शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एनपी साउद र रमेश लेखकलाई कञ्चनपुर कति सहज?

स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत पालिकामा कब्जा जमाएकाले आउँदो चुनावमा जुन क्षेत्रबाट उठे पनि साउद र लेखकलाई जित्न सहज हुने देखिन्छ।
 |  मंगलबार, भदौ २१, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

मंगलबार, भदौ २१, २०७९

काठमाडौं– नेपाली कांग्रेसभित्र रमेश लेखक र एनपी साउद प्रभावशाली नेता मानिन्छन्। कञ्चनपुर निर्वाचन क्षेत्र भएका दुवै नेताको पार्टीमा विशेष भूमिका रहँदै आएको छ। लेखकले पार्टीभित्र कानुनीदेखि बौद्धिक क्षेत्रमा दख्खल राख्दै आएका छन्। साउद सांगठनिक क्षेत्रमा दख्खल राख्छन्।

triton college

लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर– ३ हो। साउद क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका छन्। २०७४ को निर्वाचनमा दुवै नेता पराजित भएका थिए।

२०७४ मा एमालेका युवा नेता नरबहादुर धामीले कांग्रेस नेता साउदलाई ८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। धामी ३३ हजार ३२० मत प्राप्त गरी विजयी हुँदा साउदले २४ हजार ८९३ मत ल्याएका थिए।

२०७४ मा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता लेखक एमालेका उम्मेदवार दीपकप्रकाश भट्टसँग पराजित भएका थिए। एमाले उम्मेदवार भट्टले लेखकलाई २५८ मतको झिनो अन्तरले पराजित गरेका थिए। भट्टको २६ हजार ३६४ मत हुँदा लेखकले २६ हजार १०६ मत ल्याएका थिए।

यस्तो छ कञ्चनपुरको इतिहास
पहिलो संविधानसभा निर्वाचनका बेला कञ्चनपुरमा माओवादी केन्द्र बलियो देखिएको थियो। त्यसबेलाका चार निर्वाचन क्षेत्रमध्ये माओवादीले तीन वटामा जित निकालेको थियो।

निर्वाचन क्षेत्र–४ मा वर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए। तर डडेल्धुरा र कञ्चनपुर–४ बाट देउवा विजयी भएपछि उनले कञ्चनपुरको क्षेत्र नम्बर ४ छाडेका थिए। उपनिर्वाचनमा माओवादीले नै जितेको थियो।
माओवादीले २०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा २०६४ को दबदबा कायम राख्न सकेन। कञ्चनपुरका चार वटै निर्वाचन क्षेत्रमा विजयी हुँदै कांग्रेसले आफ्नो पकड कायम गर्यो।

Metro Mart
vianet

२०७४ को निर्वाचनमा आइपुग्दा फेरि कञ्चनपुरको अवस्था फेरियो। कांग्रेस फेरि एमाले र माओवादी गठबन्धनसामु कमजोर देखियो। त्यसबेला कांग्रेसले कञ्चनपुरमा तीन वटै निर्वाचन क्षेत्र गुमायो। क्षेत्र नम्बर १ माओवादीले र बाँकी दुई वटा नेकपा एमालेले जित्यो।

२०७४ को स्थानीय तह निर्वाचनमा ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो। माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो। कांग्रेसले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो।

यसपल्ट कञ्चनपुरमा कहाँ, को–कति बलियो?

भीमदत्त नगर
भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखक विजयी भएका हुन्।

मेयरमा बोगटीले १५ हजार ८८२ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८१७९ मत पाउँदा राप्रपाका गजेन्द्रबहादुर चन्दले ७१०५ मत ल्याए। एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले ३,४५२ मत मात्रै ल्याए।

मेयरमा कांग्रेसका बोगटी निकटतम प्रतिस्पर्धी एमालेका पन्तभन्दा ७७०३ मतान्तरले विजयी भएका हुन्। उपमेयरमा कांग्रेसकी निलम लेखक १२ हजार २१६ मत ल्याउँदै विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा माओवादीका कृष्णदत्त जोशीले १० हजार ५९६ मत ल्याउँदा एमालेकी भुवन कुवँरले ७९९० र राप्रपाकी हेलन श्रेष्ठले ४७७२ मत प्राप्त गरेकी थिइन्।

दोधारा चाँदनी
हालैको स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भए। एमाले उम्मेदवार किशोरकुमार लिम्बू ७ हजार १०४ मत ल्याउँदै निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका गोपालदत्त भट्टले ६ हजार १७१ मत पाए।
उपमेयरमा भने कांग्रेसकी गंगादेवी जोशी विजयी भइन्। जोशीले ६ हजार ३६५ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याइन्।

