शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको टिकटमा दर्जन उद्योगी-व्यापारीको दाबी, कसको सम्भावना कति?

कांग्रेसको टिकटमा दर्जन उद्योगी-व्यापारीको दाबी, कसको सम्भावना कति?

यसअघि प्राय: उद्योगी-व्यवसायी समानुपातिक सूचीबाट सांसद मनोनित हुने गरेका थिए। नेपाली कांग्रेसको विधानले एकै व्यक्ति लगातार दुई पटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुन नपाउने व्यवस्था गरेपछि उनीहरुले प्रत्यक्ष निर्वाचनको तयारी थालेका हुन्।
 |  मंगलबार, भदौ २१, २०७९

किशोर दाहाल

किशोर दाहाल

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट एक दर्जनभन्दा बढी उद्योगपति, व्यापारी र निर्माण व्यवसायी आकांक्षीका रुपमा अगाडि आएका छन्। 

triton college

उद्योगपति विनोद चौधरी, नेपाल सरकारका राज्यमन्त्री तथा शिक्षा व्यवसायी उमेश श्रेष्ठ, पर्यटन व्यवसायी राजेन्द्र बजगाईं, होटल व्यवसायी दीपक खड्का, निर्माण व्यवसायी इन्द्र बानियाँ, अर्का निर्माण व्यवसायी भीमबहादुर साउद, घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्ले, मेडिकल कलेज व्यवसायी सुनील शर्मा, शिक्षा व्यवसायी तेजुलाल चौधरी, निर्माण व्यवसायी मोहन आचार्य, वीरगञ्जका व्यवसायी अनिल रुंगटा, निर्माण व्यवसायी अमरसिंह पुन लगायतले प्रतिनिधसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फबाट चुनाव लड्ने तयारी गरेका छन्। उनीहरु प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षबाट उम्मेदवारीका लागि सिफारिसमा पनि परेका छन्। यसअघि प्राय: उद्योगी-व्यवसायी समानुपातिक सूचीबाट सांसद मनोनित हुने गरेका थिए। नेपाली कांग्रेसको विधानले एकै व्यक्ति लगातार दुई पटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुन नपाउने व्यवस्था गरेपछि उनीहरुले प्रत्यक्ष निर्वाचनको तयारी थालेका हुन्। 

उद्योगी विनोद चौधरी र राज्यमन्त्री तथा व्यवसायी रमेश श्रेष्ठ प्रत्यक्षबाट संघीय संसद्को निर्वाचन लड्नुपर्ने दबाबमा छन्। नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी २०७४ सालमा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्यमा मनोनित भएका हुन्। यस पटकको निर्वाचनमा चौधरी नवलपुर-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने लगभग निश्चित जस्तै छ। २०७० सालको संविधानसभा निर्वाचनमा चौधरी नेकपा एमालेको तर्फबाट समानुपातिक सभासद बनेका थिए। २०७४ नेकपा एमाले परित्याग गरी उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चौधरी मधेसी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

सीजी ग्रुपका अध्यक्ष चौधरीले नेपालमा मात्रै नभई विदेशमा समेत आफ्नो व्यवसाय विस्तार गरेका छन्। विश्वका विभिन्न देशमा वाइवाइ चाउचाउ निर्यात गर्दै आएका चौधरी नबिल बैंकका सञ्चालक समेत हुन्। सीजी टेलिकम तयारीमा रहेका चौधरी फोब्स सूचीमा पर्ने नेपालका एकमात्रै अर्बपति व्यवसायी हुन्।

चौधरीले चुनाव लड्ने भनेको क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कांग्रेसले भन्दा बढी मत प्राप्त गरेको छ। एमालेले ४१ हजार ७९८ मत प्राप्त गर्दा कांग्रेसले ३६ हजार ८१९  मत प्राप्त गरेको छ। यसैगरी राप्रपाले २ हजार ३५५, माओवादी केन्द्रले १ हजार ७ सय ४२, जसपाले ३०३ र नेकपा एसले २१४ मत प्राप्त गरेको छ। यस क्षेत्रमा गठबन्धनले प्राप्त गरेको कुल मतभन्दा नेकपा एमालेले प्राप्त गरेको मत बढी देखिन्छ। कांग्रेस, माओवादी, जसपा र नेकपा एसको मत जोड्दा गठबन्धनले कुल ३९ हजार ७८ मत प्राप्त गरेको छ। 

corrent noodles
Metro Mart

विनोद चौधरी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ दुई पटक सामानुपातिक सूचीबाट सांसद भइसकेकाले यस पटक प्रत्यक्षबाट निर्वाचन लड्ने तयारीमा छन्। उनी चितवन-१ बाट सिफारिसमा परेका छन्। उमेश श्रेष्ठसँगै अर्थविद् डा. स्वर्णीम वाग्ले, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ र राजेन्द्र बुर्लाकोटी पनि सिफारिस भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका श्रेष्ठले यस क्षेत्रबाट टिकट पाउने सम्भावना उच्च छ। लिटिल एजेन्स स्कुलका संस्थापक श्रेष्ठको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी रहेको छ। 

गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यस क्षेत्रमा गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिपर्धा हुने देखिन्छ। यस क्षेत्रमा एमाले कांग्रेसभन्दा २ हजार ८२३ मतले अगाडि छ। नेकपा एमालेले ३९ हजार ६०६ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ३६ हजार ६८३ मत प्राप्त गरेको छ। यसैगरी माओवादी केन्द्रले ५ हजार ५०८, राप्रपाले ४ हजार ५९० र नेकपा एसले ४ हजार ५ मत प्राप्त गरेको छ। नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएमा सत्ता गठबन्धनसँग यस क्षेत्रमा कडा प्रतिपर्धा हुने देखिन्छ। गठबन्धनको कुल मत ४६ हजार १९६ र एमाले र राप्रपाको मत ४४ हजार १९६ रहेको छ। एमाले र राप्रपाको भन्दा सत्ता गठबन्धनको मत २ हजारले मात्रै बढी देखिन्छ। 

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि यस पटकको निर्वाचनमा गोरखा-१ बाट प्रतिनिधिसभाबाट निर्वाचन लड्ने तयारीमा छन्। २०७४ सालको निर्वाचनमा प्रदेशसभा निर्वाचनमा पराजित भएका बजगाईं यसपटक गोरखा-१ बाट सिफारिस भएका छन्। यसअघि गोरखा क्षेत्र नम्बर १' ख' बाट उम्मेदवार बनेका बजगाईंले १३ हजार १ मत प्राप्त गरेका थिए। उनलाई नेकपा एमालेका रामशरण बस्नेतले ३ हजार ६५५ मतान्तरले पराजित गरेका थिए। पर्यटन व्यवसाय गरिरहेका  बजगाईंले होटल व्यवसायमा समेत लगानी गरेका छन्। उनको पूर्ण स्वामित्वमा निर्माणधिन होटल वर्णवास सञ्चालनको तयारीमा रहेको छ। व्यवसायी बजगाईं गोरखाको सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन्। २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हरिराज अधिकारी निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई झन्डै ३ हजार मतले पराजित गरेका थिए।  

गत स्थानीय तहको निर्वाचनमा गोरखा-१ बाट नेपाली कांग्रेसले सबैभन्दा बढी २७ हजार ८४ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले  २५ हजार ४७२ मत प्राप्त गर्दा नेकपा एमालेले १४ हजार ५६६ मत मात्रै प्राप्त गरेको छ। स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने सत्ता गठबन्धन भई यस क्षेत्रबाट बजगाईंले टिकट पाएमा चुनाव जित्ने सम्भावना उच्च देखिन्छ। 

राजेन्द्र बजगाईं
नेपाली कांग्रेसका तर्फबाट व्यावसायिक पृष्ठभूमि भएका अर्का राजनीतिकर्मी  हुन् दीपक खण्ड्का। होटल व्यवसायी खड्का यस पनि प्रतिनिधिसभाका प्रत्यासी हुन्। उनले संखुवासभाबाट प्रतिनिधसभा सदस्यमा निर्वाचन लड्ने तयारी गरिरहेका छन्। अघिल्लो निर्वाचनमा उनी यस क्षेत्रबाट झिनो मतान्तरले पराजित भएका थिए। बाम गठबन्धन हुँदा समेत खड्काले ११ सय ३० मतले मात्रै निर्वाचन हारेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमले ३२ हजार ७६९ मत प्राप्त गर्दा खड्काले ३१ हजार ६३९ मत प्राप्त गरेका थिए।

यस पटकको निर्वाचनमा सत्ता गठबन्धन कायम रहेमा खड्काले सजिलै निर्वाचन जित्ने विश्लेषण हुने गरेको छ। उक्त क्षेत्रमा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ३२ हजार ९११ मत पाएको थियो भने कांग्रेसले ३० हजार ८४९ मत पाएको थियो। यसैगरी माओवादी केन्द्रले ७ हजार १२२, नेकपा एसले १ हजार १०१ र जसपाले ४७१ मत प्राप्त गरेका छन्। यस निर्वाचनमा गठबन्धन दलहरुले ल्याएको मतलाई आधार मान्ने हो भने पनि खड्काले चुनाव जित्ने लगभग निश्चित जस्तै छ। 

मकवानपुरका निर्माण व्यवसायी इन्द्र बानियाँ भने अहिले पूर्ण रुपमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। बानियाँ नेपाली कांग्रेसका बागमती प्रदेशका प्रदेश सभापति समेत हुन्। कांग्रेसको १४औं माहाधिवेशनमा बानियाँले जगदिश्वरनरसिंह केसीलाई हराएर प्रदेश सभापति भएका हुन्। उनी बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत हुन्। गत निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ 'ख' बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका थिए उनी। यस पटक पनि उक्त क्षेत्रबाट प्रदेशसभा उठ्ने लगभग निश्चित छ। निर्वाचनपश्चात गठन हुने प्रदेश सरकारको नेतृत्व गर्ने सोचमा बानियाँ रहेको बताइन्छ। बानियाँ यस क्षेत्रका निकै बलिया उम्मेदवार हुन्। अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसँग चुनावी तालमेल गरेर प्रदेशसभा सदस्यको को तयारीमा बानियाँ लागेका छन्।

