काठमाडौं- भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक भएको छ। ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ।
रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ। गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले आवाज दिएका छन्।
रामबाबु सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका थिए। २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए। रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बाल गीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी)को रुपमा सार्वजनिक गरेको हो। रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए।
‘मैले फिल्म पनि हेरेँ। गाउँले परिवेश र शिक्षाको महत्त्वको विषयमा असाध्यै राम्रो फिल्म बनेको रहेछ। मैले त ज्यादा भन्दा ज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो। अब फिल्ममा आएपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ,’ उनले भने, ‘यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि। हाम्रो उद्देश्य पनि मिल्यो।’
लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भए पनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा पनि यही कारणले प्रयोग गर्ने निर्णय गरेको बताए।
‘यो गीत मैले सानामा सुनेको पनि थिएँ होला तर कलेज पढ्दा ख्याल गरेको थिएँ। यतिबेला सुन्दा पनि म नोस्टाल्जिक बनेको थिएँ। अहिले यो फिल्ममा गीत राख्ने कारण हाम्रो यही नोस्टाल्जिया फर्काउने होस्। किनकि यो फिल्म नै एक प्रकारको हाम्रो नोस्टाल्जिया हो,’ सुजितले भने।
बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ। यो बाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेस गर्छ। सुजित बिडारीको निर्देशन रहेको फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल,प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन्।
फिल्ममा सिरु बिष्टबाहेक पहिलो पल्ट अभिनय गर्ने कलाकारको बाहुल्य रहेको छ। फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिले अभिनय गरेका छन्।