शुक्रबार, जेठ १, २०८३

शहीद केशव कोइराला स्मृति भवन उद्घाटन

नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

महोत्तरी- नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ। 

National life

महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा निर्मित सभाकक्ष नगरप्रमुख हरिप्रसाद मण्डलले शुक्रबार उद्घाटन गरेका हुन्। सभाकक्ष ३७ लाख लागतमा मटिहानी नगरपालिकाले निर्माण गरेको हो। 

वि.सं. २००७ मा पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेर महोत्तरीलाई प्रजातान्त्रिक आन्दोलनको कर्मक्षेत्र बनाउनुभएका शहीद  कोइरालाको सहादतलाई चिरस्थायी बनाउन सभाकक्ष निर्माण गरिएको मटिहानी नगरपालिकाले जनाएको छ।

नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा होमिनुभएका कोइरालाको सहादतले आफ्नो ठाउँ धार्मिकस्थल मात्र नभएर शहीद भूमि पनि बनेको नगरप्रमुख मण्डलको भनाइ छ।

मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा अध्ययनरत रहेकै बेला कांग्रेसको सशस्त्र आन्दोलनमा लाग्नुभएका कोइरालालाई महोत्तरीवासीले आदरका साथ सम्झने गरेका छन्। कोइरालाले २०३१ साल साउन ३१ गते मटिहानी प्रहरीचौकीमा प्रतीकात्मक बम विष्फोट गर्ने क्रममा प्रहरीको गोली लागेर निधन भएको थियो। 

मटिहानी प्रहरीचौकीमा विष्फोटको योजना बनाउने तत्कालीन नेपाली कांग्रेसका नेता  गणेश नेपाली, बलराम शर्मा, महेश कोइराला, श्रीधर झा र केशव कोइरालामध्ये २०३१ साल साउन ३१ गते राति चौकीमा विष्फोटको जिम्मेवारी साथीहरुबीच लिनुभएका कोइरालाले विष्फोट गराएलगत्तै प्रहरीले गरेको फायरिङमा उहाँको निधन भएको थियो। 

कोइराला कलकलाउँदो २४ वर्षे उमेरमा काखकी छोरी र पत्नीलाई छाडेर प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएको थियो। शहीद कोइरालाका परिवारमा धर्मपत्नी गुणकुमारी, छोरी समिता र छोरीतर्फका दुई नाति रहेका छन्। समिताका पति उज्जल बराल कांग्रेस सिन्धुलीका नेता हुनुहुन्छ।  

महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमै रहेको सहादतस्थलमा शहीद स्मारकस्थल निर्माणाधीन छ। अब आउने माघ १६ गते शहीद दिवसको दिन शहीद केशव कोइरालाको अर्धकदको ढलोटको प्रतिमा अनावरण गरिने कार्यक्रम उनको ४८औं स्मृति दिवसकै अवसरमा गत साउन ३१ गते मटिहानीमा घोषणा गरिएको थियो।  

विसं २०५४ मा पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले सहादतस्थल पार्क निर्माण कार्यको शिलन्यास गर्नुभएको थियो। शहीद कोइरालाको सहादतस्थलमा अग्लो चतुर्भजाकारको किल्ला बनाएर फलामे घेरा लगाउने योजनासाथ शिलान्यास गरिएको काम केही अघि बढे पनि सम्भार र संरक्षणको पक्ष अत्यन्त कमजोर रहेको मटिहानीवासी बताउँछन्।  

सहादतस्थलको मर्मतसम्भार र सरसफाइमा सम्बद्धपक्ष उदासिन देखिएका मटिहानीवासीको गुनासो छ। 'शहादतस्थल रुग्ण खण्डहरजस्तो देखिन्छ, यसको सम्भारमा मटिहानी नगरपालिका र सामाजिक सङ्घ संस्थाले चासो देखाउन आवश्यक छ', मटिहानीकै बासिन्दा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजयकुमार साह भन्छन्।

शहीद कोइरालाको स्मृतिमा ‘शहीद केशव कोइराला स्मृति प्रतिष्ठान मटिहानी (महोत्तरी)’ स्थापित छ। प्रतिष्ठानले सहादतस्थलको सम्भारमा बढी जिम्मेवारी बहन गर्नुपर्ने साहको भनाइ छ। सहादतस्थलमा पार्क निर्माणको काम पछिल्ला दुई आर्थिक वर्षयता नियमित हुँदै आएको छ। 

सहादतस्थलको पार्कमा चौतर्फा डण्डी फेर्ने, सहादतस्थलमा खरीढुङ्गा ओछ्याउने र परिसरलाई घेर्ने काम भए पनि नियमित सरसफाइ नभएको गुनासो बढी छ। सहादतस्थलसम्बन्धी कामका लागि मटिहानी नगरपालिकाले विगत वर्षहरुमा प्रतिष्ठानलाई रकम उपलब्ध गराएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन्।

'हामीले शहीद केशव कोइरालाको सहादतस्थललाई विशेष ठाउँका रुपमा विकास गर्न चाहेका छौँ, यसको प्रयत्न पनि गरिँदै आएको हो', नगरप्रमुख मण्डल भन्छन्, 'यसमा केही त्रुटि औंल्याइएका छन्, हामी त्यसलाई सच्याएर अघि बढ्नेछौं।'

अब मटिहानी–जलेश्वर सडकको नामाकरण शहीद  केशव कोइराला मार्ग गरिनुपर्ने र उहाँको सहादतस्थल अहिलेको श्रीराम  माध्यमिक विद्यालय परिसरमा मित्रराष्ट्र  भारतको सहयोगले बनेको विद्यालय भवनको नामकरण शहीद केशव सदन राखिनपर्ने पनि प्रतिष्ठान मटिहानी (महोत्तरी)का कार्यवाहक अध्यक्ष वैजु मण्डलको माग छ।

'नगरपालिकाले कोइरालाको नाउँमा सभाकक्ष निर्माण गरेर प्रशंसनीय काम गरेको छ', प्रतिष्ठानका कार्यवाहक अध्यक्ष मण्डल भन्छन्, 'अब मटिहानी-जलेश्वर सडक र श्रीराम मावि भवनको नाम शहीदका नाममा गर्न पहलकदमी नगरपालिकाले नै लिनपर्छ।'

प्रकाशित: Sep 10, 2022| 08:55 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।