलालीको सभापतिमा लडेका बम नारायणदत्त भट्टसँग पराजित भएका थिए। भट्ट र बम दुवै कांग्रेसको संस्थापन पक्षका हुन्। जिल्ला अधिवेशनमा कांग्रेसका संस्थापन (देउवा) समूहका दुई र संस्थापन इतर (शेखर कोइराला) समूहबाट एकसहित तीन प्यानलले नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा गरेका थिए। पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो। 

प्रदीप जोशी पनि कैलाली कांग्रेसका पुराना नेता हुन्। उनी अहिलेसम्म खासै कुनै लाभको पदमा बसेका छैनन्। जोशी १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए। हाल जोशी महासमिति सदस्य छन्। जोशी तेक्वान्दो खेलाडी पनि हुन्। यस्तै डा. लक्ष्मीराज पाठक मेडिकल डाक्टर हुन्। वरिष्ठ चिकित्सक डा. पाठकलाई कांग्रेस क्षेत्र नम्बर ४ ले प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ। 

डा. पाठक स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका हुन्। २०४६-०४७ सालको जनआन्दोलनमा पाठक सेती अस्पतालका मेसु थिए। उक्त समयमा उनले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए। सरकारी सेवामा हुँदा पनि कांग्रेसप्रति झुकाव राख्ने पाठक शान्त, शालिन र बौद्धिक नेताका रुपमा चिनिन्छन्। तर, उनी कांग्रेसको १४औं महाधिवेशनमा वडामै पराजित भएका थिए। वडा नं ६ मा खुलातर्फ क्षेत्रीय प्रतिनिधिका उमेदवार रहेकामा डा. पाठक पराजित भएका थिए।

माओवादीको दाबी के?
कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले संघका लागि तीन जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिले प्रतिनिधिसभाका लागि कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम सिफारिस गरेको छ।

चौधरी २०६४ मा माओवादीबाट निर्वाचित संविधानसभा सदस्य हुन्। केही समयअघि मात्रै जसपाबाट माओवादी केन्द्र प्रवेश गरेका चौधरीको नाम प्रतिनिधिसभामा मात्र होइन, प्रदेशसभामा पनि सिफारिस गरिएको छ। आचार्य राष्ट्रिय जनमोर्चाबाट केही समयअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए। राष्ट्रिय जनमोर्चामा उनी केन्द्रीय सदस्य तथा प्रदेश सचिव थिए। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि उनी उम्मेदवार थिए।

कस्तो छ स्थानीय तहको अवस्था?
कैलाली क्षेत्र नम्बर ४ मा गोदावरी नगरपालिका, चुरे गाउँपालिका, गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ पर्छ। गौरीगंगा नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उपप्रमुखमा नेपाली कांग्रेसका भोजबहादुर बम विजयी भएका हुन्। 

१३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका थिए। एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए। उपप्रमुखमा कांग्रेसका बहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दा एमालेकी शान्ति देवी सिंहले ६ हजार ७ सय ४३ मत ल्याएकी थिइन्।

गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो। प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याएका थिए।

उपमेयरमा भने गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी रत्ना कडायतलाई हराउँदै एमालेकी शारदा रोकाया विजयी भएकी थिइन्। रोकाया १० हजार ६ सय ७० मत ल्याएर विजयी हुँदा पराजित कडायतले नौ हजार नौ सय ८३ मत पाइन्। 

कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन्।

बोगटीले तीन हजार ३०५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएका थिए। गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन्।

थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन्। मोहन्याल गाउँपालिका–५ वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो। यसरी हेर्दा क्षेत्र नम्बर ४ मा कांग्रेसका साथै गठबन्धन बलियो देखिन्छ।

