सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • निर्वाचन विशेष
  • एमालेसँग तालमेल भए सिन्धुपाल्चोक-२ उछिट्याउन सक्छन् पशुपतिशमशेरले, १ मा गठबन्धनलाई भागबण्डा मिलाउनै मुस्किल

एमालेसँग तालमेल भए सिन्धुपाल्चोक-२ उछिट्याउन सक्छन् पशुपतिशमशेरले, १ मा गठबन्धनलाई भागबण्डा मिलाउनै मुस्किल

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहनबहादुर बस्नेतको दाबी भइरहँदा गठबन्धनभित्रका हेभिवेट नेताद्वयलाई मिलाउन सकस पर्ने देखिन्छ। १ नम्बर क्षेत्रमा टिकटका लागि मारमुंग्री भए पनि २ नम्बर भने खासै चर्चामा छैन।
 |  शुक्रबार, भदौ १७, २०७९

खिला कार्की

खिला कार्की

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा निर्वाचन घोषणा भएसँगै सिन्धुपाल्चोक १ नम्बर क्षेत्र चर्चामा रहेको छ। दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रको भने खासै चर्चा छैन। सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रमा वर्तमान सत्ता गठबन्धनमा रहेका दुई हेभिवेट उम्मेदवार भएकाले चर्चामा रहेको हो।

triton college

सभामुख अग्नि सापकोटा नेकपा माओवादी केन्द्रबाट र पूर्वसञ्चारमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको एउटै क्षेत्र रहेकाले सिन्धुपाल्चोक १ नम्बर क्षेत्र चर्चाको केन्द्रमा रहेको छ। सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रमा गठबन्धन भए विद्रोह गर्ने भन्दै कांग्रेस केन्द्रीय सदस्य बस्नेतले पार्टी केन्द्रीय समितिको बैठकमै बोलेपछि यो क्षेत्रको बढी चर्चा भएको छ।

तर उस्तै हेभिवेट उम्मेदवार भएको क्षेत्र नम्बर २ भने बत्तीमुनिको अँध्यारोजस्तो देखिएको छ। सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा पनि प्रमुख दलका हेभिवेट नेताहरू नै छन्। राप्रपा नेता पशुपतिशमशेर राणा, एमाले स्थायी समिति सदस्य एंव पूर्वमन्त्री शेरबहादुर तामाङ, कांग्रेस सह–महामन्त्रीका प्रत्यासी विकास लामा, माओवादी केन्द्रीय सदस्य युवराज दुलाल र नेकपा एकीकृत समाजावादीका नेता एवं पूर्वसांसद सुवास कर्माचार्यको क्षेत्र पनि यही हो।

२०७४ को निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका नेकपा एमालेका शेरबहादुर तामाङ।
पञ्चायतदेखि बहुदलीय व्यवस्थाका धेरै निर्वाचनमा यो क्षेत्रबाट राप्रपा नेता राणाले जित्दै आएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी उम्मेदवार दाबा तामाङले यो क्षेत्रबाट पहिलो पटक राप्रपा अध्यक्षसमेत रहेका राणालाई हराएका थिए। त्यसपछि संविधानसभाको अर्काे निर्वाचनमा एमाले नेता शेरबहादुर तामाङले पुनः राणालाई हराए भने एमाले र माओवादीबीच गठबन्धनबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपा नेता राणालाई तामाङले नै दोस्रो पटक हराए। अहिले दाबा तामाङ एमालेमा छन् ।

corrent noodles
Metro Mart

स्थानीय चुनावको मत परिणाम
सिन्धुपाल्चोकको यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका गरी ५ स्थानीय तहका ४९ वडा छन्। स्थानीय निर्वाचनमा पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिका एमालेले जितेको छ। चौतारा साँगाचोकगढी नगरपालिका माओवादी र मेलम्ची नगरपालिकामा प्रमुखसहित केही वडा कांग्रेसले जितेको छ।

माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर र ५ वटा वडा तथा इन्द्रावती गाउँपालिकामा दुई वडाध्यक्ष जितेको छ। समाजवादीले चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख र एउटा वडामा चुनाव जितेको छ। समाजवादीले माओवादीसँग गठबन्धन गरेर उपप्रमुख र वडाध्यक्षमा जित हासिल गरेको थियो।

सिन्धुपाल्चोकको यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका गरी ५ स्थानीय तहका ४९ वडा छन्।

कांग्रेसले हेलम्बुमा अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडा जितेको छ। हेलम्बुमा एमालेले दुइ वटा वडा मात्रै जितेको छ। त्यस्तै, मेलम्ची नगरपालिकामा कांग्रेसले मेयर र ७ वटा वडा तथा एमालेले उपमेयर र ६ वटा वडा जितेको थियो। पाँचपोखरी थाङपाल गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष र ६ वटा वडा, राप्रपा र कांग्रेसले एक–एक वटा वडा जितेका छन्।

इन्द्रावती गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एमाले र कांग्रेसले जितेको छ। स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत हेर्दा यो क्षेत्रमा एमाले अगाडि छ। त्यसपछि क्रमशः कांग्रेस, माओवादी, राप्रपा र समाजवादी रहेका छन्। वडाध्यक्षले पाएको मतअनुसार एमाले ३१ हजार ७७७, कांग्रेस २९ हजार ३०२, माओवादी १६ हजार ७९, राप्रपा ५ हजार ९३२ र समाजवादीको १ हजार ६६३ मत रहेको छ।

पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको मत एमालेको भन्दा अगाडि छ। कांग्रेस, माओवादी र समाजवादीको मत जोड्दा ४७ हजार देखिन्छ। एमाले एक्लैको मत जम्मा ३१ हजार छ। राप्रपासँग एमालेको सहकार्य भए मत केही बढ्छ तर गठबन्धनलाई जित्ने अवस्था देखिँदैन।

