काठमाडौं– महाभियोग सिफारिस समितिमा बयान दिइरहेका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीको नाम लिएका छन्।
आज आइतबार बयानका क्रममा जबराले पूर्वप्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरुलाई समेत लाञ्छना लगाएको एक सदस्यले बताए।
बयानका क्रममा जबरालाई सर्वोच्चको भवन ठेक्का सदरबारे प्रश्न सोधिएको थियो। त्यसको जवाफका क्रममा जबराले त्यसलाई स्वीकार गरेका छन्। रजिष्टारले गर्ने भए पनि कार्यालय प्रमुख भनिएकाले आफूले गरेको भन्दै उनले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले पनि सहयोग गर्नुभएको छ। तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ।’ पौडेल एमालेको तर्फबाट महाभियोग सिफारिस समितिमा सदस्य छन्।
महाभियोग सिफारिस समितिले भदौ मसान्तभित्रै राणालाई महाभियोग लाग्ने–नलाग्ने विषयमा छानबिन प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने बताएको छ। समितिले बयानसँगै प्रतिवेदनको तयारी पनि अघि बढाएको छ।
समितिले अहिलेसम्म राणालाई ३५ वटा प्रश्न सोधेको छ। राणाविरुद्ध समितिले लागेका आरोपहरुबाट झण्डै ५० वटा प्रश्न तयार पारेको थियो। समितिले पर्सि मंगलबार १ बजे पुनः बयानका लागि राणालाई बोलाएको छ।