काठमाडौं- नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने ६ जना पक्राउ परेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएयता विभिन्न स्थानबाट उनीहरू पक्राउ परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
शुक्रबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राज कुमार श्रीमललाई पक्राउ परेका छन्। सिन्धुलीको दुधौली नगरपालिका-१४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ र गोरखाको भीमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २२ वर्षीय राजकुमार श्रीमल पक्राउ परेका हुन्।
गत साउन १९ गते राधेराधे ट्रायल सेन्टरबाट ललितपुरको लुभु बस्ने २३ वर्षीय सन्तोष थापाको नाममा ट्रायल दिदै गर्दा भक्तपुरको गठ्ठाघर बस्ने २२ वर्षीय सुजन भट्टराई र यही भदौ १४ गते सबिन सेन्जुको नाममा ट्रायल दिँदै गर्दा मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो।
साउन २३ गते काठमाडौँको गुर्जुधाराबाट काठमाडौंको छैमले बस्ने ३० वर्षीय रामचन्द्र खतिवडाको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका ३५ वर्षीय साजन आचार्य र भदौ १३ गते पाँचथर घर भई हाल सतुङ्गल बस्ने आईन्द्रा आङदावेको नाममा ट्रायल दिँदै गर्दा पाँचथर घर भई हाल सतुङगल बस्ने वृज फाङक लिम्बूलाई प्रहरीले पक्राउ गरि अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ। सन्तोष थापाको नाममा ट्रायल दिने सुजन भट्टराईलाई पुर्पक्षको लागी थुनामा पठाएको छ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्न विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। उनले ट्रायल सेन्टरहरुमा थप निगरानी बढाइएको समेत बताए।