शनिबार, वैशाख ६, २०८२

१४ वर्षपछि वीरमा यसरी सुरु भयो ओपन हार्ट सर्जरी

हामीले १४ वर्ष अगाडि पनि ओपन हर्ट सर्जरी गर्ने भनेर बिरामी भर्ना गरेका थियौं। वीर अस्पताल जनरल अस्पताल हो, यो कुनै स्पेसलाइज्ड अस्पताल होइन।यहाँबाट सबै किसिमको सेवाहरु दिनुपर्छ। हर्ट सर्जरी 'स्पेसल सर्जरी' हो, यसलाई स्पेसल उपकरणहरु चाहिन्छ। एउटा उपकरण बिग्रिएपनि त्यसलाई बनाउनको लागि सामानहरु किन्‍नुपर्छ। ओपन हर्ट सर्जरीको लागि आवश्यक पर्ने उपकरण किन्‍न र बनाउनका लागि वर्षौ लाग्यो। त्यसैले अहिलेसम्म रोकिएको हो।
 |  बुधबार, भदौ १५, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, भदौ १५, २०७९

vianetvianet

काठमाडौं- दुई साताअघि स्वास्थ्यमा समस्या भएपछि दोलखाकी २१ वर्षीया युवती वीर अस्पतालमा उपचारको लागि पुगिन्। ती युवतीमा छातीको इन्फेक्सन, सास फेर्न गार्‍हो हुने, पेट दुख्‍नेलगायतका समस्या देखिएको थियो। चिकित्सकले सबै परीक्षण गरेपछि उनलाई इको गर्न लगाइयो। इको गर्दा उनको मुटुमा प्वाल परेको देखियो। मुटुमा प्वाल परेकाले उनलाई सास फेर्न गार्‍हो हुने, छाती दुख्‍नेलगायत 'साइड-इफेक्ट' देखिएको थियो। उनको 'ओपन हार्ट' सर्जरी गर्नुपर्ने भयो। 

triton college

चिकित्सक र अस्पताल व्यवस्थापनको बैठक बस्यो। उनको अप्रेसन वीर अस्पतालमा नै गर्नुपर्छ भन्‍ने निष्कर्ष बैठकको थियो। किनकी वीर अस्पतालमा सन् २००८ देखि 'ओपन हार्ट' सर्जरी भएको थिएन। अस्पतालले १४ वर्ष अगाडिदेखि बिग्रिएको मेसिन पनि बनाएको थियो भने नयाँ मेसिन पनि ल्याइसकेको थियो। त्यसैले अस्पताललाई सो सर्जरीका लागि कुनै कठिनाइ भएन। अस्पतालमा कार्डियाक टिम पनि राम्रो थियो। त्यसैले ती युवतीलाई भदौ ७ गते सर्जरीका लागि अस्पतालमा भर्ना गराइयो। भर्ना भएको पर्सीपल्ट उनको सफल ओपन हार्ट सर्जरी गरियो। हाल उनको डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले बताए।  

उनको सर्जरीसँगै वीर अस्प्तालमा १४ वर्षपछि ओपन हर्ट सर्जरी सेवा पुन: सुरु भएको हो। नेपालमा मुटुको सर्जरी गर्ने पहिलो अस्पताल नै वीर अस्पताल हो। सन् १९६५ मा डा. दिनेश नाथ डंगोलले पहिलोपटक हर्ट सर्जरी सुरु गरेका थिए। तर ओपन हर्ट सर्जरी भने डा. दामोदर पोखरेलको नेतृत्वमा १९९३ मा भएको थियो।

डा. पोखरेल सो समयमा अस्तपालका निर्देशक समेत थिए। डा. पोखरेलले अष्ट्रेलियामा गएर हर्ट सर्जरीको तालिम लिएका थिए। १९९५ मा अष्ट्रेलियाको टिम नै नेपालमा आएर ओपन हर्ट सर्जरी सुरु भएको थियो। त्यसपछि १९९७ मा भने नेपाली टिमले नै ओपन हर्ट सर्जरी गरेको थियो। त्यसयता हालसम्म वीर अस्पतालमा जम्मा ९९ वटा मात्रै ओपनहर्ट सर्जरी भएका छन्। सन् २००८ सम्म ९८ वटा ओपन हर्ट सर्जरी भए पनि विगत १४ वर्षदेखि सेवा बन्द भएको थियो। 

१४ वर्षपछि अस्पतालका कार्डियोथेरासिक डिपार्टमेन्टका प्रमुख डा. किरण श्रेष्ठको नेतृत्वमा सफल ओपन हार्ट सर्जरी भएको हो।  शल्यक्रियामा सहयोगका लागि गंलालाल अस्पतालबाट डा. रवीन्द्र भक्त तिमिलाको नेतृत्वमा १० जनाको टोली आएको थियो।

National life insurance

१४ वर्ष किन रोकियो ओपन हार्ट सर्जरी? 

