कभर फोटो मेलमा आउनेवाला छ।
काठमाडौं- सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ गते तोकेसँगै देशभर चुनावी माहौल तातेको छ। नेकपा एमालेबाट उद्योगी व्यवसायीहरु पनि प्रत्यक्ष चुनव लड्नका लागि मैदानमा उत्रने भएका छन्। कतिपय उद्योगी व्यवसायीको नाम सिफारिस भइसकेको छ। भने कतिपयको सिफारिस हुन बाँकी रहेको नेकपा एमालेले जनाएको छ।
एमालेका प्रचार विभाग प्रमूख पृथ्वीसुव्वा गुरुङले जिल्लाभरबाट कति उद्योगी व्यापारीको सिफारिस भएको भन्ने यकिन तथ्यांक पार्टी कार्यालयसम्म नआइपुगेको बताए। उनले भने, ‘प्रत्यक्ष वा समानुपातिक उमेदवारको लागि सिफारिस गर्ने समय भोलिसमम भएकोले सवै जिल्लाबाट सिफारिस भएको नामावली पार्टीको केन्द्रिय कार्यालयमा आइपुगेको छैन।’
कतिपय उद्योगी व्यवसायीहरु भने आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न मरिहत्ते गरेर लागिरहेका छन्। उनीहरु स्थानीय नेतादेखि केन्द्रका अध्यक्षलाईसम्म लाइन मिलाउन लागिपरेका छन्।
नेकपा एमालेको प्रत्यक्षतर्फ चुनाव लड्नका लागि पुर्व उद्योगमन्त्री एवं प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार मोतिलाल दुगड नेपाल उद्योग बाणिज्य महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष किशोरप्रधान, मार्सीका नामबाट चर्चित दुर्गाप्रसाद प्रसाई देखि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहसँग आफ्नो भवन अल्फाविटाको नक्सा मागेकोमा प्रख्यात द्धिराज शर्मासम्म लागिपरेका छन्।
पुर्व उद्योगमन्त्री समेत रहेका उद्योगी मोतिलाल दुगड मोरङबाट प्रत्यक्ष चुनाव लड्ने पक्षमा छन्। उनी स्थानीय नेताहरुलाई केन्द्रमा आफ्नो पठाउनका लागि आग्रह गर्दै विराटनगर गएर बुधबार काठमाडौ फर्केका छन्।
२०६४ सालमा सरिता गिरीले नेतृत्व गरेको सद्भावना पार्टीबाट दुगड सभासद् भएका थिए। २०७० सालमा उनले आफ्नो राजनीतिक दल खोलेका थिए। पछि उनले खोलेको दललाई एमालेमा गाभेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुगड तत्कालिन एमालेबाट समानुपातिक अन्तर्गत सांसद् भएका हुन्। उनी उद्योग, बाणिज्य तथा आपुर्ति राज्यमन्त्रीसमेत भएका थिए भने त्यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पमुख आर्थिक सल्लाहकार समेत नियुक्त भएका थिए। उनले दर्जनौ मारवाडी समुदायका व्यवसायीहरुलाई नेकपा एमालेमा प्रवेश गराएका थिए भने नेकपा एमालेलाई थापाथलीमा रहेको आफन्तको घर दिलाईदिएका थिए।
अध्यक्ष ओली नजिकै रहेकोले पनि आफूले यसपाली प्रत्यक्ष चुनावमा प्रतिष्पर्धा गर्नका लागि टिकट पाउने सम्भावना रहेको नजिककाहरुसँग बताउँदै आइरहेका छन्। तर उनले पार्टीले जुनठाउँबाट उमेदवार बन भन्छ सोही स्थानबाट आगामी निर्वाचनका लागि उमेदवार बन्ने बताएका छन्। उनी नेकपा एमालेको उद्योगविभाग प्रमूख पनि हुन्।
एमाले उद्योग विभागकै उपप्रमुख व्यवसायी दुर्गा प्रसाईंले पनि चुनावमा प्रत्यक्षबाट मैदानमा उत्रनका लागि तयारी थालिसकेका छन्। उनले झापा क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेका छन्। तर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीविच चुनावी तालमेल हुने भएपछि उनी समानुपातिकमा बस्नुपर्ने बाध्यता आउन सक्ने सम्भावना देखिएको छ। यदी राप्रपा र एमालेले चुनावी तालमेल गर्नपरेको खण्डमा झापाको क्षेत्र नम्वर ३ राजेन्द्र लिंङदेनलाई दिनुपर्ने भएकोले पनि प्रसाइलाई समानुपातिकमा रहन पार्टी अध्यक्ष ओलीले आग्रह गर्न सक्ने छन्।
तर प्रत्यक्ष वा समानुपातिक जताबाट भएपनि यसपालिको चुनाव मार्फत प्रतिनिधिसभामा जाने अडान भने उनले पार्टीसामु राखेका छन्। यसअघि उनी नेकपा माओवादीका कार्यकर्ता थिए। तर पछिल्लो समयमा नेकपा एमालेमा आएका उनी पार्टी अध्यक्ष ओलीलाई हजुरबाका रुपमा सम्बोधन गर्दछन्। उनको विषेषगरी मेडिकल क्षेत्रमा लगानी रहेको छ।
