काठमाडौं- राजधानीबाट प्रकाशित पत्रपत्रिकाले शनिबार विविध राजनीतिक, सामाजिक र आर्थिक विषयलार्इ प्राथमिकतामा राखेर पहिलो पृष्ठमा प्रकाशित गरेका छन्।
शनिबार प्रकाशित प्रायजसो पत्रिकाहरुमा शुक्रबार सम्पन्न विमस्टेकको विषयलार्इ महत्वकासाथ प्रकाशन गरेका छन्। आजको कान्तिपुर, नागरिक दैनिक र अन्नपूर्ण पोष्टले सन् २०३० सम्म गरिबी हटाउने वाचा शिर्षकमा समाचार प्रकाशित गरेका छन्। त्यसैगरी नयाँ पत्रिका दैनिक र हिमालयन टायम्सले भने काठमाडौं- रक्सौल रेलमार्ग शिर्षकमा पहिलो पृष्ठमा समाचार छापेका छन्।
कञ्चनपुरमा फेरी १६ वर्षीय किशोरी बलात्कृत भएको विषयलार्इ अन्नपूर्ण पोष्ट र नागरिक दैनिकले पहिलो पृष्ठमा स्थान दिएका छन्। १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ की १६ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन्। बलात्कार गर्ने चारै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी रेडियो नेपालका पहिलो गायक, गीत, संगीत र अभिनयका त्रिवेणी हरिप्रसाद रिमालको निधनको समाचारले प्राथमिकता पाएको छ। त्यसैगरी निर्मला पन्तका सहपाठीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ लेखेको पत्रलार्इ पनि प्राथमिकताका साथ अन्नपूर्ण पोष्ट र नागरिक दैनिकले 'प्रधानमन्त्रीज्यू न्याय कहिले मिल्छ?' शिर्षकमा पहिलो पृष्ठमा छापेका छन्।
बिम्स्टेक शिखर सम्मेलनले यस क्षेत्रको गरिबी र पछौटेपन अन्त्य गर्ने संकल्प गरेको छ। आपसमा ‘अर्थपूर्ण र सम्मानजनक सहकार्य’ गर्ने वाचासहित सम्मेलनले १८ बुँदे घोषणापत्र जारी गरेको उल्लेख गरेको खबर अन्नपूर्ण पोस्टमा छ।
बिहीबार राजधानीमा आरम्भ भएको बिम्स्टेक शिखर सम्मेलनले अबको युग एसियाको भन्दै आपसमा सम्मानपूर्वक सहकार्यमा जोड दियो। शुक्रबारको समापनमा सदस्य मुलुकहरूले आउँदो १२ वर्षमा यस क्षेत्रको गरिबी पूर्णतः अन्त्य गर्ने वाचा गरे। गरिबी अन्त्यको यस्तो वाचा बिम्स्टेकका सदस्य मुलुकले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मार्फत तीन दशकअघि नै गरेका थिए।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चांैथो सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गरे। श्रीलंकाले आगामी शिखर सम्मेलन आयोजना गर्नेछ।
नयाँ पत्रिका दैनिकले विदेशमा चम्किँदै नेपाली ब्राण्ड शिर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ। नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ। तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन्। वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ। गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ। हिमालयन जाभा विदेशमै आउटलेट खोल्न व्यस्त छ। यसै वर्ष बाजेको सेकुवा अमेरिका पुग्योलगायतका प्रसंग नयाँ पत्रिका दैनकमा छन्।
त्यसैगरी नेपाल–भारतबीच काठमाडौं–रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ। प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भएको द्विपक्षीय छलफलपछि समझदारीपत्र आदानप्रदान भएको हो।
प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमणमा यससम्बन्धी सहमति भएको थियो। समझदारीपत्रमा एक वर्षभित्र प्रतिवेदन दिने गरी भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडलाई सर्भे गर्ने जिम्मा दिइएको छ। शुक्रबारै प्रधानमन्त्री ओली र मोदीले भारतद्वारा निर्मित पशुपति धर्मशालाको संयुक्त उद्घाटन गरे । चार सय शैया भएको धर्मशाला २२ करोड नेपाली रुपैयाँमा निर्माण भएको हो।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन्। बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको हो ।चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए। त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए। उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए।
युवकले फोन गरेर बोलाउँदा किशोरीको घरमा पूजा चलिरहेको थियो। फोन आएपछि छोरी दौडिँदै सडकतिर गएको उनका बाबुले प्रहरीलाई बयान दिएका छन्। बलात्कारमा संलग्नमध्ये दुई युवकलाई किशोरीले चिनेको बताएकी छिन्। फरार चारैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। पीडित परिवार र स्थानीयले मध्यरातमा घरबाटै अपहरण शैलीमा लगेर बलात्कार गर्नेलाई कारबाहीको माग गरेका छन्। घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत पनि शुक्रबार घटनास्थल पुगेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४