काठमाडौं- भारतीय सेनाको नेशनल डिफेन्स कोर्स-६२ को प्रशिक्षार्थी बिहीबार स्वदेश फिर्ता भएका छन्। आइतबार नेपाल आइपुगेको टोली बिहीबार स्वदेश फिर्ता भएका हुन्।
एयर भाइस मार्शल तेज विर सिंहको नेतृत्वमा नेपाल भ्रमणका लागि आएका ३१ सदस्यीय भ्रमण दलका प्रमुखले भ्रमणका दौरान प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटघाट गरेको थियो।
भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरुले जंगी अड्डाको भ्रमण गरी नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका थिए। सोही क्रममा उक्त भ्रमणदलका प्रमुखले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटघाट समेत गरेका थिए।
उक्त भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाण्डौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाडौं र पोखरामा अवस्थित विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्नुका साथै पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण समेत गरेको थियो।