काठमाडौं- भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्याल भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका हुन्।
परराष्ट्र सचिव पौड्यालले भदौ २८ देखि २९ गते (सेप्टेम्बर १३ देखि १४ तारिख) सम्म भारतको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा सचिव पौड्यालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा दुई पक्षबीच नेपाल र भारतबीचको सहयोगका विभिन्न क्षेत्रमा छलफल हुने बताइएको छ। नेपाल भारतबीच लिपुलेक, लिम्पियाधुरा तथा कालापानीको मुद्दा, ईपीजी, व्यापार, उर्जा तथा अग्निपथलगायतका मुद्दाहरुबीच असन्तुष्टिहरु रहेका छन्।
यसअघि भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग लिपुलेक नेपाली भूमि भएको विषयमा छलफल गर्दै सचिवस्तरीय संयन्त्रबाट समाधान गर्न सकारात्मक भएका थिए। दुई सचिवबीचको भेटका क्रममा सीमा र अग्निपथका विषयमा छलफल हुनसक्ने आकलन गरिएको छ।
भ्रमण सम्पन्न गरी सचिव पौड्याल भदौ ३० गते स्वदेश फर्कने कार्यक्रम छ।