शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश र संघको चुनावमा कस्तो रहला ‘रेशम शक्ति’?

टीकापुर घटनाका आरोपित डिल्लीबजार जेलमा रहेका सांसद रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह चुनावमा कैलालीका चार स्थानीय पालिकामा वर्चस्व जमाएपछि आउँदो ४ मंसिरमा हुने प्रदेशसभा तथा संघीय निर्वाचनमा धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ।
 |  शनिबार, भदौ २५, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, भदौ २५, २०७९

काठमाडौं– स्थानीय तह निर्वाचनमा जितेका पालिकाको संख्यालाई आधार मान्ने हो कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ। स्थानीय तह निर्वाचनभन्दा केही समय पहिले जेल सजाय भोगिरहेका सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका थिए।

triton college

१९ पुस २०७८ मा चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन्।

टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन्। तर उनको पहलमा गठन भएको नागरिक उन्मुक्ति पार्टी छोटो समयमै स्थानीय तहमा आफ्नो प्रभुत्व स्थापित गर्न सफल भएको छ।

गत स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ मध्ये ४ वटा पालिका जितेको छ भने कांग्रेसले ३, एमाले र माओवादी केन्द्रले २/२ वटा तथा नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वटा पालिका जितेका छन्।

रेशमलाई ७ भदौ २०७२ को टीकापुर घटनामा जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो। उच्च अदालत, दिपायलले पनि सदर गरेको उक्त फैसला पुनरावेदनका लागि दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ। चौधरीले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।  उनले  जेलभित्रैबाट आफ्ना राजनीतिक गतिविधिलाई क्रियाशील पार्दै लगेका छन्। 

Metro Mart
vianet

उक्त घटनाभन्दा पछि सम्पन्न भएका हरेक चुनावमा आफूसँग जोडिएका राजनीतिक क्षणलाई उनले विजयी तुल्याउँदै आएका छन्।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरीको फरार सूचीमा रहेका बेला चौधरीले वारेशमार्फत उम्मेदवारी दिँदा अत्यधिक बहुमतसहित विजयी भएका थिए। अहिले कारागारमै रहेका चौधरीको पहलमा गठन भएको नयाँ पार्टीले सोही क्षेत्रमा आफ्नो प्रभुत्व स्थापित गरिदिएको छ।

अबको रणनीति के?

नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण थारु स्थानीय तह चुनावमा आफूहरूलाई प्राप्त सफलताले हौस्याएको बताउँछन्। त्यसैको प्रतिफलस्वरुप ४१ जिल्लाबाट नागरिक उन्मुक्ति पार्टी संघ र प्रदेशको चुनावमा सहभागी हुने उनले बताए।

‘हामीसँग चुनाव लड्न स्रोत, संगठन र समय थिएन। यसका बाबजुद सरकारले टीकापुर क्षेत्रमा लिएको नीति र गरेको व्यवहार एकपक्षीय थियो भनेर यहाँका स्थानीयले मतदानमार्फत आफ्नो निर्णय व्यक्त गर्नुभएको छ। कानुन र प्रशासनले टीकापुरलाई न्याय दिन नसकेको अवस्थामा जनताले न्यायाधीश बनेर न्याय दिएका छन्,’ चौधरी भन्छन्।

आउँदो चुनावमा थारु बहुल कैलालीका मतदातालाई रिझाएर संघ र प्रदेशसभा छिर्ने रणनीति बनाउँदै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी।  

उनले शुक्रबारसम्म पार्टीबाट समानुपातिक सांसदको नाम टुंगो लगाउने र त्यसको केही दिनमा प्रत्यक्षतर्फका सांसदको टुंगो लगाइने जानकारी दिए। ’हामीसँग विश्वाशिलो जनाधार छ। पहिचानको मुद्दा छ। राजनीतिक दलहरूले पहिचान दिन्छौं भनेर सधैं हामीलाई झुक्याउने र लडाउने काम मात्रै गरे। अब त्यसको अन्त्य हुनुपर्छ। हाम्रो लडाइँ त्यसैका विरुद्धमा हो,’ उनी भन्छन्।

