काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन्। इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको बताएका हुन्।
इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र रहेको र यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धन गर्न काठमाडौं महानगरपालिकाले जावा अवलोकनका लागि देशभित्र बाहिरबाट पाहुना बोलाएको मेयर शाहले बताए।
'महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्राका औपचारिक कार्यक्रमहरू सुरु भइसकेका छन्। यसको एउटा विम्ब इन्द्रजात्रा क्या' पर्व हो। यसको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक पक्षको अन्तरघुलन अद्वितीय छ। धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दू र बौद्ध धमावलम्बीले एउटै पर्वलाई आफ्ना आफ्ना विधिबाट मनाउन दिएको सन्देश गहिरो छ,' शाहले भने।
उनले नेपाल देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदाहरू भएको बताए। 'हाम्रो देश पर्यटनको क्षेत्रमा धेरै अघि बढाउन सम्पदा संरक्षण गर्न सक्यौं भने मात्र पनि हामीले पर्यटनलाई धेरै माथि लान सक्छौं। हाम्रो राम्रो पक्ष के छ भने हाम्रा जात्रा पर्वहरू आफैंमा एउटा पूजाआजा मात्र नभएर मनोरञ्जनसँग पनि जोडिएको, उत्साह उमंगसँग पनि जोडिएकाले पनि त्यससँग पनि यसलाई जोड्दै जानुपर्छ,’ उनले भने।
उनले काठमाडौं भक्तपुर र ललितपुरमा रहेका जात्राहरूको छुट्टाछुट्टै महत्व रहेको बताउँदै सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने उल्लेख गरे।
यस्तै उपप्रमुख सुनिता डंगोलले ४० वटाभन्दा बढी गुठीहरूसँग सहकार्य गरेर इन्द्रजात्रा मनाउन लागेको जानकारी दिइन्।