भोजपुर- प्रदेश १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर सहिद पुस्तकालय बन्द भएको छ। पुस्तकालयको भवन जीर्ण भएपछि पूर्ण रुपमा बन्द भएको हो।
राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी चन्द्रप्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायतका युवाद्वारा पुस्तक सङ्कलन गरी मर्यादा पुरुषोत्तम भगवान् रामको नामबाट सञ्चालन गरिएको श्रीराम पुस्तकालयलाई शासकको नीतिनियममा सञ्चालित हुनेगरी तत्कालीन मेजर जरनल मृगेन्द्र शम्शेर जङ्गबहादुर राणाबाट वि.स.२००५ सालमा अनुमति प्राप्त भएसँगै श्रीराम पुस्तकालय सञ्चालनमा आएको थियो।
राणाविरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर सहिदको सम्झनामा विसं २०१० मा भोजपुर सदरमुकाममा नै श्री अमर शहीद पुस्तकालय नामको अर्को पुस्तकालयसमेत स्थापना भएको थियो। पछि आएको पुस्तकालयलाई तत्कालीन वडा हाकिमले २०१२ साल माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएको पुस्तकालयका ज्ञाता स्थानीयवासी शेरबहादुर मोक्तान बताउँछन्।
पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभाव जस्ता कारणले गर्दा दुवै पुस्तकालयलाई अगाडि बढाउन र सञ्चालन गर्न नसकिएपछि विसं २०२३ माघ १६ गते श्रीराम पुस्तकालय र श्री अमर शहीद पुस्तकालयलाई एकीकरणगरी श्रीराम अमर शहीद पुस्तकालय भोजपुरका नामबाट सञ्चालनमा ल्याइएको पुस्तकालयका संरक्षकसमेत रहनुभएका मोक्तानले जानकारी दिए।
त्यसपश्चात् पुस्तकालयले भोजपुर जिल्लाको शैक्षिक, बौद्धिक, साहित्यिक, सामाजिक, खेलकुद, सांस्कृतिकलगायत विविध क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आइरहेको थियो। जिल्ला प्रशासन कार्यालय, भोजपुरमा संस्था दर्ता ऐन २०३४ अनुसार वि.स.२०३८ साल साउन ६ गते दर्ता भएको पुस्तकालयले समाजकल्याण परिषद्मा समेत दर्ता भएको पुस्तकालय सञ्चालक समितिका सचिव विनम श्रेष्ठले जानकारी दिए।
त्यसबेला पुस्तकालय सञ्चालनका लागि भवन निर्माणमा स्थानीय युवाले स्वेच्छाले श्रमदान गरी भवन निर्माण गरेकाले पुस्तकालयप्रति सबैको सकारात्मक भावना र सोच देखिएको संरक्षक मोक्तानको भनाइ छ।
हाल यो पुस्तकालयको सात आना दुई पैसा जग्गामा बनेको तीनतले आफ्नै घरमा छ। तत्कालीन पुस्तकालयका संस्थापक सदस्य युवाले चाडपर्वमा देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसमा नाटक एकाङ्की प्रदर्शन मञ्चन गरेर बचत गरी तथा तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोग प्राप्त गरी कुल रु. एक लाख १४ हजारको लागतमा विसं २०४० भदौ महिनामा भोजपुर सदरमुकाममा भवन निर्माण गरेका थिए।
त्यसबेला पुस्तकालय सञ्चालनका लागि भवन निर्माणमा स्थानीय युवाले स्वेच्छाले श्रमदान गरी भवन निर्माण गरेकाले पुस्तकालयप्रति सबैको सकारात्मक भावना र सोच देखिएको संरक्षक मोक्तानको भनाइ छ।