आफूहरू भूमिपुत्र हुँदाहुँदै सधैं राज्यले थारु समुदायमाथि हेपाहा प्रवृत्ति देखाउँदै आएको उनको आरोप छ। ‘टीकापुर घटनामा पनि एउटा समुदायलाई मात्र केन्द्रमा राखेर हेपियो। अब हामीलाई त्यो स्वीकार्य हुँदैन,’ उनी भन्छन्।

सरकारले रेशम चौधरीलाई रिहाइ गर्नेमा पनि आफूहरू रत्तिभर विश्वस्त नरहेको उनी बताउँछन्। नेपाल समयसँग कुरा गर्दै चौधरी भन्छन्, ’सरकारले अहिले पनि हामीलाई विभिन्न प्रलोभन देखाइरहेको छ। अब हामी ती प्रलोभनमा पर्ने अवस्था छैन। हामी चुनाव लड्छौं। आफ्ना माग र मुद्दा स्थापित गराएरै छाड्छौं।’ 

उनी राज्यको चरित्र आफूहरूप्रति हात्तीको देखाउने दाँतजस्तो मात्रै भएको टिप्पणी गर्छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्ने पक्का रहेको उनले बताए।

‘हामीले टीकापुर घटनाको सत्य के हो र असत्य के हो? अन्याय भएको छ कि छैन? त्यहीअनुसार मत दिनुस् भनेर मत माग्छौं। स्थानीय तह निर्वाचनमा पनि हामीले त्यही गरेका थियौं,’ उनले भने, ‘जनताले सत्यको पक्षमा मतदान गर्नेमा विश्वस्त छौं। स्थानीयले यहाँका राजबन्दी  र रेशम चौधरीको रिहाइको पक्षमा मतदान गर्छन्।’ 

कस्तो थियो स्थानीय तह निर्वाचनको अवस्था?

स्थानीय तह निर्वाचनमा चार पालिका जितेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकाको प्रमुखमा पाँच दलीय सत्तारुढ गठबन्धनलाई पराजित गर्दै ३ हजार मतान्तरले जित हासिल गरेको थियो। नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी भएका थिए। थारु ९ हजार ६४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत प्राप्त गरेका थिए।

उपमेयरमा भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खडक शाह ७ हजार ९५५ मत प्राप्त गर्दै विजयी बनेका थिए। नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाएकी थिइन्। नागरिक उन्मुक्तिले ९ मध्ये दुई वडा जितेको छ। नागरिक उन्मुक्तिले जितेका चार पालिकामध्ये टीकापुरमा मात्रै उपप्रमुख गुमाएको छ।


भजनी नगरपालिकामा गठबन्धनका उम्मेदवार बनेका निवर्तमान मेयरसमेत रहेका माओवादीका शेरबहादुर चौधरीलाई ३ हजार ७६८ मतान्तरले पराजित गर्दै केवल चौधरी निर्वाचित भए। उनले ८ हजार ९६६ मत पाए भने माओवादीका चौधरीले ५ हजार १९८ मत प्राप्त गरे।

उपमेयरमा नागरिक उन्मुक्तिकै राजु तिरुवाले गठबन्धनबाट कांग्रेसका गोकेन्द्र भण्डारीलाई पराजित गरे। तिरुवाले ७ हजार ६२२ मत पाइन् भने कांग्रेसका भण्डारीले ४ हजार ४९० मत पाएर पराजित भए। नागरिक उन्मुक्ति पार्टीले भजनीका ९ वडामध्ये तीन वटा वडा जितेको छ।

जोशीपुर गाउँपालिका अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरीले गठबन्धनबाट कांग्रेसका बन्सराम बडायकलाई १ हजार ५३५ मतान्तरले पराजित गरे। चौधरीले ४ हजार ९०३ र बडायकले ३ हजार ३६८ मत पाए।

उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरिया ४ हजार ५८१ मत ल्याएर विजयी भइन् भने माओवादी केन्द्रका दीर्घराज बिनाडी ३ हजार ९६१ मत पाएर पराजित भए। जोशीपुरका सातमध्ये चार वटा वडामा नागरिक उन्मुक्तिका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन्।

जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरीले कांग्रेसका परशुराम महतोलाई पराजित गरे। चौधरीले ७ हजार १५१ मत प्राप्त गरे भने महतोले ५ हजार २४२ मत ल्याएका थिए।

