काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई 'लाइनमा बस्न आग्रह' गर्ने सुरक्षा गार्डलाई ५ दिन थुनामा राख्न जिल्ला प्रकासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका मन्त्री श्रेष्ठलाई त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए। मन्त्री श्रेष्ठले 'मन्त्री हुँ' भन्दै लाइनमा बस्न नमानेपछि जो भए पनि नियम मान्नुपर्छ भन्दै सुरक्षागार्ड गुरुङले लाइनमा बस्न भनेका थिए।
तर, त्यही कारण पर्यटन मन्त्री श्रेष्ठले गृहमन्त्रीलाई भनेर ती गार्डलाई पक्राउ गर्न आग्रह गरेका थिए। गृहमन्त्री बालकृष्ण खाँणले कारबाही गर्न भनेपछि प्रहरी प्रधान कार्यालयले ती गार्डलाई पक्राउ गर्न निर्देशन दिएको थियो।
उनलाई दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा राखिएको छ। अभद्र व्यवहारमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको हो।
शुक्रबार पीएसओसहित मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। त्यही क्रममा सुरक्षागार्डले आफूलाई दुर्व्यवहार गरेको मन्त्री श्रेष्ठको भनाइ छ।
मन्त्री श्रेष्ठलाई शुक्रबार बिहान ९ बजे पुगेका बेला त्यहाँको सुरक्षागार्डले आफूहरुलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
उनले भनेका थिए, 'म त्यहाँ क्यानाडाको भिसाका लागि श्रीमतीसहित बायोमेट्रिक गर्न पुगेको थिएँ। नौ बजे त्यहाँ खास मान्छे पनि थिएनन्। हामी त्यहाँ लाइनमै बस्दा पनि गार्डले धकेल्यो। हाम्रो अगाडि दुईजना लाइनमा थिए, म र श्रीमती पछाडि थियौँ। हाम्रो पालो आइसकेको थियो तर त्यो गार्ड आएर हामीलाई मन्त्री सन्त्री मतलब छैन भन्दै धकेल्यो। अगाडि दुईजना लाइनमा थिए, उनीहरु भित्र छिरिसकेका थिए। त्यसपछि मेरो र मिसेसको पालो थियो। तर अचानक गार्डले आएर ठेल्यो। मेरो अंगरक्षकले उहाँ मन्त्रत्री हुनुहुन्छ भनेको थियो। तर उसले मन्त्री सन्त्री मलाई मतलव छै भन्यो। म पनि भूतपूर्व आर्मी हो भन्दै हाम्रो सेक्युरिटी गार्डलाई उसको परिचयपत्र झिक्दै घोच्यो।'
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहोराले माथिल्लो तहको निर्देशनअनुसार सुरक्षागार्ड गुरुङलाई पक्राउ गरेको बताएका छन्। आफूलाई सुरक्षा गार्डले रोकेकपछि रिसाएका मन्त्री श्रेष्ठले गृहमन्त्रालयलाई पत्र पठाउँदै सुरक्षा गार्डमाथि कारबाही गर्न आग्रह गरेका थिए।
मन्त्री श्रेष्ठको पत्रपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। त्यसपछि नक्सालले उपत्यका प्रहरी कार्यालय र काठमाडौं परिसर हुँदै दरबारमार्ग बृत्तसम्म उक्त निर्देशन पुगेपछि गुरुङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।