शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लघु बिमालेख साढे ३ गुणा बढ्दा व्यावसायिक हिस्सा २ प्रतिशत मात्रै

लघु बिमालेख साढे ३ गुणा बढ्दा व्यावसायिक हिस्सा २ प्रतिशत मात्रै

निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल ३९ अर्ब १९ करोड ९९ लाख ८९ हजार बिमा शुल्क आर्जन गर्दा लघुबिमाबाट मात्रै ४८ करोड ४७ लाख ४१ हजार ५८४ रुपयाँको लघुबिमा व्यावसाय गरेका छन्। जुन निर्जीवन बिमा कम्पनीको कुल बिमा व्यावसायको १.२३ प्रतिशत मात्रै हो।
 |  बुधबार, भदौ २२, २०७९

भीमा पन्थी

भीमा पन्थी

बुधबार, भदौ २२, २०७९

काठमाडौं- लघु  बिमालेखको बिक्रि दर आर्थिक वर्ष ०७८-०७९ मा साढे तीन सय प्रतिशतले बढ्‍यो। बिमा समितिका अनुसार गत वर्ष कुल ४१ लाख ७६ हजार बिमा पोलिसि बिक्रि भएको हो। जुन ०७७-०७८ को तुलनामा ३६७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको अन्तिममा आउँदा सक्रिय बिमालेख ११ लाख ३७ हजार ८३३ मात्रै थिए।

triton college

जीवन बिमातर्फ कुल ४१ लाख १४ हजार १९१ बिमालेख जारी भएका हुन् भने निर्जीवन बिमालेख ६१ हजार ८०८ जारी भएको देखिन्छ। उक्त बिमालेखको तथ्यांकमा असारमा कम्पनीहरुमार्फत बिक्री भएबाहेक पुलमार्फत्(लघुबित्त) बिक्री भएका बिमालेखको संख्या थप हुनसक्ने बताइएको छ। 

उक्त जारी बिमालेख चार अर्ब रुपैयाँ भन्दा बढीका हुन्। प्राप्त तथ्यांक अनुसार गत आर्थिक वर्षमा चार अर्ब ५८ लाख ८० हजारभन्दा बढी रकमको लघुबिमा भएको देखिन्छ। जुन अघिल्लो वर्षको भन्दा ३१ दशमलव २४ प्रतिशत कम हो। अघिल्लो वर्ष कुल ५ अर्ब ८२ करोड ६२ लाख ११ हजार बढीको लघुबिमा भएको थियो। 

उपलब्ध तथ्यांकले लघुबिमालेखको संख्यात्मक वृद्धि देखिएपनि बिमा शुल्कमा भने गिरावट आएको देखाउँछ। 

दुई प्रतिशतमात्रै लघु बिमाको व्यावसायिक हिस्सा

corrent noodles
Metro Mart

बिमा कम्पनीहरुले कुल बिमा व्यवसायको मात्रै दुई प्रतिशत लघुबिमा व्यावसाय गरेका छन्। समीक्षा अवधिमा भएको करिब ४ अर्ब ५९ लाख बढीको लघुबिमा व्यावसाय कम्पनीहरुको कुल व्यवसायको २.२५ प्रतिशत मात्रै हो। कम्पनीहरुले गत वर्ष कुल १ खर्ब ७७ अर्ब ८१ करोड ४ लाख ९९ हजारको कारोबार गरेका हुन्। 

जीवनबिमा कम्पनीहरुले कुल १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख १० हजारको व्यवसाय गर्दा लघु बिमा व्यवसाय ३ अर्ब ५२ करोड ११ लाख १९ हजारको गरेका छन्। जुन कुल व्यावसायको २.५३ प्रतिशत हो।

निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल ३९ अर्ब १९ करोड ९९ लाख ८९ हजार बिमा शुल्क आर्जन गर्दा लघुबिमाबाट मात्रै ४८ करोड ४७ लाख ४१ हजार ५८४ रुपयाँको लघुबिमा व्यावसाय गरेका छन्। जुन निर्जीवन बिमा कम्पनीको कुल बिमा व्यावसायको १.२३ प्रतिशत मात्रै हो।

 सरकारको लक्ष्य प्राप्त नभएपछि...

