काठमाडौं– ललितपुर महानगरले अनधिकृत संरचना बनाएर व्यापार, व्यवसाय गर्नेहरूलाई समय दिएरै हटाउने भएको छ। अनधिकृत संरचना खाली गर्न सूचना दिने र दसैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाइदिने मेयर चिरीबाबु महर्जनले बताए।
महानगरले पटक–पटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्। अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइए प्रक्रिया पूरा गरेर महानगरले हटाउनेछ। ‘हामी कानुनी रूपमा विधि र प्रक्रिया पुर्याएर कारबाही गर्छौं। अनधिकृत संरचनालाई क्रमशः हटाउँदै जान्छौं’, मेयर महर्जनले भने, ‘हामी कसैलाई नोक्सान पुर्याउने काम गर्दैनौं। नियमअनुसार मौका दिएरै अनधिकृत संरचना हटाउँछौं।’
अनधिकृत रूपमा बनेका संरचना हटाउन यसअघि पनि पटक–पटक सूचना दिइसकिएको उनको भनाइ छ। ‘घरधनी र व्यवसायीलाई भेटेर पनि अनधिकृत संरचना हटाउन भनिएको र दसैंको मुखमा साना व्यवसायीलाई मर्का नपरोस् भनेर यसो गरिएको महानगरले बताएको छ। अनधिकृत संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भन्दा पनि महानगरले घरधनीलाई नै कारबाहीको दायरामा ल्याउनेछ।
महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूसँग घरधनीलाई भाडा नतिर्न आग्रह गरेको छ। व्यापार व्यवसाय गर्दै आएका साना व्यापारीलाई व्यापार गर्ने ठाउँको विकल्प खोज्नसमेत आग्रह गरिसकिएको मेयर महर्जन बताउँछन्। ललितपुरका नगर महानगरभित्रका व्यवसायी आफैं अनधिकृत क्षेत्रबाट हट्ने विश्वास प्रहरी प्रमुख सीताराम हाछेथुको छ।
‘सकेसम्म हामी डोजर लगाउँदैनौं। अनधिकृत संरचना उहाँहरू आफैंले हटाउनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘हतार र आवेगमा हामी अनधिकृत संरचना हटाउँदैनौं। केही समय दिइन्छ। समयभित्र अनधिकृत संरचना नहटाए महानगरले नै हटाउनेछ।’ उनले अन्डरग्राउन्ड पार्किङ खाली गर्न दसैंसम्म समय दिइएको बताए। ललितपुर महानगरकै अधीनमा रहेको लगनखेलस्थित भवनमा नियम विपरीत बनाएको संरचना महानगरले हटाएको छ।
सडकपेटी नै ढाक्ने गरी संरचना बनाएपछि महानगरले त्यो संरचना हटाएको हो। ‘हामीले नियम र प्रक्रिया पुर्याएर व्यवसायीलाई समय दिएरै यस्तो संरचना हटाएका हौं,’ उनले भने। ललितपुर महानगरले सहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग)बाट सवारीसाधन पार्किङ प्रयोजन खुलाई नक्सा स्वीकृति लिएको छ भने बेसमेन्टलगायतमा व्यापारिक गतिविधि सञ्चालन नगर्न सचेत गराएको छ।