काठमाडौँ– विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूसँग राजनीतिक दलले आसन्न निर्वाचनमा उम्मेदवारी दिने विषयमा छलफल गरेको स्विकार गरेका छन्। विभिन्न दलका नेताहरुसँग कुराकानी भएपनि आफूले अहिलेसम्म कुनै निर्णय गरिनसकेको भनाइ उनको छ।
‘एउटा दलबाट मात्र होइन विभिन्न दलका नेताहरुले कुराकानी गर्नुभएको छ’, उनले भने, ‘तर मेरो तर्फबाट निर्णय भइसकेको छैन।’
नेपाललाई लोडसेडिङ मुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका घिसिङलाई माओवादी केन्द्रले काठमाडौ–३ बाट निर्वाचनमा उठाउने तयारी गरिरहेको खबर हिजो मात्र सार्वजनिक भएको थियो। माओवादी स्रोतका अनुसार सो दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी निर्देशक घिसिङसँग दुई पटक छलफल गरिसकेका छन्। र, यस विषयमा घिसिङ पनि सकारात्मक छन्।
कार्यकारी निर्देशक घिसिङसँगको छलफलकै आधारमा नेता प्रचण्डले आफूहरुले काठमाडौंमा बालेनभन्दा पनि चर्को सेन्टिमेन्ट पैदा गर्ने तयारी गरिरहेको बताएका थिए।