यदी झापाको क्षेत्र नम्वर ३ बाट उनी चुनावी मैदानमा उत्रिएमा उनले जित्ने जिल्ला नेताहरुको भनाई छ। यसअघि पनि एमालेले झापा ३ मा राप्रपासँग तालमेल गरेर राजेन्द्र लिंङदेनलाई जितेर कृष्णप्रसाद सिटौलालाई हराएका थिए। त्यस्तै सो क्षेत्रमा यसपालीको चुनावमा पनि राप्रपासँग तालमेल गर्ने पक्षमा नेकपा एमाले रहेको छ। जसले प्रसाई समानुपातिकको तर्फबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पर्ने सम्भावना देखिएको छ।
त्यस्तैगरी अर्का उद्योगी किशोर प्रधान मोरङबाटबाट समानुपातिक सभासदका लागि लविङ गरिरहेका छन्। नेपाल उद्योगबाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रधान २०७७ सालमा २३५ जना व्यवसायीसहित नेकपा एमालेमा प्रवेश गरेका थिए। एमालेमा प्रवेश गरेपछि प्रधानले केपी ओली नेतृत्वको सरकारमा नेपाल वायुसेवा निगममा संचालक पद पाएका थिए। उनी पोल व्यवसायी संघका अध्यक्ष समेत हुन्। प्रधानका अनुसार ‘समानुपातिकबाट संघीय सांसद चयनका लागि आफूले लविङ गरिरहेको जानकारी दिए। उनले भने,‘मैले मेरो तर्फबाट कुरा राखेको छु, पार्टीबाट पनि कुरा आइरहेको छ। अन्तिम निर्णय पार्टीले नै गर्छ हेरौ के हुन्छ ?।’उनी विराटनगरका व्यवसायी हुन् भने एमालेको उद्योग विभागका सदस्य समेत हुन्।
त्यस्तैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग आफूले संचालन गरेको अल्फाविटाको नक्सा माग गरी चर्चा र विवादमा आएका अल्फाबिटाका सञ्चालक द्विराज शर्मा शिवाकोटीले पनि प्रतिनिधि सभामा लड्ने तयारी गरेका छन्। उनले काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्न चाहेका छन्। उनको अल्फाविटाको पार्किङक क्षेत्रमा अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काउन थालेपछि मेयर साहसँग चर्काचर्की परेको थियो।
२ दशक बढी समयदेखि शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जालगायत क्षेत्रमा विभिन्न व्यवसाय गरी बसेको उनी चर्चित झापा विद्रोहका अभियन्ता शिवप्रसाद शिवाकोटीका छोरा हुन्। जसका कारण एमालेका अध्यक्ष ओलीसँग उनको निकट सम्बन्ध रहेकोले पनि उनले टिकट पाउने आश गरेका हुन्। नेकपा एमाले काठमाडौं क्षेत्र नं. १ ले द्विराज शर्मा शिवाकोटीसहित ५ जनालाई उम्मेदवारका रुपमा सिफारिस गरिसकेको छ। उनी पार्टीले टिकट दिएमा लड्न तयार रहेको बताउँछन्। उनले आफ्नो राजनीति विरासत पनि रहेकोले राजनीतिमा आएर जनताको सेवा गर्न चाहेको पनि बताए।
त्यस्तै झापा क्षेत्र ४ मा व्यवसायी लाल प्रसाद (एलपी) साँवा लिम्बू सिफारिस भएका छन्। उनी हाल सोही क्षेत्रको प्रतिनिधि गर्दै प्रतिनिधिसभाका सदस्य छन्। बैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष समेत रहेका उनी गत चैतमा नेकपा एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको सर्वसम्मत अध्यक्ष समेत चुनिएका थिए। २०७४ को निर्वाचनमा लिम्बूले नेपाली कांग्रेसका देउकुमार थेवेलाई भारी मतले पराजित गरेका थिए। थेवेले २६ हजार ८२२ मत ल्याउँदा उनले ४३ हजार ५१५ ल्याएर जितेका थिए। उनी ग्लोबल अलाइन्स कन्सलटेन्सी प्रालिका सञ्चालक पनि हुन्। उनले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेका छन्।
दक्षिण एसियाकै ठूलो स्या फार्म खोलेको मनाङका अर्का व्यवसायी पोल्देन छोपाङ गुरुङ पनि प्रतिनिधिसभाका लागि जिल्लाबाट सिफारिस भएका छन्। वर्तमान सांसद गुरुङ २३ सय मत ल्याई विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वमन्त्री टेक बहादुर गुरुङले २ हजार २१ मत ल्याएका थिए। उनले एमालेमा प्रवेश गरेको जम्मा ९ बर्षमात्र पुगेको छ। २०७० को संविधानसभा निर्वाचनपछि एमाले प्रवेश गरेका पोल्देन चर्चित स्याउ उत्पादक व्यवसायी हुन्।
त्यसैगरी पर्सा जिल्लाको क्षेत्र नम्वर २ बाट निर्वाचनमा उमेदवारी दिने मनसायमा रहेका व्यवसायी विजयी सरावगी र क्षेत्र नम्वर १ बाट बसरुद्दिन अन्सारीको तयारी रहेको छ।
सरावगी विरगंज महानगरका पुर्व मेगरहुन् भने वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्। गत स्थानीय निर्वाचनमा पराजित भएका थिए।
त्यस्तै बसरुद्दिन मेडिकल व्यवसायी हुन्। नेशनल मेडिकल कलेजका सञ्चालक उनी अघिल्लो महानगरको निर्वाचनमा पराजित भएका थिए।