काठमाडौं– नेपाली चलचित्र ‘नालापानी’को ओएसटी भिडियो सार्वजनिक गरिएको छ। तिहार अवसर पारेर ४ कात्तिकमा रिलिज हुने यो चलचित्रको ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ।
चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्रका निर्देशक रिमेश अधिकारी हुन् ।
सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो।
वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको निर्देशक अधिकारीले बताए। चलचित्रमा नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकाले विद्यार्थी तथा देशका उच्च ओहोदामा बसेकाले पनि ‘नालापानी’ हेर्नुपर्ने निर्माण पक्षको सुझाव छ।
चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।
प्राडा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद् प्राडा. धनराज कुँवर, प्राडा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्राडा. सुरेन्द्र केसी, पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातहरूसँग पटक–पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको जनाइएको छ।
चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सारिता राजोपाध्याय, लक्ष्मी नाथको अभिनय रहेको छ।
यस्तै, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिष शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकार एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ।
रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस् प्रालि, गंगानारायण फिल्म प्रोडक्सन प्रालि र बिजी बी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण ‘नालापानी’मा भीएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ।
राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्यको स्वर छ।
‘नालापानी’का एसोसियट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन्।