सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको फोहोर कहिले मन्त्रीहरु र कहिले विद्यार्थीहरुले उठाउँदै आएका छन् । पछिल्लो समय बजारक्षेत्र दुर्गन्धित बन्दै गएपछि मन्त्री र विद्यार्थीहरुले फोहोर उठाउनुपर्ने बाध्यता भएको हो ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको बजारक्षेत्रलाई सफा राख्नको लागि सामाजिक अभियन्ताको अगुवाईमा मन्त्री र विद्यार्थीहरु सरसफाइमा सहभागी हुने गरेका छन् । अगिल्लो शनिबार शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका मन्त्रीहरुलाई सरसफाईमा सहभागी गराएको विन्स फाउन्डेसन नेपालले आज विद्यार्थीहरुलाई बजारको फोहोर उठाउन सहभागी गराएको छ ।
विद्यार्थीहरुले बुद्धपथ चौक, हटियालाईन, नेता चौक लगायतका क्षेत्रमा सरसफाई गरेका छन् । वीरेन्द्रनगर नगरपालिका, बजार व्यवस्थापन समिति, सुर्खेत उद्योग वाणिज्य संघ लगायतका सम्बन्धित निकालय फोहोर व्यवस्थापन गर्न नसक्दा मन्त्री र विद्यार्थीहरुले फोहोर उठाउनुपर्ने अवस्था आएको हो ।
दैनिक ३१ टन फोहोर
वीरेन्द्रनगर नगरपालिकाले गरेको एक अध्ययनअनुसार नगरभित्र एकै दिन ३१ टन फोहोर उत्पादन हुने गरेको छ । जसमा ५७ प्रतिशत कुहिने फोहोर उत्पादन हुने गर्दछ । अध्ययन अनुसार ३१ टन फोहोरमध्ये झण्डै ४३ प्रतिशत नकुहिने फोहोर देखिएको छ ।
नकुहिने फोहोर बढ्दै गएपछि व्यवस्थापनमा समस्या देखिएको हो । वीरेन्द्रनगरमा दैनिक उत्पादन हुने फोहोर मध्ये ८ प्रतिशत रबर, १२ प्रतिशत प्लाष्टिक, ४ प्रतिशत शिसा, ११ प्रतिशत पेपर, ४ प्रतिशत कपडा र ४ प्रतिशत अन्य अन्य फोहोर उत्पादन हुँदै आएको छ ।
जसमध्ये पनि ३० प्रतिशत फोहोर औद्योगित क्षेत्रबाट उत्पादन हुने गरेको छ । त्यस्तै ३५ प्रतिशत घर र ३५ प्रतिशत फोहोर सपलहरुबाट निस्कने गरेको छ ।
फोहोरबाट ग्याँस निकालिदै
यसैबिच वीरेन्द्रनगर नगरपालिकाले फोहोरबाट उर्जा निकालिने प्रक्रिया अगाडी बढाएको छ । उर्जा निकाल्नका लागि यसै आर्थिक वर्षमा डिपीआर तयार पारिसक्ने नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रनगरबाट दैनिक निस्कने फोहोरको व्यवस्थापनमा चुनौती बढिरहेका बेला नगरपालिकाले यस्तो योजना अघि सारेको हो । बैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा प्रदेश राजधानीभित्र उत्पादन हुने फोहोरबाट ग्यास उत्पादन गरी प्रयोगमा ल्याउने भएको हो ।
फोहोरबाट ग्यास उत्पादनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पोर्ने नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए । ‘दैनिक फोहोर उत्पादन बढ्दै जाँदा व्यवस्थापनमा चुनौती पनि थपिँदै आएको छ’ उनले भने, ‘प्रयोगसहित व्यवस्थापन गर्नका लागि फोहोरबाट ग्यास उत्पादन गर्न यसैबर्ष डिपीआर हुनेछ । डिपीआर तयार पार्नका लागि एक करोड रकम छुट्याएको छ ।
अभियान र बजेटको उपलब्धी शुन्य
बजारको फोहोर व्यवस्थापनका लागि महिनैपच्छि विभिन्न संघसंस्थाले सरसफाई अभियान चलाउँदै आएका छन् । नगरपालिकाले बजार सरसफाइमा वर्षेनी लाखौं खर्च गर्दै आएको छ । तर सरसफाई अभियान र नगरपालिकाले खर्च गरेको बजेटको उपलब्धि भने शुन्य जस्तै देखिएको छ ।
प्रत्येक शनिबार अभियान्तहरुले बजारका गल्लीलल्लीमा उठाइने सानासाना फोहोरहरु उठाएपनि चौकचौकमा भने दैनिक फोहोरको थुप्रो लाग्दै आएको छ । नाली र चौकमा देखिने फोहोरको थुप्रोले प्रदेशका मुख्यमन्त्री, सांसद र स्थानीय प्रतिनिधिहरुले थालेको अभियानले सार्थकता नपाएको प्रमाणित गर्छ ।
नगरपालिकाले पनि गतबर्षमात्रै सरसफाईका क्षेत्रमा ८० लाख रुपैयाँ खर्च गरेको छ । यसवर्ष पनि नगरपालिकाले फोहोरबाट उर्जा निकाल्नका लागि डिपिआर तयार गर्न एक अर्व रकम विनियोजित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४