दोधारा चाँदनी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रभाव क्षेत्र मानिन्छ। तर यसपल्ट कांग्रेस गढमा बहुमत वडाध्यक्षसहित एमाले विजयी भएको छ।

वेदकोट
वेदकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसीदेवी जोशी निर्वाचित भएका हुन्।

बोहराले ८ हजार ७८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला सिंहले ४ हजार ७४० मत प्राप्त गरिन्। एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ मत प्राप्त गरे।

यसैगरी उपप्रमुखमा निर्वाचित जोशीले ७ हजार २५४ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन्। माओवादी केन्द्रकी हिरा जैशीले ३ हजार ६५२ मत ल्याएकी थिइन्।

पुनर्वास
पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ। मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन्।

शर्माले १० हजार ६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत ल्याए। एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे।

उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गरेकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ र एमालेकी सुशीला खत्रीले ५ हजार ३ सय ३ मत प्राप्त गरे।

शुक्लाफाँटा
शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार रणबहादुर महरा निर्वाचित भएका छन्। उनले कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गरेका हुन्।

महराले ६ हजार ७७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भट्टले ६ हजार २६४ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरेका थिए।

उपप्रमुखमा कांग्रेसकी कल्पना जोशी पन्त निर्वाचित भएकी थिइन्। उनले ६ हजार ५१९ मत प्राप्त गरिन्। उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका माधव पन्तले ५ हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले ५ हजार २३६ मत प्राप्त गरेका थिए।

कृष्णपुर
कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा  कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपमेयरमा द्रोपति राना विजयी भएका हुन्।

ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत प्राप्त गरे। कृष्णपुर नगरपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र पन्तले ६ हजार ४ सय ७४ मत ल्याएका थिए।

कृष्णपुरको उपमेयरमा विजयी कांग्रेसकी द्रोपति रानाले ९ हजार ६ सय ७५ मत प्राप्त गरेकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रमिता राना बडायकले ७ हजार ३ सय १६ मत ल्याएकी थिइन्। माओवादी केन्द्रकी उपमेयर उम्मेदवार गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरेकी थिइन्।

बेलौरी
बेलौरी नगरपालिकामा मेयर÷उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। मेयरमा माओवादी केन्द्रका उम्मेदवार पोतीलाल चौधरीले ८ हजार ७ सय ८७ मत ल्याएर विजयी भएका थिए। २०७४ मा समेत मेयर निर्वाचित पोतीलाल पुनः दोहोरिएका हुन्।
मेयरका निकटतम प्रतिद्वन्द्वी एमालेकी मेयर उम्मेदवार कमला बोहराले ६ हजार ८ सय ३ मत ल्याइन्। कांग्रेसले मेयरका उम्मदेवार हरेन्द्रसिंह विष्ट ६ हजार ३ सय १२ मत र उपमेयरमा ६ हजार ६ सय १३ मत प्राप्त गरे।

उपमेयरमा एमालेका जोगराम चौधरी ७ हजार ५ सय ८३ मत ल्याएर विजयी भए। उपमेयरमा प्रतिस्पर्धी माओवादी केन्द्रकी मञ्जु शाहीले ६८३५ र कांग्रेसकी खिना भण्डारी कुवँरले ६६१३ मत ल्याएका थिए।

बेलडाँडी
बेलडाँडी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा  कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका उम्मेदवार हरिशचन्द्र राना ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका अकलबहादुर विष्टले २ हजार ३०१ मत ल्याएका थिए।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसका शान्ति नाथ विजयी भएका छन्। उनले ३ हजार ६७३ मत प्राप्त गरिन् भने एमालेका फूलदेवी रानाले ३ हजार २७ मत ल्याइन्।

लालझाडी
लालझाडी गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्मल राना विजयी भएका छन्। राना ४ हजार ५१६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार मदनसेन बडायकले २ हजार ८५८ मत प्राप्त गरेका थिए।

गाउँपालिका उपाध्यक्षमा एमालेकै उम्मेदवार सपना चौधरी राना निर्वाचित भइन्। उनले ३ हजार ५६१ मत प्राप्त गरिन् भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार राधा रानाले ३ हजार ४९३ मत प्राप्त गरिन्।

यस पटक कञ्चनपुरमा कांग्रेस सबैभन्दा बलियो देखिन्छ। ९ पालिकामध्ये पाँच पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ। तीन पालिकामा एमाले र एक पालिकामा माओवादी केन्द्र विजयी भएको छ।

