काठमाडौं- ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्न वसन्तपुर दरबारक्षेत्रमा करिब ३ सय मानिसहरू भेला भई नृत्य र साङ्गीतिक प्रस्तुति गरिएको छ। उनीहरूले इशा फाउन्डेसनका संस्थापक सद्गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको सो अभियानलाई समर्थन गर्न नृत्य र साङ्गीतिक प्रस्तुति गरेका हुन्।
आफूलाई अर्थ–बड्डिज वा भू–मित्र भन्न रुचाउने यी समर्थकहरू शनिबार साँझ वसन्तपुरमा, नेपालको झण्डा बोकेर 'माटो जोगाऔँ, अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौँ' जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी भएका थिए।
साथै, उनीहरू सबैले ‘सोइल सङ’ अर्थात् माटोका लागि रचिएको गीतमा सँगै नृत्य गरेका थिए। सो गीत र नृत्य, माटो जोगाऔँ अभियानका लागि रचिएको हो। भू–मित्रका स्वयंसेवकहरू अर्जुन कार्की र पार्थ लामिछानेको साङ्गीतिक प्रस्तुतिबाट कार्यक्रम समापन भएको थियो।
माटो जोगाऔँ अभियान के हो ?
यो सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो, जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिलेकै अवस्थामा फर्काउनका लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ। यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनका लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउन अनि त्यसतर्फ कामहरू गर्न सघाउनु हो।
सद्गुरुले यस अभियानअन्तर्गत माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न, सद्गुरुले बेलायत, युरोप, एसिया र मध्य-पूर्व गरी २७ राष्ट्रहरूमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्नेछन्। उक्त १०० दिवसीय यात्रा २१ मार्चमा लण्डनबाट सुरु भई दक्षिणी भारतमा समापन हुनेछ।
यस अभियानको मुख्य उद्देश्य भनेको ३.५ अर्ब मानिसहरूको समर्थन जुटाउने र सरकारहरूलाई पर्यावरणका लागि दीर्घकालीन नीतिहरूमा लगानी गर्न विश्वास दिलाउनु हो।
अभियानको तयारीका लागि लण्डन पुगिसकेका सद्गुरुका लागि लण्डनमा रहेको नेपाली दूतावासले १६ मार्चमा स्वागत कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा लण्डनका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले सद्गुरुलाई उक्त अभियानबारे केही बोलिदिन आग्रह गरेका थिए।