विराटनगर- मोरङका अलगअलग स्थानमा युवती र महिलामाथि सामूहिक बलात्कार भएको छ। विराटनगर र जहदा गाउँपालिकामा एकैरात घटना भएको प्रहरीले जनाएको छ।
घटना गत बिहीबार रातिको हो। विराटनगर महानगरपालिका–१४ जतुवाको महतो टोलस्थित नहरमा १८ वर्षीया युवतीमाथि पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
युवती राति ९:३० बजेतिर चिनजानकै एक जना युवासँग गफ गरेर बसिरहेकी थिइन्। त्यही बेला मादक पदार्थ सेवन (मापसे) गरेर आइपुगेको पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएर उनीहरूमाथि लाट्ठी, भाटा र मुक्का प्रहार गरिएको प्रहरीले जनाएको छ। उक्त समूहको नियन्त्रणबाट युवा फुत्किएर भाग्न सफल भए। तर त्यही समूहले युवतीलाई भने आफ्नो कब्जामा लिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फुत्किएर भागेका युवाले गाउँमा गएर होहल्ला गर्न थालेपछि स्थानीय भेला भए। स्थानीय भेला हुन थालेपछि युवतीलाई छाडेर बलात्कारमा संलग्नहरू फरार भएका थिए।
प्रहरीका अनुसार कुटपिटबाट युवाको टाउको, अनुहार, कुहिनालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। युवतीको पनि शरीरका केही भागमा चोट रहेको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको छ।
घटनामा संलग्न रहेकामध्ये एक जनालाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। बलात्कारमा संलग्न अन्य युवा फरार रहेको र खोजी तीव्र पारिएको जानकारी श्रेष्ठले दिए।
त्यस्तै मोरङको जहदा गाउँपालिका–७ मा पनि एक महिलामाथि सामूहिक बलात्कार गरिएको छ। घरमा सुतिरहेकी अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै दुई युवाले काम छ भन्दै बोलाएर खेतमा पुर्याएपछि सामूहिक बलात्कार गरेको डीएसपी श्रेष्ठले बताए।
घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो। घटनाका बारेमा प्रहरीमा शुक्रबार दिउँसो १ बजेतिर मात्रै जानकारी आएको प्रहरीले जनाएको छ।
घटना सार्वजनिक हुनेवित्तिकै बलात्कारमा संलग्न जहदा–७ का अन्दाजी २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए।
उनका अनुसार भारततिर भाग्न खोज्दै गर्दा दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।