काठमाडौं- नेपालमा ६४ वर्षअघि विसं २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचन मुलुकको लोकतान्त्रिक व्यवस्थाका लागि कोषेढुंगा थियो। जहानियाँ राणा शासनको अन्त्यपछि मुलुकमा जननिर्वाचित सरकार बन्ने भएका कारण पनि त्यो चुनावको बेग्लै महत्व र उचाई थियो।
नेपाली कांग्रेसमा नेता गणेशमान सिंहको छुट्टै उचाई छ। त्यसकारण कांग्रेसमा उनलाई 'वीर गणेशमान', 'लौह पुरुष' भनेर सम्बोधन गरिन्छ। ०१५ सालको निर्वाचनमा गणेशमान क्षेत्र नम्बर-१ काठमाडौंबाट चुनाव उठेका थिए। कांग्रेसमा सिंहका प्रतिद्वन्दी थिए-नेकपाका पुष्पलाल श्रेष्ठ। चुनाव सकिएपछि सिंह भागेर बनेपा पुगेका थिए। सिंह बनेपा पुगेर बस्नुपछाडिको कारण थियो- पराजयको भय।
काठमाडौंमा यी दुई नेताबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो। चुनावी माहोल तातिएका बेला काठमाडौंका चोक र गल्लीमा नाराबजी हुन्थे। नारा लगाउने क्रममा पुष्पलालले जितेको र गणेशमानले हारेको हल्ला गरिन्थ्यो। पत्रकार जगत नेपालले आफ्नो पुस्तक पहिलो संसद् : महेन्द्र-बीपी टकराबमा लेखेका छन्, 'गणेशमानका प्रतिस्पर्धी श्रेष्ठ गलामा माला लगाएर काठमाडौंका चोक र गल्लीहरुमा पुग्दा 'पुष्पलाल जित्यो जित्यो, गणेशमान हार्यो हार्यो' भन्ने नाराबाजी हुने गरेको थियो।'
त्यसो त उम्मेदवारी दर्ता गर्ने बेलादेखि नै सिंहका कार्यकर्ता चुनाव जित्नेमा ढुक्क देखिन्थे। कार्यकर्ताले सिंहलाई केही आमसभामा सम्बोधन गरेर पार्टीको अभियानमा देशभर पुग्न सुझाएका थिए। तर परिस्थिती फेरियो र सिंहले काठमाडौं छाड्न सकेनन्। मतदानको दिन नजिकिँदै गर्दा उनले हार्ने हल्ला फैलाइयो। सिंह मत माग्न टोल-टोलमा पुगे पनि अन्तिम समयमा हरेक घरका ढोकामै पुगेर सिंहले मत माग्नुपर्ने स्थिति सिर्जना भयो।
सिंहमा हार्ने डर पलाउँदै गएको थियो। सोही कारण उनले सुरक्षित महसुस गर्न सकिरहेका थिएनन्। उनी मतगणना नसिकँदासम्म बनेपा गएर बसेका थिए। 'सिंह हारिन्छ कि भनेर असुरक्षित महसुस गरिरहेका थिए। ज्यानको बाजी लगाएर राणाविरुद्ध संघर्ष गर्ने गणेशमान मतदान सकिएपछि हारियो भने त साह्रै बइज्जत हुन्छ भनेर मतगणना अवधिभर उनी बनेपा गएर बसे,' नेपालले लेखेका छन्, 'काठमाडौंबाट चुनाव जितेको खबर सहित जिप पठाएपछि मात्र उनी उतैबाट विजय जुलुसका साथ काठमाडौं आएका थिए।'
काठमाडौं- १ मा २७ हजार २९४ मत खसेको थियो। जसमध्ये सिंहले १० हजार ९८६, पुष्पलालले ७ हजार ८४८, प्रेम बहादुर शाक्यले ७ हजार १७७ मत ल्याएका थिए। काठमाडौंको रत्नपार्कमा सिंहको विजय सभा भएको थियो। बनेपाबाट फर्किएका सिंहले विजय सभामा आक्रोशित भएर भाषण गरेका थिए। 'काठमाडौंको जनता दास नै हो। मैले यही जनताको मुक्तिका लागि ज्यानको बाजी लगाएर राणाहरुसँग लडेँ तर आज म झन्डै हारेको। त्रिपक्षीय भिडन्तका कारण केही मतान्तरमा मात्र जितेँ,' नेपालले पुस्तकमा लेखेका छन्।
तर सिंहको आक्रोश पछिसम्म पनि रहिरह्यो। प्राप्त गरेको मतमा उनको चित्त बुझेको थिएन। जसका कारण बेलाबखतमा उनले आक्रोश पोख्ने गरेका थिए। 'मामपाकाहरु, स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउँछ, भोट चाहिँ १० हजार,' सिंहको आक्रोशबारे नेपालले लेखेका छन्।
पहिलो महिला सांसद
पहिलो निर्वाचनमा एक मात्रै महिला प्रतिस्पर्धामा उत्रिएकी थिइन्। उनी थिइन्-द्वारिकादेवी ठकुरानी। उनलाई नेपाली कांग्रेसले क्षेत्र नम्बर ६६ डडेल्धुराबाट उम्मेदवार बनाएको थिए। उनले विजय पनि प्राप्त गरिन्। ठकुराठीले ३ हजार ९०३ मत ल्याएर विजय प्राप्त गर्दा संयुक्त प्रजातन्त्र पार्टीका लक्ष्मीदत्त भट्टले १ हजार ८३१ मत प्राप्त गरेका थिए।
नेपालको इतिहासमा पहिलो महिला सांसद र पहिलो महिला मन्त्री बन्ने उनै ठकुरानी हुन्। उनलाई प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले स्थानी स्वायत्त शासन सहायक मन्त्री बनाएका थिए।
