शुक्रबार, वैशाख १४, २०८१

सिंहदरबारलाई चिठ्ठी

तिम्रो निर्माणक्रममा बडाहाकिमहरु चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चँदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस् भनेर रहेछ। यसरी निर्माणक्रमबाटै यस्तो प्रकृया सुरु भएर हो कि किन हो यहाँबाट प्रवाहित सबै सेवामा हरेक सम्बन्धित सेवाप्रदायक र सेवाग्राही आज पनि चोर्न मात्र उद्दत छन्।
 |  शनिबार, भदौ २५, २०७९

कृष्ण रिमाल

कृष्ण रिमाल

शनिबार, भदौ २५, २०७९

triton college

प्यारो सिंहदरबार! तिमीलाई संविधानप्रति जस्तै सम्मान र माया!

ज्युदाँ-जाग्दालाई कहिले मौखिक त कहिले लिखित गुनासा राख्दाराख्दा वाक्क लागेर अझ भनौं कुनै अर्थपूर्ण नभएर आज तिनीहरु रहने-बस्ने ठाउँलाई सम्बोधन गरेर पत्र लेख्ने जमर्को गर्दैछु। 

निर्जीव भौतिक चीजहरुमा दिर्घ स्मृति त हुन्न होला तर पनि अभिलेखीकरण पक्कै हुन्छ। तिम्रो निर्माणक्रममा बडाहाकिमहरु चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चँदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस् भनेर रहेछ। यसरी निर्माणक्रमबाटै यस्तो प्रकृया सुरु भएर हो कि किन हो यहाँबाट प्रवाहित सबै सेवामा हरेक सम्बन्धित सेवाप्रदायक र सेवाग्राही आज पनि चोर्न मात्र उद्दत छन्। तिनीहरुका लागि सुखद् कुरा के छ भने अचेल थुक्ने र कुल्चँदै हिँड्ने बडाहाकिमहरु त्यसो गर्दैनन्, भाग माग्छन् र पानीमाथिको ओभानो बन्छन्।

भित्ताको कान हुने कुरा साँचो हो भने यिनीहरुको घिनलाग्दो साउती सुन्दासुन्दा तिमीलाई भर्खरै जग सारेर अन्तै भागौं जस्तो हुन्छ होला तर तिमी पनि यो देशमा आफ्ना मान्छेहरु उप्पलो तहमा नहुँदा तल्लो तहका मान्छेहरुले भोग्नुपर्ने निरीहता भोग्न विवश छौ। पूर्ण वास्तु र उत्कृष्ट निर्माण शैली प्रयोग गरेर निर्मित तिमीलाई अचेल फोटोमै देख्दा पनि कस्तोकस्तो लाग्ने बनाउनेहरुलाई कहिलेकाहीँ आफैँ भत्किएर पुरिदिउँ जस्तो लाग्छ होला है! 

corrent noodles
Metro Mart

देशभित्रका सबैखाले परिवर्तनको साक्षी बनेर उभिएको सिंहदरबारलाई कतिले लुकाएका, ढाँटेका र अदलेबदलेका कुराहरु प्रमाणसहित स्पष्ट पार्ने गरी चिच्याउन मन हुन्छ होला तर के गर्नु भन्नेहरुले भित्ताको कान मात्रै हुन्छ भनिदिए। त्यसैले सबैखाले परिर्वतनका सुल्टा-उल्टा सबै आयाम र प्रमाणहरुलाई आफैंभित्र सुरक्षित राखेर सधैं मौन उभिएको तिमी र आफ्नो कुनै सुरक्षा (आर्थिक र सामाजिक ) को प्रत्याभूति नभएका तर तिम्रो सुरक्षामा उभिएका सुरक्षाकर्मी मलाई अचेल उस्तै–उस्तै लाग्छन्।

तिम्रो निर्माणक्रममा बडाहाकिमहरु चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चँदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस् भनेर रहेछ। यसरी निर्माणक्रमबाटै यस्तो प्रकृया सुरु भएर हो कि किन हो यहाँबाट प्रवाहित सबै सेवामा हरेक सम्बन्धित सेवाप्रदायक र सेवाग्राही आज पनि चोर्न मात्र उद्दत छन्।

तिमी आफैं गाउँमा आउन सक्दैनौ तर तिमीभित्र बसेर निर्माण गरेका योजना र आदेशहरु गाउँसम्म आइपुग्छन्। यसरी खर्च गर्नु उसरी विकास गर्नु भनेर गएको निर्देशनको कसरी खर्च भयो कस्तो विकास भयो भनेर फिर्ती जवाफ वा पृष्ठपोषण कागजमा त पक्कै राम्रो जान्छ होला तर गाउँ कस्तो छ सुन आज म भन्छु। 

