काठमाडौं- विवादास्पद मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने भन्दै विज्ञहरुले त्यसलाई रोक्नुपर्ने सुझाव राखेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कासँग उनीहरुले पत्रकारको अहित गर्ने कानुन ल्याउने प्रयास भइरहेकोले समितिले खारेज गर्नुपर्ने बताएका हुन्।
सञ्चारकर्मीका सुझाव लिएपछि समितिका सभापति खड्काले सरकारले सरोकारवालाहरुसँग परामर्श नै नगरी विधेयक ल्याएको पाइएकोले विस्तृत छलफल हुने जानकारी दिइन्। ‘प्रेसजस्तो संवेदनशील विषय हतारमा ल्याएर हुँदैन। प्रेस काउन्सिलको साटो मिडिया काउन्सिल नाम परिवर्तन गर्दैमा हुँदैन। हामी कस्तो काम गर्छौ? के मिडियाको विकास र सम्बद्र्धन गर्न लाग्छौं? यसतर्फ गम्भीर छलफल हुनुपर्छ। समितिले यस्ता पाटोलाई गम्भीर भएर हेर्नेछ,' सभापति खड्काको भनाई थियो।
तराई विकास तथा सञ्चार केन्द्रले मिडिया काउन्सिल विधेयकबारे सरोकारवालाहरुसँग राखेको अन्तर्क्रियामा इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापा, राजधानी दैनिकका सम्पादक सागर पण्डित, नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौंलागाई, प्रेस युनियनका उपाध्यक्ष नहकुल अर्याल, प्रेस चौतारीका उपमहासचिव सुरोजंग पाण्डे, सर्वोच्च अदालत बार एशोसिएसनका सदस्य समेत रहेका पत्रकार अनन्तराज लुइटेल, नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झालगायतले विभिन्न सुझावहरु राखेका थिए।
इकागजका सम्पादक थापाले सुरुमा आउँदा अपारदर्शी र अधिनायवादी सोचका साथ ल्याइएको भनिएको यो विधेयक अहिलेको सरकारले पनि ल्याएकोमा आश्चर्य प्रकट गरे। ‘समग्र मिडियाको अहित गर्ने यो विधेयक अहिले कसरी लोकतन्त्रवादी भयो। लोकतन्त्रमा नाम फेर्ने होइन, प्रवृत्ति फेर्नुपर्ने हो। जबर्जस्ती यस्ता विधेयक ल्याउनु लाजमर्दो अवस्था हो। समितिले यसलाई रोक्नुपर्छ,' थापाले भने।
राजधानी दैनिकका सम्पादक सागर पण्डितले अहिलेकै प्रेस काउन्सिललाई श्रोत, साधन सम्पन्न गरेर बलियो बनाउनुपर्ने बताए। पत्रपत्रिकाको दर्ता खारेज गर्ने मनसायले विधेयक ल्याइएकोले समग्र सञ्चार जगतले विरोध गर्नुपर्ने उनको सुझाव थियो।
‘संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति छ। सरकार भने मिडिया मार्ने विधेयक ल्याउन खोज्छ। यस्तो बेला संसदीय समितिले मिडिया बचाउने भूमिका खेल्नुपर्छ। यो विधेयक प्रथम दृष्टिमै खारेजयोग्य छ।’कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयकबारे विभिन्न सञ्चारमाध्यमहरुले लेखेका समाचारहरुको संग्रहसहित सुझावपत्र समिति सभापति खड्कालाई बुझाएका थिए।
खड्काले यो विधेयक विवादमा परेकाले समितिले कुनै हतार नगरी अघि बढ्ने दृढता समेत राखेकी थिइन। मिडिया काउन्सिलविरुद्ध नेपाल पत्रकार महासंघले केही दिन अघि विज्ञप्ति निकालेर सरकारलाई आन्दोलनका चेतावनी दिइसकेको छ। त्यस्तै समाजवादी प्रेस संगठनले पनि यो विधेयकले मिडिया उद्योगलाई नै खलल पुर्याउने भएकाले रोक्न आन्दोलन गर्ने बताइसकेको छ।