काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरको प्रदेशसभा तथा संघीय निर्वाचनका लागि मतपत्र छपाइ थालेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिकाबमोजिम २० भदौदेखि मतपत्र छपाइ सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि छाप्न सुरु भएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिए। पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि ६ लाख मतपत्र छापिनेछ।
आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले बताएको छ। जनक शिक्षा सामग्री केन्द्रका अनुसार मंगलबार ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो।
जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ। आयोगका प्रवक्ता पौडेलले भने, ‘नमुना मतपत्र छपाइ सकिएलगत्तै समानुपातिकतर्फको मतपत्र डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ।’
आयोगले समानुपातिकतर्फको मतपत्रको डिजाइन अझै गरिसकेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को चुनाव चिह्न के हुने सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा आयोगलाई मतपत्र डिजाइन गर्न समस्या भएको थियो। तर सर्वोच्चले गाई चुनाव चिह्न माग गरेको राप्रपा नेपालको रिट खारेज गरेको छ।
यससँगै आयोगले राप्रपा नेपाललाई प्रदान गरेको चुनाव चिह्न तीर नै कायम हुने भएको छ। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अदालतको आदेशपछि चिह्न कायम गर्न र मतपत्र छपाइको अवरोध हटेको बताए।
४ मंसिरमा हुने आमनिर्वाचनका लागि ५०३ प्रकारको करिब ८ करोड मतपत्र छापिनेछन्। आयोगको निर्वाचन शाखाका अनुसार समानुपातिकतर्फ ४ करोड र पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४ करोड मतपत्र छापिनेछन्। आयोगले आगामी चुनावमा करिब १ करोड ८० लाख मतदाता कायम हुने अनुमान गरेको छ। २५ असोजभित्र मतपत्र छापिसक्ने लक्ष्य आयोगको छ।