काठमाडौं- भारतीय विपक्षी दलका नेता तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी शनिबार बिहानै पशुपति दर्शन गर्न पुगेका छन्।
शुक्रबारमात्रै काठमाडौं ओर्लिएका राहुल शनिबार बिहान ८:३० बजे पशुपति पुगेको श्रोतले जनाएको छ। त्यसपछि शनिबार नै राहुल कैलाश मानसरोवरको दर्शन गर्न तिब्बततर्फ लाग्नेछन्।
नेपाली सुरक्षा निकायहरुले शनिबार विहानसम्म राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज हुँदै मानसरोवर जाने जाने सूचना पाएका थिए। किनभने, त्यही एयरलाइन्सको टिकट सूचीमा उनको नाम थियो। त्यसै अनुसार नेपालगञ्जमका पनि उनको सुरक्षा प्रबन्ध मिलाइएको थियो।
तर, शनिबार बिहान अकस्मात उनले आफ्नो योजना परिवर्तन गरे। र, ल्हासा हुँदै मानसरोवर जाने योजना बनाए। ‘सुरुमा राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज जाने भनिएको थियो’ विमानस्थल सुरक्षा स्रोतले भन्यो, ‘तर पछि क्यान्सिल गरेछन्।’
भारतका प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदी बिमस्टेक सम्मलेन सकेर नेपाल भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन र पशुपतिनाथको दर्शन गरी शुक्रबार साँझ दिल्ली फर्किए। मोदी भारतीय वायु सेनाको विशेष विमानमा दिल्ली उड्नुभन्दा केही घण्टाअघि नै राहुल गान्धी काठमाडौं ओर्लिएका थिए।
सामान्यतः मोदी जस्तो मन्दिर चहार्दै नहिंड्ने राहुलले शनिबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजा गर्नेछन्। कांग्रेसको अध्यक्ष भएपछि पशुपतिमा संभवतः उनको यो नै पहिलो पूजा भएको जनाइएको छ।
प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता मोदीकै शैलीमा विपक्षी नेता गान्धी किन यसरी धार्मिक यात्रामा निस्के? अझ उनी पशुपतिनाथको दर्शन गर्ने गरी किन नेपाल आए? मोदी र गान्धीको पछिल्लो धार्मिक यात्रा खासगरी भारतीय लोकसभाको आसन्न निर्वाचनसँग जोडिएको छ। भारतको बहुसंख्यक हिन्दु जनमत आफुतिर आकर्षित गर्न मोदी र गान्धी दुबै हिन्दु धार्मिक स्थल धाउन थालेको टिप्पणी हुन थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४