के भन्छन् स्थानीय नेता?
कांग्रेसबाट गोदावरीको मेयर जितेका विरेन्द्र भट्ट कैलाली-४ मा नेता भण्डारी र महरको नै बढी सम्भावना रहेको बताउँछन्। 'सुनिल दाइको यस क्षेत्रमा राम्रो प्रभाव छ। उहाँ स्थानीय तहमा भिजेको मान्छे हुनुहुन्छ। नैनसिंहजीको पनि सम्भावना राम्रै  देखिएको छ। माथिबाटै निर्णय भएर आउने हो। जसले टिकट पाए पनि कांग्रेस आफ्नो नेतालाई जिताउन लाग्छ। यो क्षेत्र कांग्रेसको गढ नै हो,’ उनले भने। 

उक्त क्षेत्रमा चुनाव जित्‍न महरभन्दा भण्डारीलाई सहज हुने उनको आकलन छ। 'महरजी सक्रिय व्यक्ति हो। यस क्षेत्रको विकासका लागि उहाँ जत्तिको युवाको खाँचो छ। उहाँ क्षेत्रको विकासका लागि खट्न सक्ने र भनसुन गर्न सक्ने व्यक्ति हो। भाट दाइले २०७४ सालमै चुनाव लड्दैन भन्नुभएको छ। सुनिल दाइको पनि ठूलो चाहना छ। महरजी र सुनिल दाइलाई मिलाएर कैलाली-४ मा जसलाई  टिकट दिँदा पनि हुन्छ,’ उनले भने। 

गठबन्धनका नाममा एकीकृत समाजवादीले टिकट पाएको खण्डमा भने नेकपा एमालेमा गएका लेखराजले जित्‍ने उनको विश्लेषण छ। 'एकीकृत समाजवादीसँग स्थानीय तहमा ३२ सय भोट हुन्। त्यसपछि केही नेता एमालेमै फर्किसकेका छन्। अब उनीहरूसँग दुई हजार भोट होलान्। हामी त केन्द्रको निर्णय मानौंला। तर, ३४–३५ हजार भोट तान्न गाह्रो हुन्छ। त्यसैले यस क्षेत्रमा कांग्रेसले टिकट पाउनुपर्छ। नत्र एमालेलाई टीका लगाइदिए हुन्छ,’ उनले भने।

यस्तै, कांग्रेस गोदावरीका पूर्व नगर सचिव तेज खड्का पनि अत्तरियाले कांग्रेसमा युवा नेतृत्व खोजिरहेको बताउँछन्। 'हामीलाई काम गर्ने मान्छे चाहिएको हो। युवा र फ्रेस अनुहार कैलाली-४ मा आउँदा राम्रै हुन्छ। लेखराज भट्टले यही क्षेत्रबाट दुई पटक जितेर तीन पटक मन्त्री भइसक्नु भयो। उहाँले सम्झन लायक काम केही गर्नुभएको छैन। प्रदेश राजधानी तोकिए पनि पाँच वर्षमा एकै कुनै शिलान्याससम्म भएन,’ उनले भने।

भट्ट भने कैलाली ४ बाट यस पटक महरलाई टिकट दिँदा चुनाव जिताउन सहज हुने बताउँछन्। 

उता एकीकृत समाजवादीका उम्मेदवार दीर्घ सोराडी भने आफ्नो उक्त क्षेत्रमा बलियो दाबी रहेको बताउँछन्। 'हामीले सुदूरपश्चिमका सबै क्षेत्रभन्दा कैलाली-४ मा नै बलियो दाबी गरिरहेका छौं। हामीले सधैँ जनताको माझमा रहेर काम गरेका छौं। गठबन्धन हुँदा कैलालीमा ४ नम्बर क्षेत्र दिएर हामीलाई न्याय हुन्छ भन्ने लागेको छ,’ उनी भन्छन्।

त्यसका अलावा गठबन्धनले गर्ने निर्णय नै आफूहरूका लागि स्वीकार्य हुने उनको भनाइ छ। उनले शीर्ष नेताहरूका बीचमा छलफल भइरहेकाले नेताहरूको अन्तिम निर्णयलाई आफूहरूले मान्‍ने बताएका छन्।

प्रकाशित: Sep 13, 2022| 07:49 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...