नेपालमा मुटुको शल्यक्रिया सुरु गर्ने वीर अस्स्पताल हो। कार्डियोथेरासिक डिपार्टमेन्टका प्रमुख डा. किरण श्रेष्ठका अनुसार वीरले सुरुमा सन १९६५ मा पहिलो क्लोज हर्ट सर्जरी  र सन १९९३ मा पहिलो पटक ओपन हर्ट सर्जरी सुरु गरेको थियो। त्यसपछि सन् २००८ मा अवरुद्ध भएको सेवा हाल पुन: सञ्‍चालन भएको छ।

श्रेष्ठ भन्छन्, ‘हामीले १४ वर्ष अगाडि पनि ओपन हर्ट सर्जरी गर्ने भनेर बिरामी भर्ना गरेका थियौं। वीर अस्पताल जनरल अस्पताल हो, यो कुनै स्पेसलाइज्ड अस्पताल होइन।यहाँबाट सबै किसिमको सेवाहरु दिनुपर्छ। हर्ट सर्जरी 'स्पेसल सर्जरी' हो, यसलाई स्पेसल उपकरणहरु चाहिन्छ। एउटा उपकरण बिग्रिएपनि त्यसलाई बनाउनको लागि सामानहरु किन्‍नुपर्छ। ओपन हर्ट सर्जरीको लागि आवश्यक पर्ने उपकरण किन्‍न र बनाउनका लागि वर्षौ लाग्यो। त्यसैले अहिलेसम्म रोकिएको हो।’ 

अस्पतालका निर्देशक डा. बस्‍नेत भन्छन्, ‘प्रशासन र व्यवस्थापन पक्षले पनि जनरल अस्तपाल हो, त्यसैले कुनै एउटा स्पेसल सेवाको मेसिन बिग्रँदा अस्पताललाई फरक परेन। अस्पतालका अन्य सेवाहरु त चलि नै रहन्छ भन्‍ने उद्देश्य भएको होला, मानौं गंगालालमा कुनै मेसिन बिग्रियो भने अस्पताल नै बन्द हुन्छ। तर वीर अस्पताल बन्द हुँदैन। त्यसैले ढिलाइ भएको हो। अस्पतालमा रहेको मेसिन बिग्रिएको, जनशक्ति अभावलगायत कारणले लामो समय शल्यक्रिया हुन सकेको थिएन।'

अस्पतलाका निर्देशक डा. बस्नेतका अनुसार वीर अस्पताल मुटुको विशिष्टिकृत अस्पताल नभएकाले पनि सेवा पुनः सञ्चालन गर्न ध्यान नपुगेको बताउँछन्। डा. बस्नेत भन्छन्, ‘हाल हामीकहाँ सर्जिकल स्पेसियालिटीको सर्भिस बढेको छ, विल्डिङ छ, ओटी सुविधा बढेको छ, पहिला त ओटीको लागि पनि ठाउँको अभाव थियो, कार्डियोलोजीको टिम नै थिएन, अहिले स्ट्रङ टिम छ। कार्डियक सर्जनको टिम, ऐनेस्थेसियाको टिम स्ट्रङ भएको छ। त्यसैले अब यो सेवा रोकिँदैन। व्यवसथपनको हिसाबले हामीले वीर अस्तपालमा पहिला भएका तर हाल रोकिएका सेवाहरु पुन: सुरु गर्न कटिबद्ध छौं। सबैको टिमवर्कको रिजल्ट हो, अब यो निरन्तर हुन्छ। 

सेवा विशिष्टिकृत गर्दै मुटुका लागि छुट्टै गंगालाल अस्पताल सञ्चालनमा ल्याएपछि जनशक्ति उतै केन्द्रित भएको र वीरमा कार्डियोलोजी सेवा सुस्त भएको चिकित्सकहरु बताउँछन्। पुरानो मेसिन पनि बनाएको र नयाँ मेसिन पनि ल्याएकाले मुटुको शल्यक्रियाका लागि प्राविधिक समस्या नहुने डा. किरण बताउँछन्।

मुटुको शल्यक्रियाका लागि विज्ञ डाक्टर मात्रै नभएर शल्यक्रियापछि विज्ञ नर्सको समेत आवश्यकता हुन्छ। डा. बस्नेतका अनुसार अस्पतालको टिममा यस वर्ष मात्रै चार जना मुटुरोग विशेषज्ञ थपिएका छन्। वीर अस्पताल शैक्षिक संस्था समेत भएकाले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई एक्सपोज गर्नका लागि पनि यो शल्यक्रिया सुरु गरिएको डा.किरण बताउँछन्। 

वीर अस्पतालमा दैनिक कार्डियोलोजी ओपीडीमा १०० देखि १५० जनासम्म बिरामी आउने गरेको अस्पतालका निर्देशक डा.बस्नेत बताउँछन्। दैनिक ६०-७० जनासम्मको इको हुने गरेको छ। उनका अनुसार अहिलेको क्षमता अनुसार अब सातामा एउटा शल्यक्रिया हुने र केही समयपछि सातामा २ वटासम्म शल्यक्रिया हुनेछ। 

ओपन हर्ट सर्जरीमा संलग्‍न टिम

सिटिभिएस टिमः डा. किरण श्रेष्ठ, डा दिक्षा जोशी, डा. दिनेश चापागाईं, डा. रवीन्द्रभक्त तिमिला (गंगालाल) एनेस्थेसिया टिमः डा रवीराम श्रेष्ठ, डा. प्रदिपराज वैद्य, डा. सुरेन्द्र भुसाल, डा. एलन अमात्य, डा. रोमन कार्की, डा. आशिष गोविन्द अमात्य (गंगालाल) र डा. स्मृती बज्राचार्य (गंगालाल) 

नर्सिङ टिमः संगीता श्रेष्ठ, मुना श्रेष्ठ, प्रतिमा आचार्य (गंगालाल), शकुन्तला महत, (गंगालाल) उजेली पछाई, नविता देवकोटा 

कार्डियोलोजी टिमः डा. समीर पौडेल, डा. प्रभा चापागाई, डा. विनायक गौतम, डा. कुञ्जन शेर्पा (गंगालाल) 

प्रिफ्युजनिष्ट ः प्रेमकान्त चौधरी, उमेश खान (गंगालाल)। 


प्रकाशित: Aug 31, 2022| 21:38 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्