संस्थापनभित्रै कञ्चनपुरमा लेखक र साउदको गुट
कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक पार्टीमा संस्थापन समूहका नेता हुन्। केन्द्रमा सभापति शेरबहादुर देउवासँगै रहे पनि कञ्चनपुरको जिल्ला राजनीतिमा भने आ–आफ्नै गुट चलाउँदै आएका छन्।

दुई नेताको जिल्लामा वडा तहदेखि नै गुट रहेको छ। उनीहरूको गुटगत प्रतिस्पर्धा जिल्लामा पार्टीभित्रको निर्वाचनमा देखिने गरेको छ। दुवै नेताले जिल्लामा आफ्नो पकड स्थापित गर्न एकअर्काविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन्।

दुवै नेता प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाका विश्वासपात्र मानिन्छन्। संस्थापन इतर समूह भने कञ्चनपुरमा कमजोर रहेको छ। पूर्वमन्त्रीद्वय लेखक र साउदबीचको संघर्ष चुनावका बेला झनै चर्किने गरेको छ। यस पटकको संसदीय चुनावमा कांग्रेसभित्र टिकटका लागि उनीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ।

नेता साउदको निर्वाचन क्षेत्र कञ्चनपुर–२ मा निवर्तमान सभापति हरि बोहराले पनि चुनाव लड्ने आकांक्षा राखेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले केन्द्रीय साउद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानकारी दिए।

क्षेत्र नम्बर २ बाट यसअघि निर्विकल्प उम्मेदवारका रूपमा हेरिएका साउदलाई बोहराले यसपल्ट चुनौती दिएका छन्। संस्थापन समूहका बोहरा कञ्चनपुरमा रमेश लेखक निकट नेता मानिन्छन्।

निर्वाचन क्षेत्र नम्बर ३ नेता लेखकको क्षेत्र हो। २०७४ को निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्टसँग झिनो मतान्तरले पराजित भएका थिए।

यसपल्ट पनि चुनाव लड्ने तयारी गरेका नेता लेखक निर्वाचन क्षेत्रमा खटिइसकेका छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा  केन्द्रीय सदस्य लेखक र प्रेमबहादुर विष्ट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन्।

कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ। उक्त क्षेत्रमा गठबन्धन भए माओवादी केन्द्रकी बिना मगरले पाउने सम्भावनासमेत छ।

पूर्वमन्त्रीसमेत रहेका दुवै नेता हाल कांग्रेसका केन्द्रीय सदस्य छन्। यस पटक स्थानीय तहको नतिजालाई हेर्दा दुवै नेतालाई कञ्चनपुरमा चुनाव जित्न सहज देखिन्छ। त्यसमा झनै गठबन्धन भएको खण्डमा उनीहरूलाई त्यसको पनि लाभ पुग्ने बताइएको छ।

कृष्णपुरका मेयर हेमराज ओझा जिल्लामा यस पटक संगठन बलियो भएका कारण पनि कांग्रेसले जित्नेमा आफूहरू विश्वस्त रहेको बताउँछन्। ‘यस पटक कांग्रेसले चुनाव जित्नेमा शंका छैन। पालिकादेखि नै संगठन बलियो छ। हामी स्थानीय तह चुनावमा गठबन्धनबिनै निर्वाचनमा होमिँदा पनि विजयी भयौं। अब झनै गठबन्धन होला। त्यसले पनि हामीलाई फाइदा पुग्नेछ,’ उनी भन्छन्। ओझाले अहिलेदेखि नै पार्टीको पक्षमा माहोल बनाउन सक्रियतापूर्वक भूमिका निर्वाह गरिरहेको बताए। ओझा साउदको निर्वाचन क्षेत्रबाट निर्वाचित मेयरसमेत हुन्।

कांग्रेस कञ्चनपुरका सचिव भीम भट्ट पनि यस पटक कञ्चनपुरमा कांग्रेस बलियो रहेको दाबी गर्छन्। ‘हामीले संगठन निर्माणमा जिल्लामा मिहिनेत गरेका छौं। भरखरै सम्पन्न स्थानीय तहमा पाँच पालिका प्रमुख र सात पालिकामा कांग्रेसले उपप्रमुख जितेको छ। ९२ वडामध्ये ४२ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन्,’ सचिव भट्टले भने।

कांग्रेस उम्मेदवार विजयी हुँदा जिल्लामा विकासले फड्को मारेको दाबी गर्दै उनले जनतामा विकासका लागि कांग्रेसको विकल्प नरहेकाले साउद र लेखकको जित निश्चित रहेको बताए।

प्रकाशित: Sep 06, 2022| 10:57 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...