पुस्तकालयबाट २०२८/२९ सालमा नाटक प्रदर्शनको लागि ‘कलाकुञ्ज सांस्कृतिक समूह’ स्थापना भएको थियो। जसले आफैँ नाटक लेख्ने, मञ्चन निर्देशनगर्ने काम गरी प्रत्येक शुक्रबार जनसेवा निमावि, सामुदायिक भवनमा नाटक प्रदर्शन गर्ने गरेका थिए। केही नाटक र नाटकका संवाददेखि आत्तिएर तत्कालीन शासकले नाटकका कलाकार, निर्देशकलाई सजाय स्वरुप हिरासतमा पुर्याएका थिए। उनीहरुले तुँवालोले ढाकेको बस्ती, ६ औले मान्छे, सतित्व, दोबाटो, पर्दाभित्रको रहस्य जस्ता चर्चित नाटकलाई सदरमुकाममा मात्रै सीमित नराखी गाउँगाउँमा समेत प्रदर्शन गरेका थिए।
विसं २०५७ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको आयोजनामा विराटनगरमा भएको ‘पूर्वाञ्चल क्षेत्रीय गीतसङ्गीत महोत्सव’ मा यसै पुस्तकालयले समग्र भोजपुर जिल्लाको प्रतिनिधित्व गर्दै भाग लिएको थियो।
श्रीराम अमर शहीद पुस्तकालयले बौद्धिक तथा प्राज्ञिक क्षेत्रका स्रष्टा र सर्जकलाई सम्मान प्रदान पनि र्दै आएको छ । साहित्यकार मेघराज नेपाल ‘मन्जुल’, विप्लव ढकाल, शैलेन्द्र साकार, विष्णुविभु घिमिरे, नेपाली भाषामा स्नातकोत्तर जापानी नागरिक हारोहितो नोजुलाई अभिनन्दन तथा भोजपुर साहित्य, कला, सङ्गीत महोत्सवका अवसरमा हीरण्य भोजपुरे, उर्मिला भोजपुरे, श्रवण मुकारुङ, सैलेन्द्र साकार, बुलु मुकारुङ, भूपाल राई, मुकारुङ गोविन्द, भीषण मुकारुङ, श्याम तमोट, पारस मुकारुङ, खेमराज गुरुङ, आभा मुकारुङ, शेरबहादुर मोक्तान, गीता कार्की र दीपा राई जस्ता नेपालका मूर्धन्य कवि तथा कवयत्री, साहित्यकार, गीतकार, गायकगायिका तथा सङ्गीतकारलाई एकैथलो पुस्तकालय हातामा सम्मान प्रदान गरिएको थियो। यसरी सम्मानित हुने अधिकांश भोजपुरे र तिनीहरुको सम्बन्ध यस पुस्तकालयसँग कुनै न कुनै तवरले जोडिएको पाइन्छ।
पुस्तकालय सञ्चालक समितिका सचिव श्रेष्ठका अनुसार पुस्तकालयले विगतमा वीरेन्द्र शुभजन्मोत्सव विषेशाङ्क तथा पिखुवाको सुशेलीलगायत थप अरु केही फुटकर साहित्यिक पुस्तकसमेत प्रकाशन गरिसकेको छ। भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, शहीद दिवस तथा पुस्तकालय वार्षिकोत्सवलगायतका अवसरमा साहित्यिक भेला, कविता गोष्ठीलाई पुस्तकालयले सञ्चालन गर्ने गरेको थियो।
यो पुस्तकालय सञ्चालनमा आउँदा स्थानीय मात्र नभएर विद्यालयस्तरका अतिरिक्त क्याम्पसका विद्यार्थी पनि पुस्तकालयबाट प्रत्यक्ष लाभान्वित बनेको स्थानीय जीवन श्रेष्ठ बताउँछन्।
पुस्तकालयले सामाजिक एवं सांस्कृतिक क्षेत्रमासमेत सहभागिता जनाएको छ। सांस्कृतिक पर्वको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपञ्चमीदेखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णाअष्टमी जात्रा, रथ यात्राको प्रदर्शन र नेपालसंवत्, ल्होसार चण्डीनाचको आयोजना सहयोग तथा सहभागिता गर्ने गरेको छ। सदरमुकाममा संचालन गरिएको पुस्तकालयले खेलकुद क्षेत्रमा पनि सहयोग गरेको बताउँदै भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवाल भन्छन्, 'खेलकुद क्षेत्रलाई पनि पुस्तकालयले आफ्नोतर्फबाट टेवा पुर्याउँदै आएको थियो, भूकम्पका कारण पुस्तकालयको माथिल्लो तला मर्मत हुन नसक्दा ऐतिहासिक पुस्तकालय सञ्चालनमा आउन सकेको छैन।'
