काठमाडौं– गैरकानुनी रूपमा कुवेत प्रवास बस्दै आएका भारतीयलाई स्वदेश फिर्ता गरिएपछि उनीहरू फेरि कुवेत फर्किन विभिन्न उपाय खोज्दै आएका छन्। यतिसम्म कि उनीहरूले आफनो फिंगर प्रिन्ट नै परिवर्तन गर्न पछि परेनन्।
राजकोंडा पुलिसले सर्जरी गरेर औंलाको औंठाछाप परिवर्तन गर्न गिरोहलाई पक्राउ गरेको छ।
मलकाजगिरी स्पेसल अपरेसन टिम (एसओटी)र घाटकेसर प्रहरीले औंठाछाप परिवर्तन गर्ने कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दुई जना सर्जरी गर्ने डाक्टर पनि रहेका छन्। पक्राउ पर्ने नागा मुनेश्वर रेड्डी पेसाले रेडियोलोजिस्ट हुन् भने बेंकट रमन एनेस्थेटिस्ट हुन्। औंठाछाप परिवर्तन गर्न सर्जरी गराएका अन्य दुई जनासमेत पक्राउ परेका छन्।
गिरोहले कुवेतमा गएर नयाँ रोजगारीसँगै नयाँ जीवन सुरु गर्न सपना बोकेका भारतीयलाई सर्जरी गर्ने गरेको प्रहरीले छानबिनका क्रममा फेला पारेको छ।
उनीहरूले सर्जरीका लागि आवश्यक सामग्री किनेर कुवेतका अर्का एक जना व्यक्तिसँगको मिलेमतोमा भारतको राजस्थानमा आंैठाछापको सर्जरी गरेका थिए। त्यसपछि निरन्तर सर्जरी गर्दै उनीहरूले प्रतिव्यक्ति २५ हजार भारु असुल्थे।
उनीहरूले पाँच औंलाकै टुप्पोका छालालाई काटेर केही भाग फालेर फेरि सिलाइ गरेका छन्। काटिएको आंैलाका घाउ एक वा दुई महिनामा निको भएपछि औंठाछापमा परिवर्तन देखिन्थ्यो। उनीहरूलाई हैदरावादको एक होटलमा प्रहरीले छापा मारेको थियो। – एजेन्सी