काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४८ प्रतिशत विद्यार्थी मात्र सफल भएका छन्। बाँकी ५२ प्रतिशत विद्यार्थीको 'एनजी' आएको छ। एनजीको अर्थ माथिल्लो कक्षामा भर्ना हुनका लागि अयोग्य हो।
शुक्रबार साँझ सार्वजनिक नजितामा १ लाख ८८ हजार ४ सय १० जनाले एनजी ल्याएका हुन्। तीमध्ये १ लाख ३० हजार ७ सय ७८ ले मात्र ग्रेड प्रोमोसन पारीक्षा दिन पाउँछन्। बाँकी ५७ हजार ६ सय ३२ जनाले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ।
गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए।
सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ। यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ३० हजार १ सय ७ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ६५ हजार २ सय ८४ रहेको छ। परीक्षा वोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका संख्या १० हजार ९ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ३५ मात्रै छ।
प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनले एनजी पाएका हुन्। यसको अर्थ फेलसरह नै हो। एनजी ल्याउनले पुनः परीक्षा दिनुपर्नेछ। करीब ५२ प्रतिशत विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने भएको हो। ग्रेडवृद्धिको लागि भने असोज ३० र ३१ गते परीक्षा हुनेछ।
किन खस्कियो नतिजा?
शिक्षाविद् बालचन्द्र लुईंटेल कक्षा १२ को नतिजा खस्कनुको पछाडि दुई-तीन वटा मुख्य कारण देख्छन्। कोरोना महामारीको असर, ग्रेडिङप्रतिको गलत बुझाइ र सिर्जनात्मकताको अभावका कारण नतिजा खस्किएको उनको भनाइ छ।
'कोरोना महामारीले सिकाइ प्रभावित भएको छ। दुई वर्षसम्म कोरोना महामारी खेपेका विद्यार्थीको सिकाई प्रभावकारी हुन पाएन। सिकाइको वातावरण धेरै नै बिथोलियो,' उनी भन्छन्, 'हामीले सिकाइमा भन्दा पनि परीक्षामा जोड दियौँ। परीक्षा र अंक भनेर मात्र बस्यौँ। अंक पाएपछि हामी पनि मख्ख पर्ने भइहाल्यौँ। अंक देखाएपछि सबैका कान ढाडा हुने भइहाले। तर वास्तवमा हाम्रो नतिजा धेरै खस्किएर आयो।'
ग्रेडिङ पद्धतिलाई हलुका तरिकाले लिँदा पनि समस्या भएको उनले टिप्पणी गरे। 'ग्रेडिङ आएपछि सबै पास भइहाल्छन् नि भनेर गलत हल्ला फिँजाइयो। नपढे पनि पास भइहालिन्छ भन्ने मनोविज्ञान विद्यार्थीमा भरियो,' उनी थप्छन्, 'हामीकहाँ जे कुराको पनि नकारात्मक, सजिलो बाटो र ‘लुपहोल’ खोज्ने प्रवृत्ति छ। यही लुपहोलको सिकार हामी भयौँ।'
कोरोना महामारीको असर, ग्रेडिङप्रतिको गलत बुझाइ र सिर्जनात्मकताको अभावका कारण नतिजा खस्किएको उनको भनाइ छ।
ग्रेडिङ पद्धतिलाई लुपहोलका रूपमा लिइएको बताएका उनले सिकाइ प्रभावकारी बनाउनुपर्छ भन्ने कुरामा जोड नै नदिइएका कारण हाम्रो वास्तविकता १२ को नतिजामा देखिएको तर्क उनको छ। 'सिकाइ सुधारमा हाम्रो ध्यान गएन। त्यो पाटोमा हामी खस्किएकै हौँ,' उनी भन्छन्।
यसबाहेक यसपालि परीक्षाको प्रश्नको प्रवृत्ति पनि फेरिएकाले केही समस्या भएको उनको बुझाइ छ। 'केही विषयमा प्रश्नपत्र अलि ‘क्रियटिभ’ खालका थिए। पाठ्यक्रममा तोकिएका भन्दा अलि फरक र सृजनात्मक प्रश्न सोधिएका थिए,' उनी थप्छन्, 'खासमा सोध्नुपर्ने यस्तै हो। तर, नतिजामा यो हविगत देखिनुले हाम्रो सिकाइ पद्धतिमा प्रश्न उठाउँछ।'
कण्ठीकरणको परम्परामा अभ्यस्त विद्यार्थीको मानसिकता रहेको तर प्रश्न सिर्जनात्मक भएपछि धेरै विद्यार्थी फेल भएको उनको भनाइ छ। नतिजा सुधार गर्न प्रश्न नभएर सिकाइ पद्धतिलाई फेर्नुपर्ने उनको भनाइ छ।
'अहिले कक्षा १२ को नतिजा हेर्दा हाम्रो शिक्षा क्षेत्रको विकारल स्थिति पनि देखाउँछ। यद्यपि यो मात्र सबै कुरा हैन। हाम्रा बच्चाले के चाहन्छन्? हामी के दिन चाहन्छौँ? र हाम्रो पाठ्यक्रम कस्ता छन् भन्ने कुरामा नतिजाले प्रष्टै देखाएको छ,' उनी थप्छन्, 'यसबारे गहन छलफल गर्न आवश्यक छ। हामी सुध्रन जरुरी छ। अब ढिला गर्नुहुन्न।'