शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल सहकारीका सञ्चालक ईच्छाराजको परिवारविरुद्ध मुद्दा दर्ता, साढे ४ अर्ब ठगीको आरोप

सिभिल सहकारीका सञ्चालक ईच्छाराजको परिवारविरुद्ध मुद्दा दर्ता, साढे ४ अर्ब ठगीको आरोप

सिभिल सहकारी संस्थाका संचालक इच्छाराज तामाङसँगै उनको परिवारले साढे ४ अर्ब रुपैयाँ ठगी गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- सिभिल सहकारी संस्थाका संचालक इच्छाराज तामाङसँगै उनको परिवारले साढे ४ अर्ब रुपैयाँ ठगी गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ। तामाङकी श्रीमतीसहित छोरीहरू पनि ठगीमा संलग्न भएको आरोपसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति तथा ठगी भएको उल्लेख गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार तामाङ परिवारका सदस्यविरुद्धको कुल बिगो रकम ४ अर्ब ४२ करोड २२ लाख रुपैयाँ कायम भएको छ। विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड, श्रीमती सिर्जना शाक्यविरुद्ध १ अर्ब ३ करोड र छोरीहरु प्रतीक्षा र प्रतिष्ठाविरुद्ध क्रमशः ६ करोड ६६ लाख र १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति गैरकानूनी ढंगले आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

विभागले सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध पनि २६ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। केन्द्रीय अनुसन्धान विभागले गरेको अनुसन्धानले सहकारीका निक्षेपकर्ताको ५ अर्ब ५७ करोड रुपैयाँ ठगी गरेको देखिएपछि तामाङलाई गत वर्षको असोज अन्तिम साता पक्राउ गरेको थियो। 

सहकारी विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गरी १ हजार ५०० भन्दा बढी बचतकर्ताले आफ्नो निक्षेप फिर्ता गरिदिन माग गर्दै निवेदन दिएका छन्। करिब ३ वर्षसम्म बचतकर्ताको बचत फिर्ता दिन नसकेपछि तामाङलाई प्रहरीले पक्राउ गरेको हो। 

यही मुद्दामा तामाङ पुर्पक्षका लागि थुनामा पठाइएका छन्। तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पनि प्रहरीले गत साउन ३ गते सोही ठगी प्रकरणमा सामेल भएको भन्दै पक्राउ गरेको थियो। उनीहरूका छोरीहरू पनि यो प्रकरणमा पक्राउ पर्न सक्ने देखिएको छ। 

त्यसैगरी तामाङलाई हिरासतमुक्त गर्नका लागि भएको आर्थिक लेनदेनको डिलको विषयले न्यायप्रणाली माथि नै प्रश्न उठाएको थियो। लेनदेनका सम्बन्धमा न्यायाधीशसँग भएको कुराकानीको अडियो पनि बाहिरिएको थियो। 

प्रकाशित: Sep 01, 2022| 20:12 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्