नयाँ दिल्ली- भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भका रूपमा रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहनुभएका पाण्डेले बुधबार पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
कर्तव्यनिष्ठ र इमान्दारी नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उनले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताए। भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायतका सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उनले बताए।
भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उनले जानकारी दिए। नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुला सिमानाका कारण दुवै देशका नागरिक सहजरूपमा आवतजावत गर्दै आएको उनले बताए।
उक्त अवसरमा उनले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकका परिवारजनलाई नगद, चेक तथा सामग्री हस्तान्तरण गरे। साथै उनले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीन वटा मोबाइल मेडिकल युनिटको चाबी हस्तान्तरण गरे। कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग भेट गरेका थिए।