बाहुनवाद नमान्दा भट्टराई पराजित
सन्त नेता कृष्णप्रसाद भट्टराई 'किसुनजी' का लागि भने ०१५ सालको निर्वाचन अनुकुल हुन सकेन। उनी कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा पनि पराजित भएका थिए। त्यसको कारण थियो- रक्सी र उनको व्यवहार। बाहुनको छोरा भए पनि भट्टराई जातभात मान्दैन थिए। उनी चुनावी प्रचारमा जाँदा खुलेआम रक्सी पिउँथे। उनको त्यही बानी हारको कारण बनेको थियो। 'निर्वाचनअघि बीपीले सोधेका थिए। किसुनजी तपाईँ कुन क्षेत्रबाट मनोनयन गराउनुहुन्छ? सेन्स अफ ह्युमरका धनी भट्टराईले हाँस्दै फ्याट्ट भनिदिए- कुनै चुनाव क्षेत्र दिनुस्। चुनाव भनेको एउटा संयोग मात्र हो। भट्टराई गोरखाबाट चुनाव लडे,' पत्रकार नेपालको पुस्तकमा उल्लेख छ।
चुनाव प्रचारमा जाँदा त्यो समयमा समाजले नपचाउने काम भट्टराईले गर्न थाले। जातभात नमान्ने, रक्सी पिउनेलगायतका काम भट्टराईले गर्न थाले। समाजले भट्टराईको व्यवहार पचाउन सकेन। र भट्टराई पराजित भए। 'त्यो समयको आडम्बरी समाज। बाहुनको छोरो भएर पनि भट्टराई जातभात मान्दैनथे। गाउँका तल्लो जातमा मानिससँग अँगालो मारेर हिड्ने र उनीहरुका आँगन, पिँढीमा सँगै बसेर खाना खाइदिने भट्टराईको चालचलन पनि पाच्य भएन,' नेपालले पुस्तकमा लेखेका छन्, 'ब्राम्हणले धोतिपाटा फेरेर मात्र खानुपर्छ भन्ने मान्यता बोकेको त्यो रुढीवादी समाजमा चुनाव प्रचारका क्रममा भट्टराईले भने खुलेआम रक्सी खान थाले। उनी चुनाव हार्नुको मुख्य कारण त्यही थियो।'
बाहुन भएर रक्सी खाएकोमा एकथरीको आपत्ति छँदै थियो, अर्कोतर्फ जातभात नमानेकोमा क्षेत्री-बाहुनहरु विरुद्धमा थिए। चुनावका दिन आएको हुरीका कारण भट्टराईका पक्षमा भएका मतदाता पनि भोट हाल्न आउन पाएनन्। जसका कारण भट्टराई पराजित हुन पुगेका थिए। चुनाव हारे पनि भट्टराई सभामुख बनेका थिए। उनलाई बीपीले चाहिने मान्छे भनेर सभामुख बनाएका थिए। भट्टराई २०१६ असार १८ गते प्रतिनिधिसभाको दोस्रो बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।
उम्मेदवार बन्नै पाएनन् मातृका
पहिलो निर्वाचनमा बीपी र मातृकाप्रसाद कोइरालाबीच राम्रो सम्बन्ध थिएन। दुवै नेता मोरङबाट चुनाव लड्न चाहान्थे। तर वीपीले दाजुलाई विराटनगरबाट उम्मेदवार बनाएर आफू पुर्ख्यौली थलो सिन्धुलीबाट चुनाव लड्ने सोच बनाएका थिए। तर बीपीले अन्तिममा टिकट नै दिएनन्। क्षेत्र नम्बर १३ मा मनोनयन गरेका मातृकालाई बीपीले मनोनयन फिर्ता गर्न लगाएका थिए।
'चुनावमा मातृका पक्षका धेरै नेता मैदानमा थिए। तर मातृकालाई भने उम्मेदवार बनाइएन। सुवर्णसम्शेर तीन क्षेत्रमा, सूर्यप्रसाद उपाध्यय र शिवराज पन्तले दुई-दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको भए पनि बीपीले आफूलाई उम्मेदवार नबनाएको भनी मातृका रुष्ट थिए,' नेपालको पुस्तकमा उल्लेख छ, 'त्यसैले उनी भाइको चुनावी अभियानमा लाग्नुको साटो सीमा नजिकको सहर फारबिसगन्ज गएर बसे। राजा र कम्युनिस्ट मात्र होइन, मातृका पनि बीपीलाई हराउने योजनामा सक्रिय थिए।'
बीपी हराउन मातृका सक्रिय थिए। तर बहिनी इन्दिरा भनेर बीपी जिताउन सक्रिए थिइन्। त्यसो त मातृकाकी आमाले समेत बीपीलाई मत हालिनन्। उनले घैला चिन्ह अर्थात डा. अवधनारयणलाई मत दिएकी थिइन्। 'मतदानको दिन हजुरी आमा (मातृकाकी आमा)ले इन्दिरालाई भन्नुभएछ- छोरी, मलाई पनि भोट हाल्न लगेर जाउ है। मतदानबाट फर्कँदा इन्दिराले सोधिछिन्-आमा केमा भोट हाल्नुभयो? हजुरीले भन्नुभएछ- घैलोमा। अर्थात डा.अवधनारयणलाई। इन्दिराले रिसाएर थुकिछिन्-यस्तो पनि गर्ने, सान्दाइको विपक्षमा मतदान गर्ने?' नेपालले गरिजाप्रसाद कोइरालालाई उदृत गर्दै लेखेका छन्।