जनकपुरधाम- ८ महिने बालिकाको अपहरण गरी हत्या गरेको विरोधमा बिहिबार दोस्रो दिन पनि महोत्तरीको औरही बजार बन्द भएको छ। बालिका हत्यामा संलग्न व्यक्तिलाई अविलम्व पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीयवासीहरुले दोस्रो दिन औरही बजार बन्द गराएका हुन्।
स्थानीयवासीले बर्दिवास-जलेश्वर सडक खण्डसमेत अवरुद्ध पारेका छन्। औरहीका स्थानीयहरुले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो। घटनाको तीनदिन बितिसक्दासमेत प्रहरीले अपराधी नियन्त्रणमा लिन नसकेपछि आफूहरु प्रदर्शनमा उत्रिएको औरही उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण चौधरीले बताए। हत्याराको पहिचान भइसके पनि प्रहरीले पक्राउ नगरेको प्रदर्शनकारीहरुको आरोप छ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले हत्यारा पक्राउ गर्न विभिन्न स्थानमा सर्च अपरेशन चलाइएको दाबी गरे। अपराधी उम्किन पाउँदैन छिट्टै नियन्त्रणमा आउँछ उनले बताए।
औरही नगरपालिका-१ का सन्तोष चौधरीको ८ वर्षीया छोरी सोनालिका चौधरीको पसलबाटै अपहरण भएको थियो। औरहीमा किराना पसल चलाउँदै आएका चौधरीको छोरी सोनालिकाको गत आइतबार अपहरणपछि हत्या भएको थियो।
सोनालिका आइतबार साँझ पसलमा आमासँगै रहेको बेला महोत्तरी भंगाहा सीतापुर-६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा अपहरण गरी लगेका थिए। त्यसको भोलिपल्ट सोनालिकाको शव गाउँभन्दा केही पूर्व खेतमा बरामद भएको थियो।
आमासँगै बसेर खेलाउँदै गरेको अवस्थामा बच्चा लगिएको सीसीटीभी क्यामेरामा स्पष्ट देखिन्छ। सीसीटीभी फुटेजबाट अपहरणकारीको पहिचान भइसकेपनि प्रहरीले पक्राउ गर्न नसकेपछि स्थानीय आक्रोशित बनेका छन्। अपराधी पक्राउ गर्न माग गर्दै औरहीका स्थानीयहरुले बजार, पसल, शिक्षण संस्था, यातायातपूर्ण रुपले ठप्प पारेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४