आकांक्षीहरूको ओइरो
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट पाँच दलीय गठबन्धनमा रहेको ठूलो दल कांग्रेसबाट विकास लामा र वंशलाल तामाङ आकांक्षी देखिएका छन्। लामा कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति हुन्। उनी यस पटक इन्द्रावती गाउँपालिकामा अध्यक्षका प्रत्यासी थिए भने पार्टीको १४औं महाधिवेशनमा आदिवासी जनताजाति क्लस्टरबाट सह–महामन्त्रीका उम्मेदवार थिए। उनी भीष्मराज आङदम्बेसँग पराजित भएका हुन्। लामा पार्टीमा डा. शेखर कोइराला नजिक मानिन्छन्। त्यस्तै, तामाङ इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। पुराना कांग्रेस नेता तामाङ माओवादी द्वन्द्वकालमा अमेरिका भासिएका थिए।

गत स्थानीय तह निर्वाचन बेला अमेरिकी नागरिकता त्यागेर आएपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उनी कांग्रेस सिन्धुपाल्चोकका पूर्वसचिव हुन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ गठबन्धनबाट सिट बाँडफाँटमा माओवादी केन्द्रको भागमा परे केन्द्रीय सदस्य एंव पूर्वमन्त्री मोहन बस्नेत पनि चुनावी मैदानमा आउने सम्भावना छ। बस्नेत पूर्वजिल्ला सभापतिसमेत भएकाले सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा पर्दा क्षेत्र नम्बर २ बाट पनि चुनाव लड्ने सम्भावना रहेको कांग्रेस नेता-कार्यकर्ता बताउँछन्।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट पाँच दलीय गठबन्धनमा रहेको ठूलो दल कांग्रेसबाट विकास लामा र वंशलाल तामाङ आकांक्षी देखिएका छन्।

त्यस्तै, राप्रपा  नेता पशुपतिशमशेर राणा पञ्चायतकालदेखि नै यही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए। उनी २०४६ मा बहुदलिय व्यवस्थाको पुर्नस्थापनापछि २०४८, २०५१ र २०५६ मा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। अहिले पनि उनी प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। राणालाई राप्रपाको जिल्ला समितिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न सिफारिस गरिसकेको छ।

यस्तै, नेकपा एमालेका तर्फबाट स्थायी समिति सदस्य एंव पूर्वमन्त्री शेरबहादुर तामाङ आकांक्षी देखिन्छन्। उनले राप्रपा नेता राणालाई २०७० र २०७४ मा पराजित गरेका थिए। तर एमाले र राप्रपाबीच गठबन्धन भएको अवस्थामा भने राप्रपाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा दाबी गर्ने देखिन्छ। यसो भए तामाङले राणालाई छोड्नुपर्ने अवस्था आउने जानकारहरू बताउँछन्।

माओवादी केन्द्रीय सदस्य युवराज दुलाल पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा दाबी गरिरहेका छन्। उनी अहिले बागमती प्रदेशसभा सदस्य हुन्। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिइसकेका दुलाल माओवादी केन्द्रले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ छाडेको खण्डमा यो क्षेत्रबाट गठबन्धनको उम्मेदवार बन्ने सम्भावना छ।

नेकपा एसका नेता एवं पूर्वसांसद सुवास कर्माचार्य पनि यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका आकांक्षी हुन्। २०३७-३८ देखि नै वाम आन्दोलनमा लागेका उनी पछिल्लो समय केपी ओलीले एमाले केन्द्रीय सदस्य नबनाएपछि विद्रोह गरेर नेकपा एसमा प्रवेश गरेका हुन्। पाँच दलीय गठबन्धन भएको अवस्थामा कर्माचार्यले प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुने सम्भावना न्यून रहेको सिन्धुपाल्चोकका नेता-कार्यकर्ताले बताउने गरेका छन्। कर्माचार्य गठबन्धनबाट उम्मेदवार बन्न नपाए प्रदेशसभामा समेत उम्मेदवार बन्न तयार छन्।

यस्ता छन् प्रदेशका उम्मेदवार
सिन्धुपाल्चोकको यो क्षेत्रअन्तर्गतका दुई वटै प्रदेशबाट उम्मेदवार धेरै देखिएका छन्। गठबन्धनमा प्रतिनिधिसभा सदस्यको आकांक्षा राख्नेहरूले नै प्रदेशसभामा उम्मेदवार बन्ने सम्भावना पनि छ। अहिले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेश ‘क’मा कांग्रेसबाट भरत खड्का, बिलबहादुर तामाङ आकांक्षी देखिएका छन्। त्यस्तै, ‘ख’मा निमा लामा, कृष्णकुमार तामाङ ‘समिर’ले आकांक्षा देखाएका छन्।

एमालेबाट प्रदेश ‘क’मा दाबा तामाङ र अमानसिंह तामाङ आकांक्षी छन् भने प्रदेश ‘ख’मा मित्रलाल चौलागाईं र हस्त पण्डितले आकांक्षा राखेको बताइएको छ। माओवादी केन्द्रबाट प्रदेश ‘क’मा देवेन्द्र धोरासनी र प्रदेश ‘ख’मा चन्द्रबहादुर थापा आकांक्षी रहेको उक्त पार्टीका नेताहरूले बताएका छन्। पाँचदलीय गठबन्धनको भागबन्डामा सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ कांग्रेसको भागमा पर्दा वर्तमान प्रदेश सांसद युवराज दुलाल फेरि दोहोरिने सम्भावना रहेको छ।

प्रकाशित: Sep 02, 2022| 10:19 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...