काठमाडौं- अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी अनुदान सहायतासम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ। वाशिङ्टनस्थित नेपाली दूतावासका अनुसार राजदूत खत्री र एमसीसी सहायक उपाध्यक्ष ब्रुक्सबीच १ सेप्टेम्बरमा भेटवार्ता भएको हो।
ब्रुक्स एमसीसीका लागि युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकाका हेर्ने सहायक उपाध्यक्ष हुन्। उक्त भेटवार्ताका क्रममा नेपालमा एमसीसीको कार्यान्वयनका विषयमा छलफल भएको दूतावासले जनाएको छ।
ब्रुक्स गत वर्ष भदौ अन्तिम साता एमसीसी अनुमोदनका लागि आग्रह गर्न र यसबारेको भ्रमलाई स्पष्ट पार्न नेपाल आएका थिए। सरकारले गत फागनु १५ गते प्रतिनिधि सभाबाट एमसीसी कार्यान्वयनका लागि अनुमोदन गरिसकेको छ।
नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना अन्तर्गतका आयोजना कहिलेदेखि सुरु हुन्छन् भन्ने बारेमा आम मानिसमा जिज्ञासा छ। लामो बहस र विवादपछि अनुमोदन भएको सो परियोजना कार्यान्वयनको तयारीका कामहरु नियमित रुपमा नै अगाडि बढिरहेको नेपालस्थित एमसीए नेपालले जनाएको छ।
एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले पूर्व तयारीको काम भइरहेको जानकारी दिएका हुन्। वातावरणीय प्रभाव मूल्यांकनको काम यसैबीचमा सम्पन्न भएको छ। तीन वटामध्ये एक सवस्टेशन रहने नुवाकोटको रातमाटेस्थित जग्गाको मुआब्जा वितरणको काम करिब सकिएको छ। यस्तै, रुख गणना तथा अन्य काम जारी छ भने सवस्टेशन निर्माण हुने तनहुँको दमौली र न्यू बुटबलको पनि डिजाइन एवं ड्रइङको काम भइरहेको छ। निर्माण व्यवसायी छनोटका लागि गर्नुपर्ने पूर्व तयारीको काम पनि जारी रहेको कार्यकारी निर्देशक विष्टले जानकारी दिए।
आगामी मङ्सिर पुसभित्र सक्ने गरी ठेकेदार छनोटका लागि आवश्यक काम भइरहेको छ। ठेकेदार छनोटका लागि कम्तीमा पनि १८० दिनको समयसीमा निर्धारण गरेर अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने व्यवस्था छ। त्यसभन्दा पहिल्यै आयोजनास्थल तयार बनाउनुपर्नेछ।
काठमाडौंको नाङ्लेभारदेखि सुरु हुने चार सय किलोभोल्ट क्षमताको प्रसारण लाइन नुवाकोटको रातमाटे जान्छ। रातमाटेबाट एउटा लाइन मकवानपुरको हेटौँडा जान्छ, भने अर्को लाइन दमौली हुँदै बुटवल जान्छ। ती सबै प्रसारण लाइन कूल तीन सय १५ किलोमिटर बराबर रहनेछ।
कूल १० जिल्लाका ३० स्थानीय तह र त्यसका ९६ वटा बडा भएर जाने सो प्रसारण लाइनमा मात्रै कूल दुई लाख १२ हजार बराबरको रुख बिरुवा हटाउनुपर्नेछ। नेपालको हकमा एउटा प्रसारण लाइनको एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना बराबर हुने भएकाले पनि पूर्व तयारीको काममा धेरै समय लागेको उनको भनाइ छ।
एमसीसीले उपलब्ध गराउने कूल ५० करोड अमेरिकी डलर बराबरको अनुमादन पाँच वर्षभित्र तोकिएको काममा खर्चै गर्नुपर्ने समयसीमा छ। सोही समयसीमा सुरु हुनुभन्दा पहिले नै आवश्यक पूर्व तयारीको काम सम्पन्न गर्न लागिएको कार्यकारी निर्देशक विष्टले जानकारी दिए। उनले आयोजना कार्यान्वयनको पाँच वर्षे गणना भने सन् २०२३ को अगस्टदेखि सुरु हुने गरी समयसीमा निर्धारण गरिएको छ।
नेपालको प्रसारण प्रणालीको केन्द्रमा रहने गरी निर्माण गर्न लागिएको सो प्रसारण प्रणालीले झण्डै तीन हजार मेगावाट बिजुली प्रवाह गर्न सक्ने छ। पूर्वमा तामाकोसी करिडोरदेखि पश्चिममा कालीगण्डकी करिडोरसम्मको बिजुली प्रवाहका लागि संरचना तयार पार्न लागिएको हो।