काठमाडौं- निहारिका राजपुत प्रकरणमा जोडिएका शिवराज श्रेष्ठ पक्राउ परेको २३ दिनपछि छोड्न प्रहरी बाध्य भएको छ। साउन ३१ गते प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका शिवराजलाई प्रहरीले २३ दिनपछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरे जानकारी दिए।
उनले भने, 'अभद्र व्यवहारमा पक्राउ गरी उनीमाथि अनुसन्धान गरिएको हो। अनुसन्धानपछि उहाँलाई साउन २३ मा धरौटीमा रिहा गर्न जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा गरिएको छ।'
उनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न प्रशासनले आदेश दिएको थियो। यसअघि निहारिका राजपुतले दायर गरेको मुद्दामा उच्च अदालत जनकपुरले भदौ ८ गते डीएनए गर्न आदेश दिएको थियो। उक्त आदेश कार्यान्वयका लागि अदालतले जिल्ला प्रहरी कार्यालयमा पत्र आइ नपुगेको र म्याद थप पनि नभएकोले २३ दिनमा रिहा गरिएको हो।
अदालतबाट छुटेपछि बिहीबार उच्च अदालतमा पुगेर उनले डीएनएबारे बुझ्न अदालत गए पनि अदालतले भने सबै प्रक्रिया अब उच्च सरकारी वकिल कार्यालयबाट हुने भन्दै त्यहीँ पठाइदिएको थियो। तर, शिवराज सरकारी वकिल कार्यालयमा उपस्थित नभएको सहायक न्यायाधिवक्ता यदुनाथ शर्माले जानकारी दिए।
उनले भने, 'उहाँ आज हाम्रो सम्पर्कमा आउनु भएन। हामी प्रहरीसँग पनि समन्वय गरेर अदालतको आदेशअनुसार डीएनए परीक्षणका गराउनेछौं।'
निहारिका राजपुतले शिवराजले आफूलाई बलात्कार गरेर जन्मिएको बच्चा उनको भएको भन्दै डीएनए परीक्षण गर्न माग गरेकी थिइन्। उनको माग अनुसार नै उच्च अदालत जनकपुरले डीएनए परिक्षण गर्न आदेश दिएको थियो।
जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका श्रेष्ठविरुद्ध उच्च अदालतमा मुद्दा विचाराधीन छ।
उनलाई साउन ३१ मा प्रहरीले पक्राउ गरेसँगै आफू डीएनए गर्न राजी भएको बयान दिएका थिए। अदालतले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा पठाएर बच्चा र शिवराजको डीएनए गरी परीक्षण प्रतिवेदन अदालतमा पेश गर्न आदेश दिएको छ।