वीरगञ्ज- रोट्रयाक्ट क्लब अफ वीरगञ्जको अगुवाइमा शनिबार यहाँ वृक्षारोपण गरिएको छ। हराभर वीरगञ्ज अभियानलार्इ सफल बनाउने उद्देश्यले क्लबले स्थानीय व्यापारिक संघसंस्थाको सहयोगमा वृक्षारोपण गरेको हो ।
वीरगञ्ज महानगरका प्रमुख कार्यकारी अधिकृत डा. भिष्मकुमार भुसाल, ट्राफिक प्रहरी कार्यालय प्रमुख सुरेश साह, नेपाल पत्रकार महासंघको प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले मुर्ली चोकमा संयुक्त रूपमा वृक्षारोपण गर्दै कार्यक्रमको उद्घाटन गरे।
क्लबकी सचिव मेनिका गिरीले मुर्ली चोकदेखि पावर हाउसचोकसम्म मुख्य सडकको दायाँबायाँ अशोक, टिक, गुल महरलगायत विभिन्न प्रजातिका १५० विरूवा रोपिएको जानकारी दिइन्।
वीरगञ्ज महानगरपालिकाले राम्रो वीरगञ्ज, स्वच्छ वीरगञ्ज, हाम्रो वीरगञ्ज अभियान अन्तर्गत १० लाख विरूवा रोप्ने अभियान थालेको छ। महानगर प्रमुख विजय कुमार सरावगीले पहिलो चरणमा शहरी क्षेत्रको सडक पेटीमा वृक्षारोपण थालिएको बताए।
८ भदौमा आदर्शनगरमा रिलिफ सोसाइटी अफ कमर्शको सहयोगमा ७० वटा विरूवा रोपेर महानगर प्रमुख सरावगीले अभियानको उद्घाटन गरेका थिए। अभियानबारे जानकारी दिंदै सरावगीले प्रत्येक घरमा कम्तीमा ४ वटा विरूवा रोप्न सके अभियान सफल बनाउन सम्भव भएको बताए।
महानगरपालिकाले हरित शहरको अभियानलार्इ सफल बनाउन घरआँगन र खाली जग्गामा वृक्षारोपण गरेका नगरवासीलार्इ करमा सहुलियत दिने घोषणा समेत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४