खोटाङ- करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ।
विगत आठ/नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा छापगाउँमा विद्युत् मर्मतपछि भर्याङ ठड्याएर हिँड्नेक्रममा भर्याङले ११ केभी प्रशारण लाइनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए।
करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अवरुद्ध विद्युत् सुचारु गराउन र जलेको ट्रान्सफर्मर हेर्नका लागि राईसहित चार प्राविधिकको टोली बुईपा छापगाउँ पुगेका थिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ।