काठमाडौं- भारतीय सेना प्रमुख मनोज पाण्डे आफ्नो पाँच दिने औपचारिक भ्रमण सकेर बिहीबार साँझ स्वदेश फर्किएका छन्। प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भदौ १९ गते काठमाडौं ओर्लिएका पाण्डे बिहीबार स्वदेश फर्किएका हुन्। भारतीय सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीले बिदाई गरेका थिए।
नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने विशिष्टिकृत एवं ऐतिहासिक परम्परा छ। सोही परम्पराको निरन्तरता स्वरुप राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेकी हुन्।
सोही दिन जनरल पाण्डेको सम्मानमा नेपाली सेनाका प्रधान सेनापति शर्माले जंगी अड्डामा रात्रीभोज आयोजना गरेका थिए। उक्त रात्रीभोजमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरु तथा पूर्व प्रधान सेनापतिहरुको समेत उपस्थिति रहेको थियो।
भ्रमणकै दौरान जंगी अड्डामा प्रधान सेनापति महारथी शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच औपचारिक भेटवार्ता भएको थियो। उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको थियो।
भारतीय सेनाध्यक्ष पाण्डेले मंगलबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। सिंहदरबारमा भएको उक्त भेटमा दुई मुलुकका सेनाहरुले गरेको योगदानका विषयमा चर्चा भएको थियो।
मंगलबार बिहान भारतीय सेनाध्यक्ष पाण्डे सगरमाथा आधार क्षेत्र नाम्चेको माउन्टेन फ्लाइट गरेका थिए। उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टको समेत भ्रमण गरेका थिए।
उनी बुधबार पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न मुस्ताङ पुगेका थिए। भारतीय सेनाध्यक्ष पाण्डेको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाको छ।