पछिल्लो समय पुस्तक पढ्ने शैली मेरो अलिकति परिवर्तित भएको छ। पहिला–पहिला म एउटा पुस्तक उठाएपछि खर्रर पढिसक्थें। सुरुदेखि अन्तसम्म त्यो पुस्तकभित्रै डुबिरहेको हुन्थें। एकै बसाइमा सक्ने कोसिस हुन्थ्यो। अचेल पुस्तक पढ्दापढ्दै त्यसले उब्जाएको कुनै सोच वा भावना आयो भने त्यो पुस्तक बन्द गरेर सोच र भावनालाई अझै विस्तार गर्नेतिर लाग्छु। त्यसकारण मलाई आजकल पुस्तक पढ्न समय लाग्छ। पुस्तकलाई सुरुआत गरेर अन्त्य गर्ने लक्ष्य हुँदैन।
बीचबीचमा त्यो पुस्तकले कस्तो किसिमको भावना र सोच उत्पन्न गर्यो, मभित्र त्यो पुस्तकको भावना र सोचले कति खलबलायो? त्यसप्रति म सचेत रहेर त्यो सोच र भावनालाई प्रेरणाको रूपमा लिएर आफैंभित्र विस्तार गर्छु। त्यो अत्यन्तै लाभदायक हुँदो रहेछ।
धेरै पुस्तक पढ्ने बानी छ भने पनि हामीले पढेका सबै पुस्तक यादमा राखिराख्न अत्यन्तै गाह्रो हुन्छ। पछिल्लो महिना पढेको पुस्तक त्यो बेला जति मनमस्तिष्कमा बसेको हुन्छ, एक महिनापछि आधा पनि नबस्न सक्छ। त्यसैले पुस्तक स्मरणमा रहिरहन अत्यन्तै गाह्रो छ। यदि त्यो पुस्तकले भावना र सोचबाट प्रेरित गरायो भने पुस्तकको पात्र र घटना बिर्सिए पनि पढ्दाको भावना र सोच सधैं यादगार हुन्छ। चलचित्रमा पनि हुने त्यही हो।
‘तपाईंको एउटा पनि चलचित्र नछुटाई हेरिन्थ्यो’, कतिपयले मलाई भन्छन्। मैले पनि पाँच वटा चलचित्रको नाम भन्न अनुरोध गर्थें। उहाँहरूलाई सकस हुन्थ्यो। त्यो चलचित्रको नाम र निर्वाह गरेको पात्र बिर्सिए पनि चलचित्र हेर्दा वा पुस्तक पढ्दाको भावना र सोच भने अनन्तकालसम्म स्मरणमा रहिरहन्छ।
‘धेरै पढ्ने बानी छ भने पनि हामीले पढेका सबै पुस्तक यादमा राखिराख्न अत्यन्तै गाह्रो हुन्छ। पुस्तकले भावना र सोचबाट प्रेरित गरायो भने त्यसका पात्र र घटना बिर्सिए पनि पढ्दाको भावना र सोच सधैं यादगार रहिरहन्छ। चलचित्रमा पनि हुने त्यही हो।
पुस्तक पढ्दा भावनालाई महसुस गर्ने गरिन्छ। भावना बढी भएको पुस्तक निरन्तर पढ्न गाह्रो हुन्छ। कहिलेकाहीँ पुस्तकको भावनाले गहिरो असर गर्छ। त्यसबेला एकछिन किताब बन्द गरेर सोचमग्न भइन्छ।
म पुस्तकको भावना बोकेर हिँड्न सक्थिनँ किनकि त्यसको गन्तव्य र पठन समयको लय फरक भयो भने गहिरो भावना भएको पुस्तक पढ्न गाह्रो हुन्छ। फेरि मेरो पठन समय हवाईजहाज र गाडीको यात्रामा बढी हुन्छ। त्यसैले पनि पढ्ने समयलाई निरन्तरता दिन गाह्रो हुन्छ।
पुस्तक पढ्दा मेरो अनुभव के छ? पाठक भएको नाताले यथार्थ खोज्दिनँ, वास्तविकता खोज्नतिर पनि लाग्दिनँ।
जति नै अलग वातावरणमा बस्न खोजे पनि मानिसले आफूसँग जोडिन सक्ने खाले कथा के–के छन् भनी खोजिरहन्छ। पुस्तकको रुचि पनि त्यस्तै हुन्छ।

पुस्तकको उद्देश्यचाहिँ तपाईं–हाम्रो सोचाइभन्दा बिल्कुलै भिन्न हुन सक्छ। अथवा हाम्रो परिवेशभन्दा फरक परिवेशको पुस्तक हुन सक्छ। यदि त्यो पुस्तक राम्रो लेखिएको छ भने हाम्रो भावना र सोच बुझ्न सहयोग पुर्याउँछ। सशक्त पुस्तकले हामीलाई नै बदल्न सक्छ। एक प्रख्यात यात्रीले भनेका थिए, ‘मैले संसार घुमें, संसारका सबै संस्कृति र समाजसँग घुलमिल भएँ। अन्तमा त्यो अनुभवले आफैंलाई बुझ्न सक्ने गहिराइतिर डोहोर्यायो। आफ्नै क्षेत्र र बसोबासलाई अझ राम्रोसँग अवलोकन गर्ने क्षमता बढायो।’
पुस्तकमा हामीले आफ्नै सोच र परिवेशजस्तै खोज्नु पनि बेकार छ। कुनै पुस्तकको पात्र आफ्नै कुनै चिनजानका पात्रजस्तो नलाग्न सक्छन्। तर पुस्तकमा दर्शाएको सोच र परिवेशले तपाईंलाई गहिरोसँग सोच्ने क्षमता बढायो कि बढाएन भन्ने सवाल छाड्छ।
पुस्तकले कुनै कालखण्डको कथा बोलिरहेको हुन्छ। त्यसबारे पनि हामी बुझ्न पाउँछौं। समाजको विविधतामा भेटिने सम्बन्धको कथा थाहा पाउँछौं। समय बित्दै जाँदा हाम्रो र समाजको भावना कसरी परिवर्तन आयो भन्ने थाहा पाउँछौं ।
पुस्तक पढ्दै गर्दा वा फिल्म हेर्दै गर्दा पात्रको दुःखमा हामी रुन्छौं। पात्रको दुःखसँग हामी छिटो जोडिन्छौं। किनकि, ती पात्रले भोगेको दुःख हामीले भोग्दै आएका छौं। त्यो भनेको हाम्रो भावनालाई खलबल्याएको हो। त्यसैले पुस्तकले हाम्रो सोच र भावनालाई खलबलाओस् भन्ने लाग्छ।
(शुक्रबार रामलाल जोशीको ‘बाआमा’ पुस्तक लोकापर्ण समारोहमा अभिनेता राजेश हमालले बोलेका कुराको सम्पादित अंश)