दमौली- कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्। तनहुँ प्रहरीले २० वर्षपछि भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठलाई पक्राउ गरेको हो।
उनलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। पक्राउ परेका श्रेष्ठ विरुद्ध शुक्रबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को समन्वयमा निजलाई गैडाकोट नगरपालिका–२ स्थित राजमार्गमा बा प्र ०३–००१ ह १५६८ नम्बरको टेम्पो चलाई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।
वि.सं. २०६० साउन १८ गते भानु नगरपालिका–६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी प्रतिवादीले घाइते बनाएका थिए। घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो। घटनापश्चात् प्रतिवादी फरार रही लुकीछिपी बस्दै आएका थिए।