काठमाडौं– निर्वाचन आयोगले शनिबारबाट चार वटा प्रदेशको प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ। आयोगले प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशसभाको समानुपातिकतर्फका मतपत्र छाप्न थालेको हो।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छापिने आयोगले बताएको छ। चार वटा प्रदेशका लागि करिब १ करोड ३१ लाख मतपत्र छापिनेछन्। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिएलगत्तै प्रदेशसभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने बताए। आयोगले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छाप्ने योजना बनाएको छ। आयोगले २१ भदौबाट नमुना मतपत्र छाप्न सुरु गरिसकेको छ।
देशभरिका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोहीअनुसार मतपत्र छपाइ प्रक्रिया अगाडि बढाएको हो।