हुन त यी जमानादेखि हजारौं जनाले हजारौं पटक भनेका कुरा हुन् तर पनि म आफूले भनेर शान्त हुन चाहन्छु। पञ्चायतकाल, प्रजातान्त्रिक काल वा संघीय गणतान्त्रिक काल जे भए पनि हाम्रो गाउँमा घाम वितलवतिरबाट नै उदाउँछ। जाती भन्ने हो कि नजाती भनौं लगभग हरेक घरलाई छुने गरेर मोटरबाटो पुगेको छ। तिनै सडकको बाटो गरेर चामल र अन्य आवश्यक कुरा दौलोमै पुगेपछि छिमेकीहरु आफ्नो बडप्पन प्रदर्शन गर्नमात्रै प्रयोग हुन थालेका छन्। अर्को डरलाग्दो कुरा के छ भने त्यहि मोटरबाटो हुँदै विस्तारै विस्तारै गाउँजति शहर छिरे र बस्तीहरु सुनसान हुन थालेका छन्। यसमा गाउँको दोष छैन विकास भनेको मोटर बाटो मात्रै होइन भनेर बुझ्‍न नसक्ने विकासवादी सोच यसको कारण हो। म बस्ने ठाउँ (कुश्मा नपा–९ राम्दीफाँट) जिल्ला मुकामबाट आधी घण्टाको पैदल दूरी टाढा छ। जिल्ला मुकामलाई संघीयताले उस्तो असर गरेको छैन।

आम मान्छेका खास काम मालपोत, जनस्वास्थ्य, अदालत र जिल्ला प्रशासनका काम आज पनि सबै जिल्लाका मुकाममै हुन्छन्। तर जिल्ला मुकामको यति नजिक रहेको मेरो गाउँमा एउटा कुनै सानो मात्रै भरपर्दो आधार भेट्न सके आज नै सामूहिक बसाइँ सर्ने मनसायमा हरेक बासिन्दा छन्। गाउँमा पहिला भन्दा विकास भएको छ, पक्की रोड बनेका छन्, पक्की स्कुल छन् अन्य आधारभूत संरचना बनेको बन्यै छन् तर सरकारी स्कुल जस्तो प्रत्येक घरहरु खाली बन्दै आएका छन् र जमिन बाँझो बन्दै गएको छ। सुविधा प्रयोग गर्न पाउने मानिसको अधिकार त हो तर समान अधिकारमा पनि छनोटले अर्थ राख्दो रैछ। मपछिका कुनै पनि सन्तति यहाँ रहन चाहँदैनन्। म आफैं भन्छु– यहाँ नबस, किनभने हामीकहाँ राज्यको स्रोतहरुको सीमित प्रयोग भयो र त्यसको प्रत्यक्ष-अप्रत्यक्ष लाभ एकदम सीमित वर्गको हातमा रहिरह्यो, नराम्रोसँग निचोरिएर। 

सिंहदरबार

त्यसैले यहाँ नबस भन्नु राज्य द्रोह हैन विवशता हो डरलाग्दो यथार्थ हो। यता फिल्ममा देखाएजस्तो श्रीमतीले विदेश हिँडेका पतिलाई ढोकामा उभिएर रुँदै नजानुस् भन्न पाउँदैनन्। बरु आफ्नो तिलहरी र स्वयंवरको औंठी बेचेर पासपोर्ट बनाइदिन्छन् र मुटुमाथि ढुंगा राखेर भन्छन्– बुबा आमा र छोराछोरी म हेर्छु तपाईं विदेश जानुस्। यसभित्र लुकेका आँशु, राज्यप्रतिको घृणा र आक्रोश बु‍झ्‍न तिमी हाम्रो गाउँसम्म आउन सक्दैनौ, तिमीसम्म खबर पुर्याउने कागजहरुले सधैं उन्नतिको विवरणमात्र भरेर पठाउँछन्। केही दीपकराजहरुलाई बाहेक यो कुरा कसैको पक्षमा छैन।

यता महिलाहरुको जिन्दगी जिन्दगी नै होइन। त्यहाँ बनेका महिला विकासका परियोजना र उन्नति विवरण देखेर तिमी दंग नपर्नु। न जन्म घर न कर्मघर आफूसँग भएको पाठेघर लिएर जिएका यिनीहरुले खाडी र युरोपका साहुहरुका स्याहार सुसारका लागि पृथ्वीको यति लामो वा टाढाको भौतिक दूरीमा बच्चा जन्माइदिएका छन् र हुर्काइदिएका छन्। आफ्ना सन्ततिको भविष्य राम्रो बनोस् भनेर आफ्नो भविष्यलाई अनिश्चिततामा राखेर आफ्ना सन्तति बाहिर पठाउन विवश बूढाबूढीका आँशु देख्न नपर्ने तिमी एक मानेमा भाग्यमानी हौ। 