सरकारले २०७५-०७६ को बजेटमा सबै बिमा कम्पनीहरुले आफ्नो कुल व्यवसायको १० प्रतिशत लघुबिमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो। ग्रामीण एवम् दुर्गम भेगमा बसोबास गर्ने र कम आय भएका नागरिकलाई बिमाको पहुँचमा ल्याउने गरि दुई वर्षको समयावधि दिएर सरकारले सो व्यवस्था गरेको थियो। तर बिमा व्यवसाय गर्दै आएका बिमा कम्पनीहरुले सरकारको उक्त लक्ष्य पूरा नगरेपछि बिमा समितिले लघुबिमा कम्पनी सञ्चालनमा ल्याउने पक्रिया अगाडि बढाएको छ। बिमा समितिले जीवन लघुबिमा कम्पनी ४ र निर्जीवन लघुबिमा कम्पनी ३ वटा स्थापना गर्ने गरी प्रकृया अगाडि बढाएका हुन्। 

न्यून आय भएका तथा पिछडिएका सीमान्तकृत वर्गहरूको जीवन तथा सम्पत्तिको जोखिमविरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले समितिले काठमाडौं उपत्यका बाहिर लघुबीमा कम्पनीको कार्यालय रहने गरी सातवटा प्रदेशमा १-१ वटा लघुबीमा कम्पनी स्थापना गर्न समितिले सूचना प्रकाशित गरिसकेका छन्।

बिमा समितिले ०७१ सालमा नै लघुबिमा निर्देशिका जारी गरेर कम्पनीहरुलाई लघुबिमा पोलिसी बिक्री गर्न निर्देशन दिएको थियो। त्यसपश्चात जीवन बिमा र निर्जीवन बिमा कम्पनी लघु बिमाका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। जीवन बिमा व्यवसाय गर्नेले जीवन लघु बिमा र निर्जीवन बिमा व्यवसाय गर्दै आइरहेका बिमा कम्पनीले निर्जीवन बिमा व्यावसाय गर्दै आइरहेका छन्। 

लघु जीवन बिमा अन्तर्गत आवधिक, म्यादी र समितिले तोकिदिए बमोजिमको व्यावसाय कम्पनीले गर्दै आइरहेका छन्। त्यस्तै, निर्जीवन बिमा व्यावसाय गर्ने कम्पनीहरुले सम्पत्ति, घर, दुर्घटना, स्वास्थ्य, घातक रोगका साथै कृषिसम्बन्धी कार्यक्रम समितिले तोकेबमोजिम सञ्चालन गर्दै आइरहेका छन्। व्यवसायका लागि कम्पनीले समितिबाट भने स्वीकृत तथा तोकेबमोजिमको व्यवसाय मात्रै गर्न पाउने व्यवस्था छ।

लघुबिमा पोलिसी बिक्री गर्दा कम्पनीहरूको सञ्चालन खर्च अत्याधिक हुने हुँदा पुल निर्माण गरी लघुबिमा योजना बिक्री–वितरण गर्दै आएका छन्। बिमक संघको व्यवस्थापन, विदेशी सहयोगी संस्था सक्षमको प्राविधिक सहयोग र बिमा समितिको नेतृत्वमा लघुबिमा पुलको निर्माण गरिएको हो। जसअनुसार लघुवित्त संस्थाले बिमा अभिकर्ताका रूपमा काम गर्दै आएका छन्। जसवापत लघुवित्तलाई १५ प्रतिशत कमिसन र १० प्रतिशत व्यवस्थापन खर्चको समेत व्यवस्था गरिएको छ। अभिकर्ता लघुवित्तमार्फत जारी भएको बिमा पोलिसीबाट प्राप्त शुल्क पुलमा संकलन गरिन्छ। वर्षको अन्त्यमा सबै कम्पनीलाई समान रूपमा आम्दानी र भुक्तानीको वितरण गरिदै आएको छ। 

बिमा समितिले पहिला विभिन्‍न सात प्रकारका लघुबिमा पोलिसी निर्माण गरी जीवन तथा निर्जीवन बिमा कम्पनीहरूलाई बिक्री गर्न निर्देशिन दिएको थियो। कम्पनीहरूले अधिकतम दुई लाख रुपैयाँसम्मको लघुबिमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरेको थियो। 

पछि समितिले लघुबिमा निर्देशिका २०७१ लाई २०७५ मा संशोधन गर्दै पाँच लाख रुपैयाँसम्मको लघुबिमा पोलिसी बिक्री गर्न पाउँने व्यवस्था गर्‍यो। लघुबिमा कर्जाको अनिवार्य रूपमा लघुबिमा गर्नुपर्नेसमेत व्यवस्था गरिएको छ। उक्त निर्देशिका अनुसार तीन लाख रुपैयाँसम्मको जीवन लघुबिमा (सावधिक, म्यादी, अन्य) गर्न सकिनेछ। निर्जीवनअन्तर्गत सम्पत्ति र घर लघुबिमाको बिमांक रकम पाँच लाख रुपैयाँसम्म तोकियो। 

दुर्घटना बिमा तीन लाख, घातक रोग एक लाख, बाली तथा पशुपक्षी लघुबिमा दुई लाख रुपैयाँसम्म तोकिएको छ भने अन्य बिमा तीन लाख रुपैयाँसम्म तोकिएको छ। यद्यपी कम्पनीहरुले सरकारी उद्देश्य अनुरुप १० प्रतिशतको सीमा पूरा गर्न भने सकेनन्। 

प्रकाशित: Sep 07, 2022| 18:57 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्