उपाध्यक्षमा नागरिक उन्मुक्तिकै लालमती देवी कठरियाले एमालेकी गीता चौधरीलाई पराजित गरिन्। कठरियाले ६ हजार ५६२ र चौधरीले चार हजार ८५८ मत पाइन्। नागरिक उन्मुक्तिले जानकीमा ९ मध्ये पाँच वटा वडा जितेको छ।

पार्टी अध्यक्ष श्रेष्ठ आफूहरू चुनावको तयारीमा बलियोसँग लागेको बताउँछिन्। ‘हामी तराईदेखि पहाड, हिमालससम्मै संगठन विस्तारमा लागिरहेका छौं। हामी संसद्मा प्रभावकारी उपस्थिति जनाउने तयारीका साथ चुनावमा होमिनेछौं। त्यसले मात्रै हाम्रा माग र मुद्दा सुनुवाइमा सहज हुने विश्वास छ,’ उनले भनिन्।

कसैप्रति राजनीतिक प्रतिशोध नराखेर राजनीतिमा होमिएको श्रेष्ठको दाबी छ। ‘आरजु देउवा उठेको ठाउँबाट चुनाव लडेर उहाँसँग मैले कुनै राजनीतिक प्रतिशोध साँध्नु छैन। तर कतिपयले आरजु उठेकै ठाउँबाट रञ्जिता उठ्ने भनेर भ्रम फैलाइरहेका छन्। त्यो चुनावी प्रोपोगान्डा मात्रै हो। हामी राजनीतिक संस्कार स्थापित गर्न चाहन्छौं,’ उनी भन्छिन्।

साथै, पति रेशम चौधरीको मुद्दा राजनीतिक भएकाले त्यसलाई त्यही रूपमा हेर्नुपर्ने उनको जिकिर छ।  यस्तो अवस्थामा कुनै पनि राजनीतिक दलसँग आफ्नो एकीकरण नहुने उनले बताइन्। रेशम चौधरी अल्पसंख्यकका लागि लड्ने व्यक्ति भएकाले राज्यले उनीमाथि अन्याय गरेको दाबी गर्दै श्रेष्ठले तत्काल न्याय दिनुपर्ने बताइन्।

के भन्छन् सामाजिक क्षेत्रका जानकार?

शिक्षासेवी एवं सामाजिक क्षेत्रका जानकार डा. हेमराज पन्त टीकापुर घटनाको छिनोफानो अदालतमा झुन्ड्याएर राख्न नहुने बताउँछन्। त्यसले एउटा समुदायले आफूहरूमाथि राज्यको ज्यादती भएको ठहरिने हुने उनको भनाइ छ।

‘नेपालमा संघीयता आउँदा जनतालाई थुप्रै सपना बाँडिएको थियो तर अहिले त्यो पूरा हुन सकेन। यसले गर्दा ‘ओभरल डेमोक्रेसी’माथि प्रश्न उठिरहेको छ। त्यसैको उपजस्वरुप क्षेत्रीय पार्टी जन्मिने र उदाउने, धार्मिक संगठनहरू हाबी हुने हुन्छन्। यसप्रति राज्य समयमै गम्भीर हुनुपर्छ,’ उनले भने।

डा. पन्त आमजनताको समस्या समाधानमा सरकारले ध्यान दिन नसकेको बताउँछन्। मुलुकमा नयाँ व्यवस्था लागू भएको १० वर्षसम्म पनि जनताले त्यसको प्रत्याभूत गर्न नसक्दा असन्तुष्टि बढेको उनको बुझाइ छ। ‘महँगीको समस्या उस्तै छ। बेरोजगारीको दुःख उस्तै छ। विदेश पलायन हुने युवाको लर्को पनि उस्तै छ। आखिर नयाँ शासनसत्ताले हामीलाई के दियो भनेर जनताको मनमा प्रश्न उठिरहेको छ। यसैको प्रतिफलस्वरुप पुनः मुलुकमा अस्थिरताको बादल मडारिने जोखिम बढेको छ। त्यसैले जनताका समस्या सम्बोधन गर्नुका साथै सरकारले विकास निर्माणका काममा ध्यान दिनुपर्छ,’ उनले भने।

प्रकाशित: Sep 10, 2022| 10:50 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...