काठमाडौं– संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले १० सहसचिवको सरुवा गरेका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव वसन्त अधिकारीको सरुवा भएको छ।
अधिकारी साढे दुई वर्षयता संघीय मामला मन्त्रालयका प्रवक्ता थिए। काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पद निकै प्रभावशाली मानिन्छ। महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेललाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।
पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेको भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएको छ। सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालको गृह मन्त्रालयमा सरुवा भएको छ।
बेपत्ता आयोगकी सहसचिव रोशनी श्रेष्ठको गृह मन्त्रालयमा सरुवा भएको छ। संघीय मन्त्रालयको अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मन्त्रालयमै राखिएको छ। भौतिक योजना मन्त्रालयका सहसचिव सुरेश राउतको श्रम मन्त्रालय र वित्त आयोगका सहसचिव शम्भु कार्कीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै, संघीय मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागका सहसचिव कृष्णकुमार मिश्रको मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सरुवा गरिएको छ। मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव दीपककुमार दासको वित्त आयोगमा सरुवा भएको छ।