काठमाडाैं- बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आएका छ देशका राष्ट्र तथा सरकार प्रमुखमध्ये चार देशका प्रमुख आजै स्वदेश फर्कने भएका छन् । सम्मेलन समापन लगतै तीन देशका प्रमुख स्वदेश फर्किने छन् भने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन सकिनु अघि नै स्वदेश फर्किने भएकी छिन् ।
परराष्ट्र मन्त्रालयकाअनुसार बंलादेशकी प्रधानमन्त्री हसिना शुक्रबार बिहान ११ः४५ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ । बंलादेशमा हुन लागेको आमनिर्वाचनलाई मध्यनजर गर्दै उनी सम्मेलन सकिनु अगावै स्वदेश फर्किन लागेकी हुन् ।
उनले बिम्स्टेकले पारित गर्न लागेको दस्तावेजमा हस्ताक्षर नहुँदै फर्किने भएकी छिन् । उनी सम्मेलनका लागि नेपाल नआउने मनस्थितीमा रहेपनि प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष आग्रह गरेपछि उनी सम्मेलनमा भाग लिन आएकी हुन् ।
यस्तै आज शुक्रबार करिब दिउँसो २ तिर सम्मेलनको समापन भएसंगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि स्वदेश फर्किदै छन् । उनी राति ८ बजेपछि फर्किने कार्यक्रम रहेको बताइएको छ।
त्यसअघि उनी प्रधानमन्त्री केपी ओलीसँग द्विपक्षीय छलफल र केही सम्झौतामा हस्ताक्षर गर्नछन् भने दिउँसो पशुपतिनाथमा रहेको धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नेछन्।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ । उनी बिमस्टेक सम्झौतामा हस्ताक्षर गरे लगतै सवा ४ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा भाग लिन सबैभन्दा पहिले नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट पनि शुक्रबार नै स्वदेश फर्किने छन् । उनी सम्मेलनको दुई दिनअघि मंगलबार नै नेपाल आएका थिए । उनी अाज दिउँसाे ४ बजे स्वदेश फर्किन लागेका हुन् ।
श्रीलंका र भुटानका सरकार प्रमुख भने आज नेपालमै रहने भएका छन् । भुटानका अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष प्रमुख छिरिङ वाङचुक शुक्रबार लुम्बिनी गएर शनिबार मात्रै स्वदेश फर्कने भएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना भने आइतबार मात्रै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४