यो पुस्तकालय सञ्चालनमा आउँदा स्थानीय मात्र नभएर विद्यालयस्तरका अतिरिक्त क्याम्पसका विद्यार्थी पनि पुस्तकालयबाट प्रत्यक्ष लाभान्वित बनेको स्थानीय जीवन श्रेष्ठ बताउँछन्।
यसका अलावा पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहासका पुस्तक छन् साथै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुस्तक, हास्य, विभिन्न ठाउँबाट प्राप्त पुस्तक, भूगोल, अर्थशास्त्र, अङ्ग्रेजी विधाका पुस्तक, रेफरेन्स पुस्तकसमेत गरी करिब ६ हजार पुस्तक छन्। पुस्तकालय राष्ट्रिय तथा स्थानीयस्तरमा मासिक, पाक्षिक, साप्ताहिक पत्रपत्रिकासमेत नियमितरुपमा आउने पढने व्यवस्था मिलाइएको थियो।
अहिले आएर भवन पुनःनिर्माण हुन नसक्दा पुस्तकालय नियमित सञ्चालनमा समस्या भएको पदाधिकारीको भनाइ छ। जीर्ण बनेको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा ऐतिहासिक पुस्तकालयको सञ्चालनमा समस्या भएको सञ्चालक समितिका अध्यक्ष सिरोज श्रेष्ठ बताउँछन्। 'सदरमुकाममा पक्की घर बनाउन आर्थिक स्रोत जुटाउन नै समस्या छ,' अध्यक्ष श्रेष्ठले भने, 'हामीले पुनःनिर्माणका लागि सरोकारवाला र स्थानीय निकायमा भने पटकपटक पहल गरेका नै छौँ।'
पुस्तकालयमा ई-लाइब्रेरी सञ्चालनका लागि पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले दुई थान कम्प्युटरसमेत पुस्तकालयलाई सहयोग गरेको थियो। गृहजिल्ला भोजपुरका पूर्वअर्थमन्त्री कोइरालाले राणाशासनकालमा सञ्चालनमा आएको पुस्तकालय संरक्षणमा सबैले ध्यान दिन जरुरी रहेको बताए। 'आगामी दिनमा पुस्तकालयलाई अझ पाठकको सुविधामा पुग्नेगरी समयसापेक्ष सुधार गर्दै पुस्तकालयको भवन जीर्णोद्धार गर्न आवश्यक देखिन्छ,' उनले भने।
पुस्तकालय सञ्चालनमा लामो सयम काम गर्नुभएका सङ्केत कोइराला सदरमुकाममा रहेको ऐतिहासिक पुस्तकालयमा पुस्तक र पत्रपत्रिका हेर्न आउनेको बिगतको भीड सम्झँदै भन्छन्, 'बिहान र बेलुका खुल्ने पुस्तकालयमा हामीले नियमित पुस्तक लिन आउनेका लागि सदस्यता कार्डमार्फत पुस्तक दिने व्यवस्था मिलाएका थियौँ। पुस्तकालयका पुस्तक लगेर अध्ययन गर्ने साधारण सदस्यको सङ्ख्या मात्र करिब चार सय थियो।'
पुनःनिर्माण प्राधिकरणले संस्थाका नाममा रहेका भवनलाई पुनःनिर्माण गर्ने सूचीमा नराखेका कारण पुनःनिर्माणमा समस्या देखिएको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ। 'प्राधिकरणले पनि सूचीमा राखेन, घर पुनःनिर्माणका लागि करोडौँ पैसा लाग्छ, जसले गर्दा समस्या भएको छ,' अध्यक्ष श्रेष्ठले भने। -निरज कोइराला/रासस