भैरहवा- रुपन्देहीको भैरहवा र त्यस आसपासको क्षेत्रमा यतिबेला लाखे नाचको प्रस्तुति सर्वसाधरणकोलागी आकर्षण बन्दै गएको छ। नेवाखल सिद्धार्थनगरको आयोजनामा तानसेन पाल्पादेखी आएका कलाकार किरण चित्रकारको १८ सदस्यीय टोलीले भैरहवा बजारको मुख्य केन्द्र ब्रमेलीटोल, नारायणस्थान, नयाँ सडक, मैत्रीपथ, हाटबजारमा प्रदर्शन गर्दा केही बेर ट्राफिक व्यवस्थापनमा समेत कठीनाई भएको थियो।
लाखे नाच सिद्धार्थ नगरपालिकाबाट शुरु भई बेथरी, बेलहियासम्म पुगेको नेवाखलः सिद्धार्थनगरका उपाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए। भैरहवाका पर्यटकीय होटल पवन, रेडसन, नान्स, लाकौलमा पनि होटल सन्चालकले नै लाखे नाच प्रस्तुति गरिदिन आग्रह गरेका थिए। नेवाखलका अध्यक्ष सुर्वणमनि शाक्यले भने, ‘यहांका पर्यटक बस्ने होटलहरु पनि लाखे नाचकोलागी आग्रह गरेका छन् हामीले त्यो समय मिलाउदैं छौं। ’ भैरहवामा किसोर कुमार श्रेष्ठको संयोजकत्वमा लाखे नाच भईरहेको छ ।
विगत ५ वर्षदेखी भैरहवामा लाखे नाच हुँदै आएको छ। विगतमा नेवार समुदायले मात्रै चासो दिने र रुचाउने यो नाच पछिल्लो समय सबै जाती, धर्म, समुदायले चासोपूर्वक सहभागीता समेत जनाउने गरेको देखिन्छ।
काठमाण्डौंमा इन्द्रजात्रा र कुमारी जात्राको बेला प्रदर्शन गरिने लाखे नाच खासगरी गाइजात्रको भोलीपल्टदेखि कृष्ण अस्टमीको मध्यरात सम्म गरिने ईतिहासवीद विजय सागर बताउँछन्। लाखे नाचको बारेमा ईतिहासवीद सागरले प्रस्टाउँदै भने, 'लाखे नाचको प्रचलन विक्रम सम्बत १४०० देखी १५०० को घटनाबाट भएको हो। तत्कालिन समयमा काठमाडौंमा रन्जितकार थरकी एक युवतीसँग राक्षसको माया प्रेम बस्यो। ऊ त्यसपछि मान्छेको भेष गरी साँझ आउने रातभरी बस्ने र अर्कोदिन बिहानै जाने गर्दथ्यो। त्यतिबेला काठमाडौंमा नुवाकोटे ठकुरीको शासन व्यवस्था थियो। यो कुरा एकान दुइकान हुदैं राजाहरुका पनि पुग्यो। पछि राजाहरुले त्यसलाई पक्रिने आदेश दिए लगत्तै तान्त्रीक शक्तिको बलमा ऊ पक्रियो। त्यसपछि उ अनुनय विनय गरेर धेरै रोइकराई गर्यो। राजाहरुले हरेक इन्द्रजात्राको दिन मुकुण्डो लगाएर नाच्न आउने शर्तमा उसलाई छाडिदिए। त्यसपछि ईन्द्रजात्रामा यो प्रचलन शुरु भयो।'
गाईजात्राको भोलीपल्टदेखि शुरु हुने लाखे नाच कृष्णअस्टमीका मध्यरातमा भगवतिले लाखे (राक्षस) लाई मारेपछि समाप्त हुने किवंदन्ती छ। भैरहवामा नेवार जातिको जनघनत्व कमि भएपनि सांस्कृतिक पर्वका दृष्टिले अन्यत्र झैं बढी प्रभावकारी हुँदै गएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४