इन्द्र बानियाँ
यसैगरी अर्का चर्चित निर्माण व्यवसायी भीमबहादुर साउद डडेलेधुरामा प्रदेशसभाबाट निर्वाचन लड्ने तयारीमा छन्। उनी सुदूरपश्चिम प्रदेशका प्रदेश सभापति पनि हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र रहेको डडेलधुरा जिल्लामा १ मात्रै निर्वाचन क्षेत्र रहेको छ। यस क्षेत्रमा रहेका दुई वटा प्रदेश क्षेत्रमध्ये साउदले कुनै एक क्षेत्रबाट प्रदेश सांसदको टिकट पाउने सम्भावना रहेको छ। 

होटल व्यवसायी तथा घरजग्गा व्यवसायी संघका अध्यक्ष समेत रहेका इच्छाबहादुर वाग्ले बारा-३ बाट प्रतिनिधिसभाका लागि सिफारिस भएका छन्। गएको स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पनि नेकपा एमाले नेपाली कांग्रेसको तुलनामा बलियो देखिन्छ।  एमालेले २३ हजार ६५४ मत प्राप्त गर्दा कांग्रेसले १७ हजार ५ सय ५४ मत मात्रै प्राप्त गरेको छ। यसैगरी जसपाले ११ हजार २८९, माओवादी ८ हजार २४८, नेकपा एसले ३ हजार ३९५ र लोसपाले २ हजार २०६ मत प्राप्त गरेका छन्। 

म्यानपावर व्यवसायी तिलक रानाभाट कास्कीबाट प्रदेशसभा सांसद उठ्ने तयारीमा छन्। यसैगरी अर्का निर्माण व्यवसायी मोहन आचार्य पनि रसुवाबाट प्रतिनिधिसभाका लागि सिफारिसमा परेका छन्। २०७४ सालको निर्वाचनमा रुसुवाबाट आचार्य प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार बनेका अर्का निर्माण व्यवसायी जनार्दन ढकाललाई पराजित गरेका थिए। आचार्यले ढकाललाई ४ हजार १७५ मतले पराजित गरेका थिए। आचार्यले १४ हजार ४५३ मत प्राप्त गर्दा ढकालले १०२७८ मत प्राप्त गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेस सबैभन्दा अगाडि छ। कांग्रेसले कुल ११ हजार ८३९ मत प्राप्त गर्दा एमालेले ११ हजार ४० मत प्राप्त गरेको छ। माओवादी केन्द्रले ४ हजार ३९२ र जसपाले ५६८ मत प्राप्त गरेका छन्। उक्त निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धनले सजिलै चुनाव जित्ने देखिन्छ। 

यसैगरी नेपाली कांग्रेसका नेता तथा वीरगञ्जका उद्योगी अनिल रुंगटा पर्सा १ बाट प्रतिनिधिसभा सांसदका प्रत्यासी हुन्। उनले उक्त क्षेत्रबाट आफ्नो चुनावी तयारी गरिरहेको बताइएको छ। देउवा निकट मानिने रुंगटाले उक्त क्षेत्रबाट टिकट पाउने सम्भावना बलियो रहेको बताइन्छ। गएको निर्वाचनमा रुंगटाले यस क्षेत्रबाट निर्वाचन हारेका थिए। उनी संघीय समाजवादी फोरमका प्रदीप यादवसँग ४ हजार ६५१ मतले पराजित भएका थिए। यादवले २१ हजार १३२ मत प्राप्त गरी विजयी हुँदा रुंगटाले १६ हजार ४८१ मत प्राप्त गरेका थिए।

गएको स्थानीय निर्वाचनमा पनि यस क्षेत्रमा तत्कालिन जनता समाजवादी पार्टी अगाडि रहेको थियो। यद्यपि उक्त पार्टी विभाजन भई बाबुराम भट्टराईले छुट्टै पार्टी गठन गरी माओवादी केन्द्रको चुनाव चिन्हबाट संयुक्त रुपमा चुनाव लड्ने तयारीमा छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन भई रुंगटाले टिकट पाएमा उनी निर्वाचित हुने प्रवल सम्भावना छ। गएको स्थानीय निर्वाचनमा १२ हजार ९०२ मत प्राप्त गरी कांग्रेस दोस्रो स्थानमा रहेको छ। तत्कालिन जसपाले १५ हजार ७०६ प्राप्त गरेको छ। यसैगरी नेकपा एमालेले १३ हजार ३३५ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। यसैगरी माओवादी केन्द्रले ३ हजार ७४६,  लोसपाले २ हजार ८६ र नेकपा एसले १६ सय ३ मत प्राप्त गरेको छ। 

प्रकाशित: Sep 06, 2022| 14:28 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...