मैले यसो भन्दा तिमीलाई लाग्दो हो- हैन त्यहाँ बस्ने यतिका धेरै नागरिकको नागरिकता नम्बर त मसँग नै सुरक्षित छन् त। कुरा ठिकै पनि हो यहाँ नागरिकता नम्बर प्रशस्तै छन् तर नागरिक छैनन्। यो नागरिक नागरिकता राजनीतिक शब्द हो म तिमीलाई सामाजीक तवरले भन्दैछु– मेरो गाउँमा मान्छे नै छैनन्। यस्तो बेला तिमी मान्छे कायम हुनुको नम्बर लिएर मान्छे हुनु-नहुनुको खुसी र पीडा बुझ्न गाउँ नै आउनुपर्छ जुन तिमी सक्दैनौ। यो देश पूरै गाउँ नै गाउँको देश हो र यो कथा अहिले हरेक गाउँको कथा हो। अलिअलि देखिएको गाउँको विकास मलाई हामीले प्रयोग गर्ने आइफोन जस्तै लाग्छ जुन हामीले हाम्रो क्षमताले प्रयोग गरेका होइनौं हाम्रा शुभचिन्तकहरुले उपहारमा बक्सेको सुविधा हो।

मैले भनेको यो कुरा बुझेउ होला। देशभित्रको सबै आम्दानीले देशभित्रको प्रशासनिक खर्च धान्न नसक्ने नसक्ने गरी तिमीभित्र बस्नेहरुले संरचना  तय गरे। शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मौलिक अधिकार कसरी दिवास्वप्न बने। अचेल मलाई डर के लागेको छ भन्छौ भने अबको दश वर्षपछि द्वन्द्वकालको नेपालमा जसरी ठूला शहर र जिल्ला सदरमुकाम आसपासमा मात्र सरकार (देश) हुन्थ्यो त्यसै गरी रहलपहल मान्छेहरु पनि ठूला सहर र जिल्ला सदरमुकाम आसपासमा मात्र भेटिए भने गाउँमा मान्छे राख्न मान्छे किन्नुपर्ने दिन आउने छ। 

देश यस्तो हुनुमा दूरदराजमा खेती गरेर खाने किसान, गाउँगाउँमा गएर शिक्षा दिने शिक्षक, दुःखपूर्वक सेवा प्रवाह गर्ने कर्मचारी र मधुरै सही आशा देखाउने स्थानीय नेतृत्व कोही पनि दोषी छैनन्। सबै दोष तिमीभित्र बस्ने छानिएका भनिने ( कर्मचारी ) र चुनिएका भनिने (नेतृत्वकर्ता ) हुन्। यी छानिएका र चुनिएकाहरुलाई श्री पशुपतिनाथले बुद्धि हालीदिउन्। तिमीप्रति कोही बेखुस छैनन् सिंहदरबार किनभने तिमीले नै दिएको नागरिकता र राहदानीमा आफ्नो पहिचान र परिचय बोकेर जहाज चढ्नेहरुले बुबाआमा र परिवारको खुसी र सन्ततिको उज्यालो भविष्यको आशा देखेका छन् नत्र त यो देशभित्र गहिरो निराशा बाहेक अरु छँदै छैन। तर तिमीले थाहा पाउनुपर्ने कुरा के छ भने यी छानिएका र चुनिएकाप्रति यो देशका नागरिकताधारीभित्र गहिरो गरी असन्तुष्टि चुलिँदै गएको छ।

सेनाको बन्दुक र प्रहरीको साइरन मात्रैले सायद अब तिनीहरुलाई सुरक्षा दिन सक्दैन होला। यो सञ्चित असन्तुष्टि जुन दिन विस्फोट हुन्छ तिमीले फेरि अर्को वितण्डा र विद्रोह देख्नेछौ। जब आफ्नाले आफ्ना विरुद्ध विद्रोह गर्नेछन् त्यो निश्चय नै निरश र बढी हानिकारक हुनेछ। अरु त सबै यस्तै छ। अल्लि ढिलो भए पनि म पनि राहदानीको लागि फारम भर्न जिल्ला प्रशासन कार्यालय पर्वत जाँदैछु। मेनपावर कम्पनीले चाँडै नै काम सकिदिएछ भने चाँडै नै काठमाडौं आउँछु। बाँँकी कुरा त्यहिँ आएको बेला सुनाउँला। हुन त त्यहाँ उभिएका सुरक्षा गार्डले दिन्नन् होला। म भद्रकालीको जंगबहादुरको सालिक अगाडि उभिएर फेरि एक पटक तिमीलाई हेर्नेछु। कालो रंगको जाकेट र निलो छत्रेटोपी लाएर उभिनेमध्ये एक म पनि हुँ भनेर बुझिराख्नू।

उही तिम्रो नागरिकता नम्बरमा कायम भइसकेको मान्छे 

कृष्ण रिमाल 

प्रकाशित: Sep 10, 2022| 14:35 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...