नेपालगन्ज- बाँके प्रहरीले नरैनापुरबाट पेस्तोल र लोडेड बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीर बहादुर सुनारको कमाण्डमा गएको टोलीले बुधबार बिहान साढे ८ बजे नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियाँ गाउँबाट छब्बीलाल केवटलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट एक-एक थान कटुवा पेस्तोल र लोडेड भरुवा बन्दुक, १०० ग्राम बारुद, सिसा र फलामको गोली बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार स्थानीय छब्बीलाल केवटको घरमा अवैध हातहतियार लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी निरीक्षक सुनारको टोलीले घरमा खानतलासी गर्दा उक्त हतियार बरामद गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका केवट शिकारी रहेको हुन सक्ने जनाएको छ।