काठमाडौं– नेपाल चलचित्र संघले आगामी सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको छ। संघको कार्यसमिति बैठकले बिहीबार यस्तो निर्णय गरेको हो।
संघले सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरेको हो। चलचित्र निर्माता संघले शुक्रबारमात्रै फिल्म प्रदर्शन सुरुगर्ने निर्णय गरेपछि चलचित्र संघले हल बन्दको निर्णय गरेको हो।
कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।
‘हाम्रा सदस्यमाथि यस प्रकारका अनर्गल आरोप, बाधा र अवरोधहरु कायम रहे अझ कडा आन्दोलनमा जाने चेतावनी पनि दिन्छौं,’ विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा संस्थाका सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति सांकेतिक विरोधको कार्यक्रम घोषणा भएको जनाएको छ। सोही कुराको विरोध गर्न भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय भएको बताइएको छ।
कोरोनाबाट भर्खर तंग्रिन खोजेको स्वतन्त्र चलचित्र आयातलाई अवरोध गर्ने तथा नियन्त्रण गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ। चलचित्र ‘ऐना झ्याल पुतली’ र ‘गोर्खा’ चलचित्रको अग्रिम टिकट बुकिङ नगरेको भन्दै चौतर्फी विरोध भएपछि संघले विज्ञप्ति निकालेर सोमबार हल बन्द गर्ने निर्णय गरेको हो।